उनी बदलँदो ऋतु चक्र, ग्लोबल वार्मिङ र पर्यावरण प्रदुषणबाट चराचर जगतलाई पुग्नसक्ने हानी र त्यसका दूरगामी परिणामहरु बारे बढ्ता चिन्तित छन् । सन् २०४० पछि पूरा विश्वमा ऋतुचक्रको परिवर्तन र ग्लोबल वार्मिङका कारण अन्न उत्पादनमा आउन सक्ने ह्रासको भरपाइका निम्ति प्रकृतिमा आज उपलब्ध खान हुने तरुल-कन्दमुलहरुको संरक्षणका निम्ति वैज्ञानिकहरुको ध्यानाकर्षणमा उनी चिन्ता गरिरहेका छन् ।
✍ एम एन दहाल

सिक्किमका पुर्व मुख्यमन्त्री पवन चामलिङका विचारहरु कालजयी हुन् भन्नु अत्युक्ति हुन्न । आधुनिक युगको यो कालखण्डमा लोकतन्त्रले केवल संसदीय राजनीतिलाई मात्र महत्व दिइरहेको समयमा वैचारिक राजनीतिलाई लिएर समाजमा टिक्न निकै कठिन हुन्छ । समाजमा टिक्न कठिन हुन्छ भन्दा कुरा विवादित हुनसक्छ तर मानव समाज जसरी आज दौलत र सुविधाको होडमा छ अनि समाजको त्यस कमजोरीबाट कर्पोरेट जगतले जसरी फायदा उठाइरहेको छ त्यसको विश्लेषण गर्ने हो भने अहिलेका नेताहरु र कर्पोरेट जगतको माफियागिरीले अघिल्ला केही वर्षहरुमा मानव समाजलाई लाचार र दुर्बल बनाउन सक्नेछ। पवन चामलिङले विचार अनि राजनीतिलाई जोडेर हेरे अथवा राजनीति दर्शनमा आधारित हुनुपर्छ भन्ने कुरालाई आफ्नो राजनीतिको आधार बनाए । उनले एउटा कुरा के स्थापित गरे भने विचार र राजनीति यान्त्रिक हुँदैनन् बरु समय सँगसँगे गतिशील हुन्छन् । त्यसर्थ उनको राजनैतिक धारलाई प्रगतिशील धार मान्न सकिन्छ ।
हरेक कालखण्ड र भूखण्डमा परिस्थिति अलग-अलग हुनसक्छ । ती परिस्थितिहरुको अध्ययन नगरी पैसा र प्रलोभनको राजनीतिले अहिले केवल भारत होइन तर विश्वका विकसित भनिएका देशहरुका जनतासमेत पीडा भोगिरहेका छन् । समयावधिको हिसाबले हेर्ने हो भने विश्वकै ‘हेप्पीनेस इन्डेक्स’ अधोगतितिर छ । यस अवस्थामा चामलिङले मानव समाजमात्र होइन चराचर जगत र पृथ्वीको संरक्षित भविष्यका निम्ति पनि एक नवीन विचार समाजलाई दिने चेष्टा गरे । उनले भने कि राजनीतिले केवल मानव सुविधाका विकासहरु मात्र हेरर हुन्न, राजनीति यो दुनियाँको मानव, पशुप्राणी समेत सुक्ष्मतम् जीवाणु र झार जंगल समेतको रक्षाका निम्ति समर्पित हुनुपर्छ । यो उनको वैचारिक मान्यता हो । यस मान्यतालाई अनुयायीहरुले शुरुमा पवनवाद भन्ने गरेका हुन् । नेपाली समाजको मानसिकता बजारको सिंगडा मिठो मान्ने हो त्यसर्थ उनीद्वारा शासित प्रदेश सिक्किमका बुद्धजीवीहरुले उनको नामसित जोडिएको त्यो नवीन राजनैतिक सोचलाई महत्व दिएनन् । अहिले हामी उनको यस राजनैतिक दर्शनलाई जीवनवादी प्रजातान्त्रिक सामजवादको रुपमा जान्दछौं ।
पवन चामलिङका राजनैतिक विचारहरुको समालोचना गर्नु हो भने केही ठेली किताब बन्न सक्छन् । अहिलेको भौतिकवादी समाजमा यस्ता विचार पढेर राजनीति गर्ने कोहि होला भन्न सकिन्न । माओवाद, लेनिनवाद वा मार्क्सवाद वा गुरु गोल्वालकर र पण्डित दीनदयालका विचारहरु झैं दक्षिणपन्थी विचारहरुका आधारमा राजनीति गरिरहेका अहिलेका नेता र पार्टी संगठनहरुको व्यवहारिक राजनीति र वैचारिक राजनीतिमा देखिएको अन्तरबाट राजनीतिले लोकतन्त्रको हुर्मत लिएको हो भन्ने लाग्छ ।
पवन चामलिङ स्वयं कवि, गितकार र समाज चिन्तक हुन् । उनले आफ्ना पार्टीका अनुयायी र समर्थकहरुलाई साहित्य, संगीत र संस्कृतिको अन्तर्सम्बन्ध नभए लोकतन्त्र निर्जिव हुन्छ भन्ने बुझाउन पनि प्रयास गरेका हुन् । उनले भारतकै निकै ठुलो मानिने प्रकाशन निर्माण प्रकाशनको स्थापना गरि विश्वमा चर्चित नेपाली कृतिहरुको प्रकाशनसमेत विभिन्न अन्तर्राष्ट्रिय कृतिहरुको प्रकाशन गरि जनतामा विचारको महत्व प्रचार गर्ने कोसिस गरेका हुन् । सिक्किमको समाज उनको शासनकालमा सम्पन्न बन्दै गएको हुनाले विचार भन्दा रुपयाँको चाह राख्ने प्रवृतिको विकास भयो । उनलाई जनताले सत्ताबाट हटाउनाका पछिल्तिर अनेक कारण छन् जसमध्ये समाजको बौद्धिक शक्तिको मौनता पनि एउटा हो । उनकै शासनकालमा पनि समालोचना, आलोचना वा विमर्शप्रधान साहित्यको विकास नहुनु भनेको सामजको भिरु मानसिक्ता नै हो ।
सिक्किम विश्वको मानचित्रमा सानो प्राशासनिक क्षेत्रको रुपमा पनि चिनिन्छ । यहाँको राजनीतिमा सरकारी कर्मचारीको मनोभाव महत्वपुर्ण हुन्छ । हर घरमा कर्मचारी हुनाले यहाँ जति उदार लोकतन्त्र भए पनि नियन्त्रित नै हुन्छ । नियन्त्रित लोकतन्त्रमा एकातिर क्रान्तिकारी परिवर्तनको अभाव हुन्छ भने सामुहिक निर्णयको कुनै महत्व हुँदैन ।
इतिहासमा के देखिएको छ भने जुन राष्ट्र वा राज्यको बौद्धिक समाज भिरु हुन्छ त्यस समाजको भावी पिँढीले नपाउने दुःख पाउन सक्छ । चामलिङको राजनैतिक सोचअनुसार केवल नेतृत्व होइन बरु जनताको चेतनाले मात्र देश वा राज्यको कल्याण संभव हुन सक्छ । जनतामा चेतनाको सुस्त गति उनको चुनावी पराजयको अर्को कारण हो । वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ उनकै ‘स्कुल अफ थट’ बाट राजनीतिमा आएका हुन् । उनमाथि चामलिङका विचारको प्रभाव रहेपनि पाचास वर्षको राज्य महोत्सवका अवसरमा दिल्लीमा इण्डिया टुडे ग्रुपद्वारा आयोजित कन्क्लेभमा भने उनले राज्यको आर्थिक भविष्य समेत भावी पिँढीको निम्ति मार्गचित्र दिन सकेनन् । त्यस कन्क्लेभमा वरिष्ठ मन्त्री, विधानसभा अध्यक्ष, नोकरशाहहरुले भाग लिएका थिए । त्यस कन्क्लेभमा चामलिङको जैविक नीति, पर्यटन नीति, पर्यावरण नीति आदिको व्यापक चर्चा भएको हो । शिक्षामा प्राइभेट युनिभर्सिटीको स्थापनाबारे चर्चा हुँदा सिक्किमको सार्वजनिक शिक्षा क्षेत्र गौण रहेको आभास भएको थियो ।
चामलिङ राजनीतिमा क्रान्तिको महत्वलाई जोड दिन्छन् । उनी क्रान्तिलाई जनताद्वारा गरिनु पर्ने महान् जनकार्य मान्छन् । उनले क्रान्ति शब्द, अर्थ र व्यवहारको अन्धानुकरणबाट होइन तर देश र विश्वको परिस्थितिअनुरुप बुझ्न र बुझाउन चाहन्छन् । उनको पर्यावरण र राजनीतिको अन्तर्सम्बन्धमाथिको विचार पवित्र क्रान्तिलाई लिएर चर्चामा आएको पवित्र क्रान्तिको अवधारणालाई नेपाली जगतका महान् प्रगतिवादी चिन्तक मोदनाथ प्रश्रितले चामलिङलाई ‘स्कुल अफ थट’सम्म भनेका भए पनि सिक्किममा उनका मान्त्रिमण्डलका मित्रहरु समेत विधायक र अनुयायीहरु ती विचारहरुमाथि गम्भीर हुन सकेनन् । यसरी सिक्किमको राजनीतिमा उदाएको क्रान्तिको एक नयाँ परिभाषा र सोच महत्वहीन बन्न पुग्यो ।
चामलिङले क्रान्तिलाई स्थिर हो भनेनन् बरु देश काल र परिस्थितिअनुरुप परिवर्तित भइरहने एक शाश्वत प्रकृयाको रुपमा बुझाउने प्रयास गरेका हुन् । उनले आफ्नो सत्ता परिवर्तनलाई पनि आशवादी भएर नै हेरेका हुन् तर परिवर्तन अत्याधिक प्रलोभनमा आधारित भएर आएको हुनाले वैचारिक राजनीति गौण रहेको छ । सिक्किम विश्वको मानचित्रमा सानो प्राशासनिक क्षेत्रको रुपमा पनि चिनिन्छ । यहाँको राजनीतिमा सरकारी कर्मचारीको मनोभाव महत्वपुर्ण हुन्छ । हर घरमा कर्मचारी हुनाले यहाँ जति उदार लोकतन्त्र भए पनि नियन्त्रित नै हुन्छ । यसरी नियन्त्रित लोकतन्त्रमा एकातिर क्रान्तिकारी परिवर्तनको अभाव हुन्छ भने सामुहिक निर्णयको कुनै महत्व हुँदैन ।
आजको मितिमा चामलिङको चिन्ता चुनाव हार्ने वा जित्ने होइन । उनी बदलिँदो ऋतु चक्र, ग्लोबल वार्मिङ र पर्यावरण प्रदुषणबाट चराचर जगतलाई पुग्नसक्ने हानी र त्यसका दूरगामी परिणामहरु बारे बढ्ता चिन्तित छन् । सन् २०४० पछि पूरा विश्वमा ऋतुचक्रको परिवर्तन र ग्लोबल वार्मिङका कारण अन्न उत्पादनमा आउन सक्ने ह्रासको भरपाइका निम्ति प्रकृतिमा आज उपलब्ध खान हुने तरुल-कन्दमुलहरुको संरक्षणका निम्ति वैज्ञानिकहरुको ध्यानाकर्षणमा उनी चिन्ता गरिरहेका छन् । अनेक प्रकारका जीव-जन्तु र उद्भिद मासिएर जानु मानव सभ्यतासमेत पृथ्वीलाई पनि खतरा हुनाले उनी राजनीति केवल मानव सभ्यताको विकासका निम्ति मात्र होइन तर समग्रमा अब राजनीति पर्यावरणको आदिकालको पुनरावृत्ति (Revisit) को दिशामा दृढतापुर्वक लडिने क्रान्तिको रुप हुनुपर्छ भन्ने विचार राख्दछन् ।
प्रतिक्रिया