नेतृत्वको दृढ इच्छाशक्तिले मुलुक निर्माणमा पार्ने प्रभाव

नेतृत्वको दृढ इच्छाशक्तिले मुलुक निर्माणमा पार्ने प्रभाव


दृढ इच्छाशक्ति भएको नेतृत्व राजनैतिक रूपमा मुलुकका लागि कृयाशील हुँदा मात्र मुलुकले राजनैतिक, सामाजिक र आर्थिक रूपमा महत्वपूर्ण प्रभावकारी परिवर्तनको अनुभूति गराउन सक्दछ । उदाहरणका लागि महात्मा गान्धीको दृढ इच्छाशक्तिले भारतमा अहिंसात्मक आन्दोलन (सत्याग्रह) को माध्यमद्वारा अङ्ग्रेजहरूको करिव १९० लामो औपनिवेसिक शासनबाट भारतलाई स्वतन्त्र राष्ट्रमा रुपान्तरण गर्ने अत्यन्तै महत्वपूर्ण भूमिका रहेको थियो । यो महत्वपूर्ण र ऐतिहासिक योगदानका लागि महात्मा गान्धी अनेकौँ पटक जेल परे, अङ्ग्रेज शासकहरूको कठोर यातनालाई सहँदै ‘स्वतन्त्रता र स्वराज मेरो जन्मसिद्ध अधिकार हो’ भन्ने आदर्श नारा लिएर स्वतन्त्रताको लागि सङ्घर्षमा अविछिन्न रूपमा क्रियाशील भए । सो आदर्शबाट निर्देशित हुँदै करोडौँ भारतीयहरू सत्याग्रह आन्दोलनको लागि संगठित हुन प्रेरणाको श्रोतको रूपमा काम गऱ्यो । महात्मा गान्धीको दृढ इच्छाशक्तिले १९० वर्ष लामो अङ्ग्रेजहरूको औपनिबेसिक शासनबाट भारतलाई स्वतन्त्र भारतमा रुपान्तरण गर्न उत्कृष्ट ऐतिहासिक भूमिका निभायो ।

त्यस्तैगरी, अर्को दृढ इच्छा शक्तिको उदाहरण प्रस्तुत गर्नुपर्दा दक्षिण अफ्रिका अपार्थाइड (जातीय विभेद) विरुद्धको आन्दोलनको नेतृत्वकर्ता नेल्सन मन्डेलालाई लिन सकिन्छ । नेल्सन मन्डेलाले उक्त आन्दोलनलाई सार्थक निष्कर्षमा पुऱ्याउन नेतृत्व गर्दै गर्दा त्यहाँको तत्कालिन शासकले उनलाई २७वर्षे जेलजीवन जिउन बाध्य बनाएका थिए । तर उनी अविछिन्न रूपमा आफ्नो आदर्श मुल्य र मान्यताबाट बिचलित नभइ स्वतन्त्रता आन्दोलनलाई निरन्तर रुपमा क्रियाशील गराए । आफ्नो नेतृत्वदायी भूमिकालाई दृढरूपमा प्रस्तुत गरे । २७ वर्षको लामो जेलबाट छुटकरा पाएपछि बदलाको भावनाले देश र समाजलाई द्वन्द्वको चक्रब्युहमा फसाउँछ भन्ने ज्ञानबाट निर्देशित हुँदै राष्ट्रिय एकता र मेलमिलापको बाटोबाट मात्रै आन्दोलनलाई परिणामुखी बनाउँछ भन्ने कुराको हेक्का राख्दै दक्षिण अफ्रिकामा लोकतन्त्रको स्थापना गर्न नेल्सन मन्डेलाको दृढ इच्छाशक्तिले महत्वपूर्ण उपलब्ध हासिल गऱ्यो ।

आधुनिक नेपालका निर्माता ऐतिहासिक महानायक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह उहाँको दृढ इच्छाशक्ति नेपाली इतिहासमा असाधारण उदाहरणको रूपमा स्मरण र प्रस्तुत गर्न सकिन्छ । उहाको दृढ इच्छाशक्तिको फलस्वरुप उहाँको पिता नरभुपाल शाहको देहान्तपश्चात गोरखा राज्यको अभिभारा आफ्नो काँधमा लिनुभएको थियो । आफ्नो राजकाजलाई निरन्तररूपमा सञ्चालन गर्ने क्रममा आफ्नो राज्यको परिवरिका छिमेकी बाइसे-चौबिसे राज्यहरूलाई एकताबद्ध गर्ने अठोट गर्नुभयो । त्यही क्रममा एक रात उहाँको सपनामा गोर्खालीकी भगवती मनकामना प्रकट हुँदै पृथ्वी तिमी अगी सरी जुन काम गर्दछौ त्यो काम सजिल्यै पूरा हुनेछ, यो कामको सिलसिलालाई नअल्मल्याइ निरन्तररूपमा अगाडि बढाउ भन्ने बाणी प्रस्तुत भएको दृष्टान्तपश्चात आधुनिक नेपालको निर्माणको यात्रा प्रारम्भ गर्दै नेपाललाई विश्व राजनैतिक आकासको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको भन्दा करिव दश वर्षअगाडि संगठित भएको मुलुकको रुपमा स्थापित गर्नुभएको थियो । मुलुकलाई आफ्नै स्वदेशी नीतिद्वारा नै आत्मनिर्भरता मुलुकको रूपमा स्थापित गर्न सकिन्छ भन्ने प्रशस्तै दिव्य उपदेशहरू प्रकट गर्नुभएको पाइन्छ, जसलाई ‘पृथ्वीपथ’को रूपमा बुझिन्छ ।

तत्कालिन अवस्थामा अङ्ग्रेजहरूले सञ्चालन गरेको इष्ट इन्डिया कम्पनी नेपालसम्मको बिस्तार अभियानलाई पनि आफ्नो निपुण कुटनैतिक चालद्वारा विदेशी शक्तिहरूसँग पनि सन्तुलित सम्बन्ध राख्दै मुलुकको स्वाधीनताको रक्षा गर्न सफल हुन भएको थियो । उहाँको कर्मठ अडान, नेतृत्वशैली, स्वदेशप्रेम नेपाल र नेपालीको गौरव हो । इतिहासको पाना पल्टाएर मनन गर्दा पृथ्वीनारायण शाहको दृढ इच्छाशक्ति बिना अहिलेको आधुनिक र विशाल अधिराज्य बन्न सक्दैनथ्यो ।

त्यस्तैगरी सिङ्गापुरका संस्थापक तथा राष्ट्रनिर्माता ली क्वान युले दृढ इच्छाशक्तिकै बलमा मलेसियाबाट सिंगापुरलाई अलग गर्दै स्वतन्त्र राष्ट्र निर्माणको अठोट गर्नुभयो– ‘यो टापु सानोजस्तो देखिएपनि हामीले विश्वमै मान्यता पाउने राष्ट्र बनाउँछौँ !’ उहाँको यो दृढ इच्छाशक्तिले सिंगापुरलाई विश्वको आर्थिक केन्द्रको रुपमा स्थापित गऱ्यो । सन् १९५९-१९९० सम्म सिंगापुरको संस्थापक प्रधानमन्त्रीको रूपमा काम गर्दा देशमा कडा प्रभावकारी राष्ट्रप्रेमी नीति-नियम, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्दै राष्ट्रका सम्पुर्ण प्रशासनिक इकाई तथा निकायहरूमा ‘right person right position’ (सही व्यक्ति सही पद)को अवधारणालाई अवलम्बन गर्दै त्यस्ता ब्यक्तिहरूको प्रेरणाको श्रोत आफू बन्दै उनीहरूको काम गर्ने मनोबललाई सदा प्राथमिकतामा राख्दै कडा अनुशासनको माध्यमबाट २१ वर्षको निरन्तर शुसासन दिनुभयो । र, कुनै प्राकृतिक स्रोतबिना सिंगापुरमा आर्थिक समृद्धि हासिल गर्दै आज विश्वकै समृद्ध राष्ट्रहरूको सूचीमा सिंगापुरलाई उभ्याउने सशक्त एवम् महात्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेको पाइन्छ । त्यसकारण ली क्वान युको दृष्टिकोण, ठोस निर्णयहरू र राष्ट्रप्रेमले सिंगापुरलाई सधैंका लागि बदलिदियो । विश्वकै एउटा कर्मठ दृढ इच्छाशक्ति भएको उदाहरणीय नेतृत्वको प्रेरणाको श्रोतको रूपमा लिन सकिन्छ ।

अर्को दृढ इच्छाशक्तिको प्रेरणादायी उदाहरणको रूपमा विन्स्टन चर्चिललाई लिन सकिन्छ । उहाको दृढ संकल्प, अठोट, इच्छाशक्ति र प्रेरणादायी भाषण, अटुट आत्मविश्वासले र तत्कालिन जर्मन साम्राज्यले शुरुवात गरेको युद्धलाई प्ररास्त गर्नको लागि अमेरिका र सोभियत संघसँग विश्वव्यापी गठबन्धन बनाउँदै सशक्त र सुमधुर मित्रता कायम गरी हिटलको नाजी फासीवादको विरुद्ध विश्वव्यापी गठबन्धन निर्माण गर्न महत्वपूर्ण योगदान दिएको पाइन्छ । उहाँको यो देशभक्तिपूर्ण योगदानले तत्कालिन बेलायत र जर्मन नाजीहरूको बीचमा चेलेको विश्वयुद्ध जित्न प्रेरित गरेर विश्वको इतिहासमै एउटा दृढ इच्छाशक्ति भएको नेताको रूपमा आफ्नो नाम इतिहासको पानामा सुरक्षित गर्न सफल भए ।

तर, दृढ इच्छाशक्ति भएको नेतृत्वको अनुमप उदाहरणको रूपमा नेपालको सन्दर्भमा तुलनात्मक अध्ययन गर्दा विगत ७५ वर्षयता मुलुकले स्वर्गीय श्री ५ महेन्द्र वीरविक्रम शाहदेव सरकारको दशवर्षे प्रत्यक्ष शासन कालमा उहाँले देशको लागि दर्शाएको दृष्टिकोण दृढ इच्छाशक्तिको उदाहरण तथा जननायक बीपी कोइरालाले राणा शासनको अन्त्य गर्दै नेपालमा प्रजातन्त्रको स्थापनाको लागि दर्शाएको दृढ इच्छाशक्ति अनि स्वर्गवासी श्री ५ वीरेन्द्र वीरविक्रम शाहदेव सरकारबाट नेपाललाई विश्वको शान्तिक्षेत्रको रूपमा घोषणा गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको दर्ता गराउन प्रकट गरेको दृढ इच्छाशक्ति बाहेक अरुबाट दृढ इच्छाशक्ति भएको नेतृत्वको अनुभूति गर्न पाइएको छैन ।

२०६२/०६३ सालको राजनैतिक परिवर्तनपश्चात अवलम्बन गरेको राजनैतिक प्रणालीको जगमा अहिलेका शासकहरूको संस्थागत र नीतिगत भ्रष्टाचारको कारणले मुलुक प्राणघातक क्यान्सरसरह अत्यन्त दयनीय अवस्थामा पुगी सघन उपचारको पर्खाइमा छ । राज्यका सम्पुर्ण संयन्त्रहरूमा भष्ट्र नेताका लम्पट कार्यकर्ताहरूले कब्जा जमाइरहेका छन् । न्यायलयका न्यायमुर्तिहरू कानुनी राज्यको मर्यादापालकको रूपमा नागरिकलाई न्यायको प्रत्याभुति गर्नुपर्ने महत्वपुर्ण जिम्मेवारीबाट अलग रहँदै भष्ट्रहरूको निर्देशनको पालना गर्न बाध्य भएका दृष्टान्तहरू सामाजिक संजालमा यत्रतत्र छरपष्ट भएको पाइन्छ ।

मुलकका प्रधानमन्त्रीद्वारा संविधानप्रदत्त शान्तिपूर्ण भेला र अभिव्यक्ति गर्न पाउने जनताको मौलिक अधिकारमाथि धावा बोल्नु र प्रधानमन्त्रीका कुर्सीमा विराजमान ब्यक्तिबाट बारम्बार गैरजिम्मेवारपूर्ण, स्तरहीन र हल्का अभिव्यक्ति प्रस्तुत गर्नुले केपी शर्मा ओली प्रधानमन्त्री कुर्सीमा विराजमान हुन योग्य छैनन् भन्ने कुरालाई पुष्टि गरेको छ । बहुलवादमा कुनै एक अमुक पार्टीको नेतृत्व गरेता पनि मुलुकको प्रधानमन्त्री पदमा पदासिन भइसकेपछि प्रधानमन्त्री पदको गरिमा र मर्यादालाई आत्मसात गर्दै मुलुकबासीहरूको विश्वास आर्जन गर्नुको सट्टा बेतुकका विशेषणहरू प्रयोग गर्दै नेपाली जनताको बीचमा द्वन्द्वको गहिरो खाडल खन्ने कामले प्रधानमन्त्री पदको मानमर्दन गरेको छ । प्रधानमन्त्री पदमा पदासिन ब्यक्तिबाट जनताको मौलिक अधिकार हनन हुने अभिब्यक्ति सार्वजनिकरूपमा आउँदा नेपाली राष्ट्रिय राजनीतिको लामो इतिहास बोकेको सबैभन्दा ठुलो दल नेपाली काङग्रेसको नेतृत्व मौन बस्नुले नेपालमा क्रियशील पार्टीको नेतृत्व सम्हालेका ब्यक्तिहरू मुलुक र जनताप्रति कदापि जिम्मेवार छैनन् भन्ने विषयलाई प्रतिबिम्बित गर्दछ ।

संक्षिप्त रुपमा दृढ इच्छाशक्ति धारण गरेको नेतृत्वको अनुपम उदाहरणलाई प्रस्तुत गर्नुपर्दा आफ्नो ब्यक्तिगत जीवनको जोखिमको सामना गरेर राष्ट्रको लागि आफूले निर्दिष्ट गरेको आदर्श, मुल्य-मान्यता, लक्ष्य वा उद्देश्यलाई तार्किक निष्कर्षमा पुऱ्याउन प्रभावकारी रूपमा भूमिका निर्वाह गरेका स्वतन्त्र भारतका पिता महात्मा गान्धी, आधुनिक नेपालका निर्माता श्री ५ बडामहाराज पृथ्वीनारायण शाह, सिंगापुरका संस्थापक ली क्वान यु, विन्स्टन चर्चिल, नेल्शन मण्डेला, श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र र विश्वेस्वर प्रसाद कोइरालालाई दृढ इच्छाशक्तिको भएको नेतृत्वको अनुपम उदाहरणको रूपमा सह्राहना गर्न सकिन्छ । पृथ्वीनारायण शाहले मुलुकमा उद्योग संचालन गर्न चाहने मनुवाहरूलाई राज्यले अनुदान दिनु र उसले चलाएको उद्योगमा काम गर्न पाए हरेक जनताको चुलोमा नियमित रुपमा आगो बन्दछ । कोही भोकै बस्नुपर्ने छैन भन्ने कुरा आफ्नो दिब्य उपदेशमा प्रकट गरेका थिए । राजा महेन्द्रले सोही दिब्य उपदेशको मर्म र भावनाअनुरुप काम गर्दा जम्मा १० वर्षमा नेपालमा २१२ वटा उद्योग कलकारखाना स्थापना गरी नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने बाटोमा डोऱ्याएका थिए । यो ऐतिहासिक दृष्टान्तलाई दृढ इच्छाशक्ति भएको राजनेताको उदाहरणको रूपमा प्रस्तुत एवम् चित्रण गर्न सकिन्छ ।