भिजिट भिसा प्रकरणमा नाम मुछिएर विवादमा परेका गृहमन्त्री रमेश लेखकले चौतर्फी विरोध र राजीनामाको माग भएपनि राजीनामा नदिइ ‘अनुसन्धानमा सहयोग पुऱ्याउन आफू तयार रहेको’ भन्दै पद जोगाउने प्रयत्न गरेका छन् ।
बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा अनुसन्धान प्रारम्भ गरिसकेकाले अनुसन्धानमा कसरी सहयोग पुग्छ, के-के गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि आफू तयार रहेको अभिव्यक्ति दिए ।
‘आयोगको अनुसन्धान पश्चात जो दोषी देखिन्छ उसलाई कानुन बमोजिम कारबाही हुने नै भएकोले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतास नबनौँ र हतार नगरौँ भन्ने मेरो आग्रह छ’, मन्त्री लेखकले भने- ‘स्वतन्त्र, सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टिकरण दिइरहनु नपर्ला भन्ने लागेको छ ।’
कोही राष्ट्रसेवक कर्मचारीलाई कुनै कसुरमा छानबिन, अनुसन्धान गर्न पऱ्यो वा मुद्दा दायर भयो भने त्यसको जिम्मा विभागीय मन्त्रीले लिने हो भने हरेक वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने मुद्दाको जिम्मेवारी सम्बन्धित मन्त्रीले लिने कि नलिने भनी प्रश्न उठाउँदै उनले आफू चोखो रहेको जिकिर गरे ।
गृह मन्त्रालयको नेतृत्वको हैसियतले वा विभागीय प्रमुखको हैसियतले नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रित रहेको र राजनीतिक विषय वा कुनै आदेश निर्देशनको अवस्थामा मात्र आफ्नो भूमिका बढी रहने तर्क गर्दै गृहमन्त्री लेखकले भने, ‘यस्तो अवस्थामा कुनै कार्यालयमा घटित कुनै घटनासँग मेरो भूमिका वा संलग्नता कसरी हुन्छ ?’
प्रतिक्रिया