बेल्जियमको नेपाली मिलन केन्द्र आन्त्वेर्पेनले कान्ति तिमल्सेना अधिकारीको नेतृत्वमा हुँदैआएको विपन्न तथा असहायहरुको परोपकारी भियानमा आफूलाई अग्रसर गराउँदै आएको छ। बेल्जियममा समेत विभिन्न सांस्कृतिक, साहित्यिक, भाषिक तथा सामाजिक गतिविधिमा सक्रिय मिलन केन्द्रले संस्थाका अध्यक्ष कान्ता नेपाल गएको बेला त्यहाँको परोपकारी अभियानमा आफूलाई सरिक गराएको जानकारी प्राप्त भएको छ । मिलन केन्द्रकी अध्यक्ष कान्ता अधिकारिले प्रदान गरेको रकम त्यति ठुलो नभएपनि यसले तात्कालिक रुपमा पीडितलाई केही राहत पुग्ने जानकारी गराएकी छन् ।
अत्यन्त दयनीय अवस्थामा पोखराको सडकमा भेटिएका तीन बच्चासहित उनीहरुकी आमालाई अध्यक्ष कान्ताले हालसालै २०७ युरो (करिव ३२ हजार रुपैयाँ) सहयोगस्वरुप हस्तान्तरण गरिन् भने जेष्ठ नागरिक सेवा केन्द्र पोखरालाई १०७ युरो (करिव १७ हजार रुपैयाँ) र म्यान्मारको भुइँचलोमा पर्ने नेपालीलाई पनि १०७ युरो राहत स्वरुप उपलब्ध गराएकी छन् ।
मिलन केन्द्रमार्फत बेला बेलामा हल्याण्डको विश्वप्रसिद्ध फुलबारी लगायत विभिन्न स्थानको अवलोकन भ्रमणबाट बचेको पैसा यसरी राहतको रुपमा प्रदान गरिन्छ। त्यस्तै नेपाली कला र संस्कृतिको प्रवर्द्धन तथा प्रचारप्रसारको लागि समेत यो संस्थाले आफ्ना पर्व उत्सवहरु प्रवासमा सम्पन्न गर्दै आएको छ । तिनै गतिविधिबाट थोरै थोरै बचाएर बेसहारा नेपालीहरुलाई प्रदान गर्ने गरेको छ ।
जानकारी रहोस्, नेपाली मिलन केन्द्रले विगतदेखि नै चेलीहरुलाई तिजको दर ख्वाउने कार्यक्रम, दशैँ, तिहार लगायत पर्व उत्सवहरुको आयोजना गर्दै आएको छ । त्यस प्रकारको कर्मले प्रवाशमा नेपाली पहिचानको क्षेत्रमा जागरण ल्याउने काम गरेको छ । त्यस्तै, उक्त केन्द्रले यसको स्थापना कालदेखि नै युरोपका रमणीय सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको अवलोकन भ्रमण समेत गराउँदै आएको छ । ती भ्रमणहरुले एकातिर आफ्नो कोषमा थोरै भएपनि भरण गर्दछ भने समुदायका मानिसहरुले गतिविधिबाट भरपुर मनोरञ्जनको साथै अनुभव पनि बटुल्छन् । अर्कोतर्फ असहाय नेपालीहरुले राहत पनि प्राप्त गर्दछन्। त्यसै कारण यो संस्था बेल्जियमस्थित नेपाली समुदायका बीच लोकप्रिय रहेको छ।
प्रतिक्रिया