काठमाडौंको नारायणचौरमा आइतबार (१८ जेठ) भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई रिहा गरिएको छ । निषेधित क्षेत्र तोड्न खाजेपछि दिउँसो पक्राउ गरिएकामा राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।
उक्त प्रदर्शनमा सुरूमा ६ जना र पछि दुई गरी आठ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा. राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौजसमेत गरेकाले हिरासतमै राखिएको बोहराको भनाइ छ ।
रिहा हुनेमा थापासहित सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमिका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली, भक्तपुरका सरोज तिमिल्सिना छन् ।
राजसंस्थाको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि उपत्यकामा प्रदर्शन गरिरहेका छन् । यसैक्रममा आइतबार पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका कमलथापालगायत पक्राउ परेका हुन् ।
प्रतिक्रिया