२ अर्ब ५० करोड रकम हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका पूर्व सिइओ राय पक्राउ

२ अर्ब ५० करोड रकम हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका पूर्व सिइओ राय पक्राउ


बैंकिङ कसुर गरी फरार रहेका कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई प्रहरीले पक्राउ गरेको छ । सो बैंकका संस्थापक अध्यक्षसमेत रहेका रायलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार (१७ जेठ) रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिएका छन् ।

बैंकमा ठूलो परिमाणमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए । २०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए । उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए।

सीआईबीका प्रमुख खापुङका अनुसार रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको छ भने यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू पनि अनुसन्धानको दायरामा परेका छन्। उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका जनाइएको छ ।