गृहमन्त्री लेखकले राजिनामा दिनुपर्ने माओवादीको निष्कर्ष

गृहमन्त्री लेखकले राजिनामा दिनुपर्ने माओवादीको निष्कर्ष


भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै सर्वत्र आलोचित बनिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निचोड माओवादी पार्टीले निकालेको छ । आज (१२ जेठ) बिहान बसेको सो पार्टीको पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने प्रवक्ता सापकोटाको भनाइ छ ।

स्वतन्त्र र निष्पक्ष छानबिन होस्, पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् भन्ने हेतुले पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर रहेको जनाइएको छ ।

यसैबीच, नेपाली कांग्रेसले भने गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको र राजिनामा दिनुनपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भनेका छन्- ‘उहाँ निर्दोष हुनुहुन्छ, भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन भन्ने कुरामा हामी विश्वस्त छौँ ।’