यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने


यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजै (२० जेठ)देखि सञ्चालनमा आउने भएका छन् । सोमबार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि आज सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका छन् । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात सहज रूपमा चल्नेछ ।

सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्तापश्चात् ६ बुँदे सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।

सङ्घीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले मंगलबार दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए ।