देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक
आन्तरिक राजस्व कार्यालय भरतपुर (चितवन)मा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत ६ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो ।
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । उनीहरूमध्ये विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक गरेको सूचनापछि २७ जनाले विवरण बुझाएका थिए । विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको छभने खरिद बिक्री नगर्न उपभोक्तालाई जानकारी गराइएको छ ।
विभागले मूल्य अभिवृद्धिकर ऐन, २०५२ को दफा १७ को उपदफा ८ मा लगातार ६ महिनासम्म कर विवरण पेस नगर्ने करदताको नाम सार्वजनिक गरिएको हो । यस्ता करदाताको करकट्टी रोक्का राखी मूल्य अभिवृद्धिकर दर्ता निलम्बन गरिएको उनले जानकारी दिएका छन् । निलम्बित करदाताले आफ्नो कारोबार सञ्चालन राख्नुपरेमा बाँकी सबै कर विवरण पेस गर्नुपर्छ ।
जिल्लामा १० हजार बढी मूल्य अभिवृद्धि करदाता रहेका छन् । मूल्य अभिवृद्धि करदातासहित जिल्लामा ७२ हजार बढी करदाता छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूले बेवास्ता गर्दा विभागको निलम्बन कारबाही भोग्नुपरेको हो । सूचना अधिकारी पौडेलले भनेका छन्, ‘करदाताले नबुझेर होइन, कतिपयको कारोबार नभएर पनि होला तर ज्ञान नभएको भन्ने होइन ।’ कारोबार नभए पनि राज्यलाई विवरण बुझाउनुपर्छ भन्ने शिक्षा करदातासम्म पुऱ्याउनुपर्ने समय आएको उनको भनाइ छ ।
विभागले देशभरका ९५ हजार ३४९ जना करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको हो ।
प्रतिक्रिया