हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आइतबार (२५ जेठ) सम्पन्न भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदनसहितको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी सभाले हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्ब ४० चालीस करोडको ४.५० प्रतिशतका दरले हुन आउने ४६ करोड ८० लाख बराबरको बोनस शेयर तथा सो बोनस शेयरको कर प्रयोजनको लागि रु. २ करोड ४६ लाख ३१ हजार ५ सय ७८ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
निजी क्षेत्रद्वारा प्रवद्र्धित हिमालयन रिइन्स्योरेन्स लिमिटेड अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एकमात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी AM Best बाट B रेटिङ्ग पाएको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ भने विश्वविख्यात पुनर्बीमा कम्पनी General Insurance Corporation of India (GIC Re) तथा Hanoi Re जस्ता ठूला पुनर्बीमा कम्पनीहरुको Retrocession Program मा समेत हिस्सा हासिल गर्न सफल भएको छ ।
कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्काशन सम्पन्न गरेको थियो । सो शेयर निष्काशन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेश्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी रु. १० अर्वको ४ प्रतिशतका दरले हुन आउने रु. ४० करोड बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । यति ठूलो चुक्ता पूँजी हुनुको बाबजुत कम्पनीले हरेक वर्ष ४ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न सक्नुलाई अभूतपूर्व सफलताका रुपमा लिन सकिन्छ ।
त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउनेसम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीको संचालक समितिको अध्यक्षमा शेखर गोल्छा रहेका छन् भने संचालकहरुमा अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, सुभेच्छा खरेल, स्वतन्त्र संचालकमा सुभाष कुमार झुनझुनवाला एवम् प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल रहेकी छन् ।
प्रतिक्रिया