नेपाली अनुसन्धानकर्तालाई अन्टार्कटिकाको अनुसन्धानमा सफलता

नेपाली अनुसन्धानकर्तालाई अन्टार्कटिकाको अनुसन्धानमा सफलता


अर्घाखाँचीको सन्धिखर्क वार्ड नम्बर २, भलाएडाँडा निवासी बुद्धिजीवी रामचन्द्र पोख्रेल तथा चित्रकला पोख्रेलका छोरा डक्टर अम्बरिश पोख्रेलले जापानिज प्रोफेसरहरुसँग मिलेर आफू प्रथम अनुसन्धानकर्ता रही हालै मात्र अन्टार्कटिकाको करिब चार सय वर्षसम्मको पुरानो हिउँको विश्लेषण गरी उक्त समयको वातावरणको अनुसन्धान गरी विश्वको ठूलोमध्येकै एक ‘अमेरिकन केमिकल सोसाइटी’द्वारा प्रकाशन हुने वैज्ञानिक पत्रिका ‘अर्थ एण्ड स्पेस केमेस्ट्री’मार्फत उनको अनुसन्धान यही जेष्ठ १९ गते प्रकाशन भएको छ ।

डक्टर पोख्रेलका अनुसार, कम्तीमा पनि यो काम नेपालबाट उनी र अर्को एक युवा वैज्ञानिक डक्टर भगवती कुँवर (सहपाठी) नै पहिलो वैज्ञानिकहरु हुन्, जसले यो क्षेत्रमा अन्टार्कटिकाको पहिलो प्रमाणित अनुसन्धान गरेका छन् ।

उनले भनेका छन्, नेपाली नागरिकता तथा नेपाली पासपोर्टधारीले गरेको प्रथम अनुसन्धान हो, अन्टार्कटिका निम्ति नेपालबाट पहिलोपटक । थप उनले भनेका छन्, मैले वा हामीले जुन कुरालाई लिएर अनुसन्धान गरेको छौँ, त्यो फेरि विश्वको लागि नै नयाँ विषय हो अन्टार्कटिकाको नयाँ जानकारीको निम्ति । अर्थात्, विश्वका सबैको लागि पनि त्यो एउटा नजिर स्थापित भएको छ, जबसम्म अरूले त्यही कुरामा थप अनुसन्धान गरेर नयाँ जानकारी निकाल्न नसकेसम्म ।

चाखलाग्दो कुरा के छ भने उनले रसियाको साइबेरियन करिब चारसय वर्षकै पुरानोसम्मको हिउँको पनि अनुसन्धान गरी केही महिना अगाडि आफ्नो अनुसन्धान अमेरिकन वैज्ञानिक पत्रिकाबाट (जर्नल) नै प्रकाशित गरिसकेका छन् । उनी जल तथा मौसम वा वातावरणनिय केमेस्ट्रीका विज्ञ मात्र होइनन्, स्वतन्त्र प्रकारको राजनीति विश्लेषणमुलक लेख, साहित्यिक रचनाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकाहरूमा समेत प्रकाशन गर्ने गर्छन् ।

अनुसन्धानमा चासो राख्नुहुने पाठकहरूले यो लिंकमा क्लिक गरेर अन्टार्कटिकाको वातावरणको बारेमा उनले गरेको अनुसन्धान पढ्न सकिन्छ।