हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती


झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् ।

साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीका समूहले किसानले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि उनीहरु आजित बनेका हुन् । बिहानै मेची नदी किनारमा पुग्ने गरेका स्थानीय शङ्कर लुइँटेलले दैनिक बाहुनडाँगी आउने र भारततर्फ फर्कने हात्तीको हुलको तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन् ।

किसानले बारीमा लगाएको मकै, सुपारी, केरालगायतका खाद्यान्न बाली खाएर नष्ट गर्दै आएको उनले बताए । ‘वर्षौं लगाएर हात्तीले नखाने नगदे बाली सुपारीको बोट हुर्काएँ, फल्न सुरु भएको थियो सबै भाँचेर नष्ट गरिदियो’, उनले भनेका छन् । विश्व बैंकको सहयोगमा १० वर्षअघि मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन सुरु गरेको उनको भनाइ छ । सोलार फेन्सिङ बिग्रिएको र मर्मतमा सम्बन्धित निकायले चासो नदिएको गुनासो पनि उनले गरेका छन् ।

सोको रेखदेखको जिम्मेवारी पाएको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष निरोज घिमिरेले हाल सोलार फेन्सिङको मर्मत भइरहेको जानकारी दिँदै डिभिजन वन कार्यालय झापाबाट झारपात फाँड्नका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु आठ लाख प्राप्त भएको र मेचीनगर नगरपालिकाद्वारा कर्मचारीको पारिश्रमिकका लागि रु सात लाख बजेट प्राप्त भएको बताए ।

सोलार फेन्सिङको हेरचाहका लागि मासिक पाँच हजारका दरले तलब दिएर १० जना र रु १२ हजारका दरले तलब दिएर दुई जना प्राविधिक संस्थामार्फत राखिएको उनको भनाइ छ । पछिल्लो समय हात्ती आतङ्क बढ्यो भनेर स्थानीयवासीले समाधानको मागसहित मेचीनगर नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले सोलार फेन्सिङ प्राकृतिक र हात्तीका कारण नभई मान्छेले भत्काउने गरेको बताउँदै विगत १० वर्षयता बाहुनडाँगीमा यही सोलार फेन्सिङका कारण जङ्गली हात्ती आउने क्रम घटेको जानकारी दिए ।