दुम्किवासमा ‘डाइभर्सन’ बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दुम्किवासमा ‘डाइभर्सन’ बग्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ ।

आज (२९ जेठ) बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन् । बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था नभएको उनको भनाइ छ ।

डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।

यसैबीच बुटवल-नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले नयाँ पुल ढलान भएको र असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन् ।