दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित नेपाल प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौं महानगरपालिका-२२ प्यूखा कृष्णचोकस्थितमा भारत कोलकाताका ४३ वर्षीय हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी तथा हीराका गरगहना बिक्री वितरण गरिरहेको सूचनाका आधारमा खोजतलासमा निस्किएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुसहित प्रहरीले बुधबार (२८ जेठ) घटना विवरण सार्वजनिक गरेको छ ।
उक्त अनुसन्धानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट प्रहरी टोली खटिएका थिए । सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा फेला परेका बिल भरपाई बिनाका रु दुई करोड एक लाख ७८ हजार ३६० रुपैयाँ बराबरको सुन, हीरा तथा पत्थरका गरगहना फेला पारी बरामद गरिएको बोहराले बताएका छन् ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया