प्रमुख तीन दलको बैठक : ‘नयाँ कुरा केही भएन’

प्रमुख तीन दलको बैठक : ‘नयाँ कुरा केही भएन’


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार (१९ जेठ) बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उनले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विषयमा आफ्नो धारणा राखेका नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।

‘सत्तापक्षका तर्फबाट सदन खोल्नुपर्छ भन्ने आयो, प्रधानमन्त्रीले पनि यो विषय राख्नुभयो । गृहमन्त्रीलगायतले पनि राजिनामा होइन, संसद् खोलेर अघि बढनुपर्छ भन्ने कुरा राख्नुभयो’, प्रमुख सचेतक पाण्डेले भनेका छन्, ‘हामीले सुशासनको विषय महत्वपूर्ण हो भनेका छौँ । अरु नयाँ कुरा केही भएन, दलबीच छलफल गर्दै जाऔँ भन्ने भएको छ ।’

प्रमुख सचेतक पाण्डेले आफूहरूले राख्दै आएको विषयवस्तु यथावत नै रहेको जनाउँदै ‘भिजिट भिसा’का विषयमा उठेको प्रश्नलाई छानबिन र अनुसन्धान गर्न गृहमन्त्रीले सहयोग गर्नुपर्ने मत राखेको बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलगायत नेता सहभागी थिए ।

photo: rss