‘आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान-सीपको संरक्षण गर्न कांग्रेस प्रतिबद्ध’

‘आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान-सीपको संरक्षण गर्न कांग्रेस प्रतिबद्ध’


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घद्वारा आज (१४ जेठ) ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले पार्टीले आदिवासी जनजातिहरूको सशक्तीकरणका लागि ध्यान दिँदै आएको र कांग्रेस देशकै समावेशी पार्टी भएको बताएका हुन् ।

‘कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ छ, संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन हामी लाग्नेछौँ, आदिवासी जनजातिलगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरूआत कांग्रेसको नेतृत्वको सरकारले गरेको हो भन्ने तथ्य यहाँ राख्न चाहन्छु । आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रतिबद्ध छ’, सभापति देउवाले भने ।

सभापति देउवाले संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई स्रोत र साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेको बताए । उनले कांग्रेस स्थापनाकालदेखि नै आदिवासी जनजातिको हितमा क्रियाशील रहेको दाबी गरे ।

कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको धारणा राख्दै सभापति देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन आफूहरूले चाहेको बताए । ।

सो अवसरमा पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले जनजातिको अवस्था कहाँ छ भनेर ध्यान दिँदै पार्टीलाई बलियो बनाउन वडा तहदेखि नै क्रियाशील सदस्यहरूको वृद्धि गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नागरिकले खोजेअनुरूप सामाजिक सेवालाई ध्यान दिँदै जनजाति महासङ्घले नमूना कार्यक्रम गरेर देखाउन सक्नुपर्ने धारणा उनको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिनले पार्टीको विधानअनुसार आदिवासी जनजाति महासङ्घले समयमै महाधिवेशन सम्पन्न गरेर सङ्गठनलाई चुस्तदुरूस्त राख्न सफल भएको उल्लेख गरे ।

आजदेखि सुरू भएको प्रशिक्षक प्रशिक्षण भोलि बिहीबारसम्म सञ्चालन हुने जानकारी गराइएको छ ।