यस्तो अवस्थामा उनीहरू कुन मानसिक अवस्थाबाट गुज्रिरहेका होलान्- हामीले सोचेका छौँ ? उनीहरूको मानसिक/मनोवैज्ञानिक स्थितिलाई कसरी सहज बनाउने ? न राज्यसँग कुनै योजना छ न त नागरिक समाजसँग नै ।
✍ बबिता बस्नेत
अमेरिकाले ‘डिपोर्ट’ गरेका नेपालीहरू कस्तो अनुहार लगाएर फर्किए ? के बोकेर आए ? जुत्ता कस्तो थियो ? लुगा कस्तो ? मुख लुकाएका थिए कि खुल्ला ? बोरा बोकेका थिए कि झोला ? बाहिरी आवरणको चर्चा गर्ने, फोटो/भिडियो देखाउने अहिले लहर चलेको छ । मिडिया, सोसियल मिडिया जताततै तस्बिरहरू छरपष्ट छन् । उनीहरूलाई देखाउने होडबाजी यसरी चलेको छ कि मानिस नभएर अनौठा जीवजन्तु देश भित्रिएका छन् र तिनको बाहिरी रूप फरक-फरक एङ्गलबाट सबैलाई, देखाउनैपर्छ, हेर्नैपर्छ ! अनुहार नदेखाउन पाउने उनीहरूको गोपनीयताको अधिकारलाई न राज्यले संरक्षण गऱ्यो न मिडिया, न त सोसियल मिडिया प्रयोगकर्ताले नै ।
अमेरिकाले विभिन्न देशका नागरिकलाई डिपोर्ट गर्ने समाचार आएदेखि नै कतिले सामाजिक संजालमा ‘ठिक्क पऱ्यो’ भाव दिने स्टेटसहरू लेख्न थालेका थिए । अमेरिकाबाट मात्र नभइ पोर्चुगलबाट नेपालीहरू फर्काइने समाचारमा पनि कतिपय मानिसहरू दङ्ग छन् । ‘खुब युरोप, अमेरिका गएका थियौ नि, ठिक्क पऱ्यो’ को शैलीमा लेख्ने, बोल्ने क्रम जारी छ । यो विषयलाई लिएर मिडिया र सोसियल मिडियामा गरिएको चर्चा/परिचर्चा र प्रचारप्रसार हेर्दा हामी नेपालीहरू आफ्नै दाजुभाइ दिदीबैनीको पीडामा कति सहजै रमाउन सक्ने रहेछौँ जस्तो पनि लाग्छ । सबैलाई त भन्न मिल्दैन तर धेरैचाहिँ त्यस्तै देखिएको छ ।
कोही किन विदेशिन्छ ? सबैका विदेशयात्रा रहरसँग जोडिएका छैनन् । बाध्यतासँग जोडिएका विदेशयात्रा धेरै छन् । एउटा सामान्य जीवन बाँच्न धौ-धौ भएपछि दुई/चार पैसा कमाएर आनन्दको जीवन बाँच्ने आशमा धेरै मानिसहरू विदेशिएका छन् । अहिले अमेरिकाबाट डिपोर्ट गरिएका धेरैजसो नेपालीहरू अनेकौँ हण्डर खाँदै महिनौँ लगाएर अमेरिका पुगेका हुन् । अमेरिकाको बारेमा हामीकहाँ धेरै भ्रम पनि छ । त्यहाँ पुगेपछि पैसा त यसै आइहाल्छ नि जस्तो गरेर दलालको फन्दामा परेका उनीहरूको त्यहाँ पुग्दासम्मको मानसिकता कस्तो बनेको थियो होला ? महिनौँदेखि घर-परिवारबाहिर जंगलमा ज्यानको बाजी लगाएर सोचेभन्दा फरक परिस्थिति भोग्नुपर्दाको पीडा सेलाउन नपाउँदै रित्तो हात फर्कनुपर्दा उनीहरूमाथि के गुज्रिएको होला ?
अमेरिकाबाट डिपोर्ट भएर फर्किनेहरूलाई फिलिपिन्समा उनीहरूको आत्मविश्वास खस्किन नदिन विभिन्न प्रयासहरू भइरहेका रहेछन् । सरकारी स्तरबाटै ‘वेलकम सेन्टर’को स्थापना गरिएको छ । सामाजिक संघ–संस्थाहरूले वेलकम सेन्टरसँग मिलेर आवश्यक विभिन्न सहयोग गरिरहेका छन् । ब्यक्तिगतरूपमा पनि मानिसहरूले आर्थिक र भावनात्मक सहयोग गरिरहेका रहेछन् ।
सामान्य सपना मात्रै मर्दा त मानिसलाई सहन गाह्रो हुन्छ, उनीहरूको त तमाम दुःखका बाबजुद ऋण गरेको पैसा, दुःखबाट मुक्त हुने योजना सबै डुबेका छन् । आफू र परिवारको अन्योल भविष्य आफ्नो अगाडी छ । यस्तो अवस्थामा उनीहरू कुन मानसिक अवस्थाबाट गुज्रिरहेका होलान् ? हामीले सोचेका छौँ ? उनीहरूको मानसिक, मनोवैज्ञानिक स्थितिलाई कसरी सहज बनाउने ? न राज्यसँग कुनै योजना छ न त नागरिक समाजसँग नै । आफूले चाहेका कतिपय कुरामा असफल हुँदा हामीलाई ‘फेलियर’ महसूस गरेर बाँच्न कति गाह्रो हुन्छ ? हो, अहिले उनीहरू आफूलाई एउटा असफल ब्यक्तिको रुपमा लिनुपर्ने परिस्थितिमा छन् । एउटा लक्ष्य असफल हुँदैमा जीवन असफल हुँदैन भनेर सम्झाउने, ढाडस, साहस र हिम्मत दिने अहिले उनीहरूसँग कोही पनि छैन । हामी सबै एकमुखले भनिरहेका छौँ- ‘तिनीहरूलाई त्यति धेरै ऋण लिएर किन जानुपरेको थियो ? असुरक्षित बाटोबाट किन गएका ?’ हामीले यसरी प्रश्न गर्नुअघि उनीहरू किन गए ? त्यस्ता बाटाहरूको सिर्जना कसले गऱ्यो ? आफ्नै देशमा गरेर खानका लागि हामीसँग के-कस्ता अवसरहरू छन् ? भन्ने बारेमा पनि सोच्नुपर्ने हुन्छ । जिन्दगीमा दुःख पाउनका लागि, असफल हुनका लागि कसैले पनि जानी-जानी कदम चालेको हुँदैन ।
डिपोर्ट गरिएकाहरूलाई सम्बन्धित देशले के-कस्तो अपराधमा फर्काएको हो भन्ने हामीले बुझ्नुपर्छ । ठुला र नियतवश अपराध गर्नेहरू पनि होलान् तर धेरैजसो स-साना कुरा थाहा नपाएर विगतमा प्रहरीफन्दामा परेकाहरूदेखि ‘ओभर स्टे’ गरेकाहरू छन् । कानूनी कागजात अब बन्ला, अब त बन्ला भनेर पर्खिंदापर्खिंदै समय बितेका मानिसहरूलाई ठुलै अपराधी झैँ आफूले दुःख गरेर जोडेको सामान र कपडाहरू समेत लिन नपाइ खाली हात फर्काइएको छ । यो परिस्थिति तपाईं-हामी जो-कोहीलाई पनि पर्न सक्थ्यो, हाम्रा सन्तानलाई पर्न सक्थ्यो । सम्झिनुस् त, तपाईं आफू, आफ्ना निकटवर्ती या आफ्ना सन्तान त्यसरी फर्कंदा एयरपोर्टमा या बाहिर त्यसैगरी क्यामेराले खेदेका भए कस्तो लाग्थ्यो ? कतिपय परिस्थितिमा आफूलाई उक्त ठाउँमा राखेर हेर्दा धेरै कुरा फरक लाग्छ ।
बाहिरबाट फर्किएपछि उनीहरू परिवारसग बस्न आ-आफ्नो गाउँ जान्छन् कि के गर्छन् ? कहाँ बस्छन्/बसिरहेका छन् ? के गरिरहेका छन् ? उनीहरूसँग आफूलाई चाहिने कानूनी कागजपत्रहरूको अवस्था के छ ? मेक्सिकोमा अहिले यस्तो अवस्था भोगिरहेकाहरूलाई त्यहाँको नागरिक समाजले सहयोग गरिरहेको रहेछ । विभिन्न सामाजिक संघ-संस्थाहरू, विशेषगरी सुरक्षित वैदेशिक रोजगारी र मानसिक, मनोवैज्ञानिक स्वास्थ्यमा काम गरिरहेका संस्थाहरूले भरथेग दिएका रहेछन् । हुण्डुरस, ग्वाटेमाला, अल स्लभाडोरमा हामीकहाँ जस्तै मिडियामा अनुहार देखाइदिने, खिसिटिउरी गर्ने, यिनीहरूसँग अब केही छैन भनेर उनीहरूको आत्मविश्वास खस्काइदिने गरेकाले हिंसा भोग्नुपर्ने स्थिति रहेछ । जसको विरोध राम्रा मन भएका मानिसहरूबाट भइरहेको छ ।
‘डिपोर्ट’ भएकाहरूलाई देखाउने होडबाजी यसरी चलेको छ कि मानिस नभएर अनौठा जीवजन्तु देश भित्रिएका छन् र तिनको बाहिरी रूप फरक-फरक एङ्गलबाट सबैलाई, देखाउनैपर्छ, हेर्नैपर्छ ! अनुहार नदेखाउन पाउने उनीहरूको गोपनीयताको अधिकारलाई न राज्यले संरक्षण गऱ्यो न मिडिया, न त सोसियल मिडिया प्रयोगकर्ताले नै ।
अमेरिकाबाट डिपोर्ट भएर फर्किनेहरूलाई फिलिपिन्समा उनीहरूको आत्मविश्वास खस्किन नदिन विभिन्न प्रयासहरू भइरहेका रहेछन् । सरकारी स्तरबाटै ‘वेलकम सेन्टर’को स्थापना गरिएको छ । सामाजिक संघ-संस्थाहरूले वेलकम सेन्टरसँग मिलेर आवश्यक विभिन्न सहयोग गरिरहेका छन् । ब्यक्तिगतरूपमा पनि मानिसहरूले आर्थिक र भावनात्मक सहयोग गरिरहेका रहेछन् । हामीकहाँ त्यस्तो कुनै संरचना छैन । न सरकारबाट केही भएको छ न त संघ-संस्था र ब्यक्तिगत तवरबाट नै । अहिले अमेरिकाले गऱ्यो, पोर्चुगलको कुरा आइरहेको छ, भोलि अन्य देशले पनि गर्न सक्छन् । त्यसैले हामीले पनि यस्तो परिस्थितिमा देश फर्किनेहरूका लागि के गर्ने भनेर राज्य र नागरिक समाज दुबै स्तरबाट केही गर्नु आवश्यक छ ।
आफ्नै देशमा कामको अवसर सिर्जना गर्नु राज्यको कर्तब्य हो । सबै मिलेर गर्ने हो भने हामीकहाँ गर्न सक्ने ठाउँहरू धेरै छन् । उद्योगहरू धमाधम स्थापना गर्ने हो भने हामीलाई आफ्नो देशको मानवश्रोत बाहिर पठाउनै पर्दैन । अन्य देशमा जस्तै हामी पनि त अब कपडामा, खानामा, आवश्यक हरेक कुरामा आत्मनिर्भर बन्नु पऱ्यो । हामीले लाउने खाने, बिहानदेखि बेलुकासम्मको दिनचर्यामा आवश्यक हरेक कुरा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । ती सबै कुरा आफ्नै देशमा उत्पादन गर्ने वातावरण बनाउने हो भने हामीले न विदेशिनु पर्छ न त ह्युमिलेसन नै भोग्नुपर्छ । राज्य दह्रो नहुँदा नागरिकले विभिन्न देशमा हीनताबोधको जीवन बाँच्नु परिरहेको छ । आफ्नै देशमा रहेकाहरू पनि रोजगारीको अवसर नहुँदा जिन्दगीलाई बोझ झैँ गरी बाँच्नुपर्ने अवस्थामा छन् । वैदेशिक रोजगार जीवन र परिवार धान्ने प्रमुख उपाय झैँ बन्दै गएको परिस्थितिमा बाहिरबाट विभिन्न कारणले डिपोर्ट भएकाहरूलाई राज्य र नागरिक समाज दुवैले हिम्मत दिन जरुरी छ । उनीहरूले नचाहँदा नचाहँदै जबर्जस्ती फोटो र भिडियो खिच्ने काममा पनि राज्यले बन्देज लाउनुपर्छ ।
प्रतिक्रिया