अब कुन पथ आउला !?

अब कुन पथ आउला !?


मेरो घर भएको बाटोलाई ‘महेन्द्र पथ’ भनिन्थ्यो । यहाँका घरैपिच्छे महेन्द्रपथ लेखिएका हुन्थे । तर, अचेल यहाँ रहने अधिकांशले महेन्द्रपथलाई बिर्से । बिर्सनेले महेन्द्रपथको बायाँचौक र दायाँचौकको नाम जोडेर आफ्नो टोलको नाम बताउँछन् । महेन्द्र पथ भन्न र लेख्न अप्ठ्यारो मान्छन् । एक्का-दुक्का बाहेक ‘महेन्द्रपथ’ लेखिएका साइनबोर्ड महेन्द्रपथमा बिरलै भेटिन्छन् । यो कुरो बागलुङ बजारको हो !

हिँड्ने बाटोलाई ‘पथ’ भनिने रहेछ भनेर यही महेन्द्रपथ पढेर बुझियो । मान्छे हिँड्ने बाटोलाई महेन्द्र पथ भनेजस्तै आस्था र विचार हिँड्ने बाटोलाई पनि पथ नै भनिन्छ भन्ने अल्लि पछि बुझियो । प्रचण्ड पथ भन्नेले यो कुरा सिकायो । अर्थात्, नेतृत्वले निर्माण गरेको आदर्श र विचारलाई अनुशरण गर्दै समाजमा जे-जसो गरिन्छ त्यो पनि ‘पथ’ हुँदोरहेछ भन्ने बुझियो । राजा महेन्द्र विकासप्रेमी दूरद्रष्टा राजा रहेछन् । उनकै दर्शनमा राजा महेन्द्रले देशलाई महेन्द्रपथमा डोऱ्याएका रहेछन् । ०५२ सालमा देश प्रचण्डपथले लताऱ्यो । यी पथहरूले आ-आफ्नो समय र बाटोमा नेतृत्वलाई डोऱ्याउँदा राष्ट्रमा के-के राम्रो योगदान भयो र के–के विनाश वा हानी भयो भन्ने कुरा इतिहासका पाना पल्टाउँदा सबै छर्लङ्ग हुनेछ ।

महेन्द्रपथले दशवर्षे अवधिमा देशनिर्माणको महत्वपुर्ण कार्यको थालनी गरेको थियो । यसबीचमा देशैभरी दर्जनौं कलकारखाना, उद्योग, राजमार्ग, बाटो-घाटो, स्कुल-कलेज, अस्पताल लगायत अनेकानेक खुले । तर उहि दशवर्षे अवधिमा प्रचण्डपथले देशमा ध्वंश, हिंसा, विनाश र विस्थापन मात्र गऱ्यो । गाउँ-ठाउँमा केही संख्यामा शहीदगेट बनाउनु बाहेक अन्य कुनै निर्माणका काम प्रचण्डपथबाट भएको पाइएन । बरु उल्टै प्रचण्डपथको नेतृत्वतह भ्रष्टाचारको दलदलमा भासिन पुग्दा त्यो पथ नै दयनीय अवस्थामा पुगेको यतिबेला देखिन्छ । यो थियो महेन्द्रपथ र प्रचण्डपथको भिन्नता !

केही समय वीरेन्द्रपथले पनि ठाउँ पायो, तर वीरेन्द्रपथको उदार र उद्दात्त स्वभावले गर्दा वीरेन्द्रपथमा धेरै छिद्रहरू देखापरे । भनिन्छ, यिनै छिद्रहरूबाट छिरेर काल आयो र वीरेन्द्रपथको नामोनिशान बाँकी नराखिकन आफैंले लिएर गयो । समयअगावै धेरै उदार र विद्वान हुनु पनि घातक सिद्ध हुन्छ भन्थे, त्यही भयो वीरेन्द्र पथमा ! संक्षिप्तमा भन्दा वीरेन्द्रपथ यत्ति नै हो ।

हाल आएर भाउजुपथ र झोलेपथले बजार तताएको छ । चियापसल र चोकतिर यिनकै कुराको चकचकी छ । चौतारीमा बाघ-बाख्राको गोटी खेल्न छोडेर बुढापाका झोले र भाउजुका कुरा गरेर दिन बिताउँछन् । यी नवीन पथका रचनाकार देखेर सारा नेपालीहरू हाँसो मजाकमा दिन गुजार्न थालेका छन् ।

एकदिन सबैको पालो आउँछ आत्तिनु हुँदैन भन्थे, हो रै’छ ! अहिले झोलाको दिन आएको छ । अर्थात् देशमा झोलेपथले ठुलै चर्चा पाएको छ । हाम्रो जमानामा कुइरेहरूले नेपाल घुम्न आउँदा रुकसाइट झोला भिरेको देखेर रहर लाग्थ्यो र भनिन्थ्यो- त्यस्तै भिर्न पाए… ! तर, रहर गरेर मात्र कहाँ हुन्छ ? देखेर मात्र कहाँ पाइन्छ ? लेखेको पाइन्छ भनिन्थ्यो ! अर्थात्, सानो छँदा रुकसाइट त के झोला मात्र पनि पाउनै मुस्किल थियो ।

स्कुल जाँदा हातमा किताब-कापी समाउनु पर्थ्यो । हातका पसिनाले किताब-कापी चाँडै फाट्थे । किताब-कापी चोरी हुन्थे । बा-आमाले झोला किनिदिए नै भने झोलामा किताब-कापी भिरेर स्कुल जानुको मजा नै अर्कै हुन्थ्यो । कापी-कलम-किताब सुरक्षित र टिकाउ हुन्थे । हामीले भिर्ने झोलामा साँच्चिकै सरस्वतीको बास हुन्छ भनिन्थ्यो । जतनका साथ सरस्वतीलाई नै झोलामा बोकेर हिँड्थ्यौँ । त्यतिबेलाका समाजसेवीले पनि झोला भिर्थे । झोला भिर्नेहरूले झोला मात्रै होइन, ज्ञान विवेक मर्म धर्म पनि झोलामा सँगसँगै भिरेर हिँड्थे । आफ्नो भन्दा अरुको भलो चिताउँथे । बाटोमा झोला भिरेको झोले मान्छे देख्दा उनीहरू जनसेवक जस्ता ज्ञानी लाग्थे । ती ज्ञानीहरूलाई देख्दा आफ्सेआफ श्रद्धाले शीर पतक्क नुग्थ्यो । झुक्थ्यो ।

तर अचेल … …? झोला भिर्नेहरू बेइमान अधर्मी र पापीहरू मात्र देखिन्छन् । झोलामा किताब-कापी नभइ अपराधको तानाबाना बस्छन् । सरस्वती होइन डाकिनी डंकिनी बस्छन् । भ्रष्टाचार र जालझेलका पोका बस्छन् । झोलाहरू असल मान्छेको काँधमा झुण्डिदैनन्, तस्कर र बिचौलियाका महँगा बातानुकुलित गाडीभित्र सुकला हुन्छन् । झोलाहरू स्कुल पनि जाँदैनन् र झोलाहरूले गुरुहरू पनि भेट्दैनन् । स्कुलको सट्टा झोलाहरू ठुल्ठुला रिसोर्ट र होटलहरूमा जान्छन् । रिसोर्टमा विराजित होलिवाइनले सिञ्चित सरहरूको मस्तिष्कले जालझेल र षडयन्त्रका सेमिनारहरू चलाउँछन् । सेमिनारको समापनपछि हात-हातमा प्रमाणपत्र थमाउँछन् । यिनै सेमिनारमा पठित सहभागी झोलाहरू राज्य सञ्चालनमा योग्य मानिन्छन् । यी झोलाहरू सिंहदरबार, बालुवाटार, बानेश्वरको संसद् भवन र ‘न्या-निसाफ गृह’ तथा राज्यका संवैधानिक निकायमा विराजमान हुन्छन् । त्यतिमात्र नभइ जिल्ला, नगर र वडा-वडामा यी झोलाहरूको जगजगी उत्तिकै छ । सेमिनारबाट अनुमोदित प्रमाणपत्रधारी झोलाहरूबाट देश र जनताको हितभन्दा सरहरूका आदेश पालना हुनु स्वभाविकै हो ।

अनि ख्वै त भाउजुपथ ? त्यो पनि गज्जबकै पथ छ ! देवर-जेठाजुले भाउजुपथ नबुझेर ‘भाउजुपथ हेर्दाहेर्दै एकल भइन्’ भन्नुपर्ने अवस्थामा पुगेको छ । कहिले झोलापथसँग लहसिने कहिले प्रचण्डपथसँग लहसिँदा भाउजुपथ पथभ्रष्ट भइ गन्हाएर दुर्गन्ध फैलिएको उहिल्यै हो । भाउजुपथको सम्बन्ध दुई पथसँग मात्रै सीमित रहेन । भाउजुपथले दैनिक पचास लाख कमाउने एअरपोर्टको हाकिम खोज्छ । टेरामक्स जस्तो हेण्डसम खेलाडीमा आँखा लगाउँछ । अझ भनौँ भाउजुपथ रत्नपार्कमा देखिने नगरबधु भएको छ । भाउजुपथका देवर-जेठाजु रत्नपार्क हुँदै ओहोरदोहोर गर्छन् । भाउजुपथ नगरबधु बनेर कहिले यता कहिले उता गरेर देखाउने चर्तिकलाले देवर-जेठाजु रनाहा पर्छन् । यो देखेर देवर-जेठाजुहरू नयाँ रणनीतिमा लागेको सुनिन्छ ।

भाउज्यु पथका देवर जेठाजुहरू नेपाली उखान परिवर्तन गर्न यतिखेर प्रज्ञा प्रतिष्ठानतिर भौँतारिन थालेका छन् रे भन्ने निक्कै सुनिन्छ । ‘दाजुलाई सक्दिनँ भाउजुलाई राख्दिनँ’ भन्ने पुरानो नेपाली उखान परिवर्तन गरेर ‘भाउजुलाई सक्दिनँ दाइलाई राख्दिनँ’ भन्ने उखान चल्तीमा ल्याउन प्रतिष्ठानका उपकुलपतिलाई रातदिन आग्रह गरिरहेका छन् रे । तर, जोइल गएका दाइको कुरा बुझिदिने यो संसारमा कोही छ’र, जुलिया बाहेक ! दृश्यमा देखिएका नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर जग्गा प्रकरण र पछिल्लो भिजिट भिसा प्रकरणबाहेक अन्य ठुल्ठुला काण्डहरूलाई यही भाउजुपथले खर्लप्पै निलेको देखेर दुनियाँ चकित भएको छ । अब मुल्याङ्कन गरौँ देशका लागि कुन पथले कस्तो काम गऱ्यो ? अवश्य पनि देश यतिखेर भयङ्कर ठूलो भुमरीमा फसेको सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले देशले ब्यहोरेको यस्तो कठिन अवस्थाबाट पार पाउन जनता जनार्दन एकपल्ट जुरुक्क उठ्न र जुट्नु अनिवार्य बनेको छ । जनता जागे पक्कै पनि भुमरीमा परेको देशले त्राण पाउने थियो ।

अन्तमा, देशले विभिन्न कालखण्डमा थरि-थरिका पथ लिएर आयो । तर, जे राम्रा थिए ती पथहरू हाम्रा हुन सकेनन् । र, जे गलत थिए उनै हाम्रा भए । संधै गलत पथको शिकार नेपाल र नेपालीहरू भइरहे । गलत पथकै कारण आज नेपालको राजनैतिक इतिहासकै भयंकर पथभ्रष्टताबाट हामी नेपालीहरू गुज्रिन बाध्य छौँ । यस्तो अतुलनीय भ्रष्टपथ यसअघि नेपालीले कहिल्यै देखेनन् । यस समस्याको समाधान कसरी हुने होला ? दिनदिनैका डरलाग्दा भ्रष्टाचार कति हेर्ने हो नेपालीले ? जो चोर उसैको ठूलो स्वर कहिलेसम्म सुन्ने हो ? भोलिका दिनमा ठग र चोरहरूलाई ठेगान लगाउन को आउला ? तर झोलेपथ र भाउजुपथका विचार र आस्थाले देश ध्वस्त बनाएको बेला अन्य देशभक्त तथा राष्ट्रप्रेमी आस्था र विचार बोक्नेहरूमा भने कतैबाट देशमा कुनै नौलो पथको उदय होला कि भन्ने दृढ विश्वास भने गुमाएका छैनन् ।