वन कार्यालयको ‘एक्सन’पछि खयर तस्करका आरोपित फरार

वन कार्यालयको ‘एक्सन’पछि खयर तस्करका आरोपित फरार


  • गणेश केसी, उदयपुर

उदयपुरमा खयरका रुख कटान गरी व्यापक तस्करी भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नं. १० अन्तर्गत पाल्सिङ्ग भन्ने ठाउँमा खयरको रुख अवैधरूपमा कटान गरी व्यापक तस्करी भएको हो । तस्करहरूले खयरको रुख काटेर लगेपछि घना वन रहेको उक्त क्षेत्रको वनमा यतिबेला खयरका ठुटामात्र रहेका छन् ।

खयर तस्करीमा स्थानीयसमेत गरी दुई दर्जन बढीको संलग्नता रहेको अनुमान लगाइएको छ । खयर तस्करीमा संलग्न भएको आरोपमा स्थानीय तीन जनाविरुद्ध डिभिजन वन कार्यालय त्रिवेणीमा उजुरी दिइएको छ । स्थानीय गणेशबहादुर राउतले उक्त मुद्दा हालेका हुन् ।

खयरका रुख काटिएको ठुटा, खयर ढुवानी हुँदै गरेको गाडी र गाडी नम्बरसहित उल्लेख गरेर दिइएको उजुरीमा स्थानीय निरज थापा, काजीबहादुर राउत र रामकृष्ण राउतको नाम उल्लेख छ । त्यसैगरी तस्करीका खयर ढुवानीमा प्रयोग गरिएको गाडी बा२०च ७२६१ नम्बरको रहेको उल्लेख छ ।

खयरको रुख तस्करीका मूख्य नाइके भीम मगर भएको मुद्दा हाल्ने गणेश बहादुर राउतले दाबी गरे । खयरको रुख तस्करीको विषयलाई लिएर मगरले गणेशबहादुर राउतलाई ज्यान मार्ने धम्की समेत दिएको बताए । ‘नयाँ–नयाँ नम्बरबाट थप फोनहरु आइरहेको छ’, गणेश राउतले भने– ‘ज्यान मार्ने धम्की आएसँगै थप नयाँ नम्बरहरुबाट फोन आइरहेको संभवत तिनै तस्करहरूको हुनसक्छ ।’

कुनै पनि निकायबाट स्वीकृति नलिइ अवैधानिक तथा गैरकानुनी किसिमले खयरका रुख काटेर तस्करी गरिएको निवदेनमा जनाइएको छ । त्यस्तै, के–कति खयर काटिएको हो, स्थलगत हेरी तस्करीमा संलग्नहरूलाई प्रचलित ऐनबमोजिम कारवाहीको माग गर्दै वनको सुरक्षा गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय त्रिवेणीका वन अधिकृत अरविन्द पाण्डेले खयरका रुख तस्करी भएको स्वीकार गर्दै भने– ‘हामीले वनमा गएर स्थलगत अवलोकन गर्दा खयरका रुख तस्करी भएको छ, मुचुल्का उठाइसकिएको र आरोपितहरुलाई पक्राउ पुर्जी जारी गरिसकिएको छ ।’

संलग्नहरुलाई आवश्यक छानविन गरी कारवाही गरिने अधिकृत पाण्डेले बताए । तथापि, निवेदनमा उल्लेख भएका आरोपीहरु फरार रहेको पनि पाण्डेले जानकारी दिए ।

यहाँबाट तस्करी भएको खयर भारततर्फ विक्री वितरणको लागि लैजाने गरेको बताइन्छ । बहुउपयोगी खयरमा औषधीय गुण हुन्छ । महँगोमा बिक्री हुने खयरबाट बहुमूल्य औषधी, फरफ्यूमलगायतका बस्तुहरु बनाउने गरिन्छ । यसलाई चियापत्तीका रुपमा प्रयोग गरिनुका साथै घरेलु मदिरामा समेत यसको उपयोग गरिन्छ ।