सम्पत्ति शुद्धिकरण मुद्दामा पुर्पक्षका लागि ‘लिटिल बुद्ध’ कारागार चलान

सम्पत्ति शुद्धिकरण मुद्दामा पुर्पक्षका लागि ‘लिटिल बुद्ध’ कारागार चलान


रामबहादुर बम्जन भनेर चिनिने विवादित धर्मगुरु रामलाल बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

‘लिटिल बुद्ध’का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि सोमबार (१२ जेठ) मलङ्गवा कारागार चलान गरिएको हो ।

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जनलाई जिल्ला अदालत ल्याइँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरु अदालतअगाडि जम्मा भएका थिए ।

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । तर फेरि सम्पत्ति शुद्धिकरण मुद्दामा उनी जेल चलान भएका छन् ।