गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव छैन : प्रधानमन्त्री ओली

गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव छैन : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार (१७ जेठ) आयोजित ‘हाफ म्याराथन’को आरम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने धारणा राखे ।

‘म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधारचाहिँ चाहिन्छ । गृहमन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नुपर्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृह मातहतको सिआइबीले छानबिन गरिरहेको थियो । अहिले त्यस्तो अवस्था होइन, त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ किलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।’

प्रधानमन्त्री ओलीले बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिने भए पनि सक्कली हात्तीलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिएजस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए ।

photo: rss