भारतको तटरक्षक बलले ‘सम्भावित पारिस्थितिक विपत्ति’ रोक्नका लागि दक्षिणी तटबाट ‘खतरनाक’ कार्गो बोकेको कन्टेनर जहाजमा लागेको आगो निभाउन सङ्घर्ष गरिरहेको बताएको छ ।
चालक दलका २२ सदस्य बोकेको दुई सय ६८ मिटर (आठ सय ७९ फिट) लामो सिङ्गापुर झण्डाको कन्टेनर जहाज एमभी वान हाई ५०३ मा आगो लागेको छ । तीमध्ये चार जना बेपत्ता छन् । यो जहाजमा सोमबार भारतको बेयपोर बन्दरगाहबाट लगभग ७८ समुद्री माइल टाढा आगो लागेको थियो ।
आगो लागेको केही समयपछि तटरक्षक बलले सार्वजनिक गरेका तस्बिरहरूले कुनै शक्तिशाली विस्फोटनले फ्याँकेको जस्तो जहाजभरि भारी कन्टेनरहरू छरिएका देखाएको छ । त्यसबेलादेखि जहाजमा आगो लागेको छ ।
‘यो जहाजमा दुई हजार एक सय २८ मेट्रिक टन इन्धन र खतरनाक कार्गोसहित सयौँ कन्टेनर छन्, जसले समुद्री वातावरण र क्षेत्रीय पोत परिवहन मार्गहरूलाई गम्भीर जोखिम पारेको छ’, तटरक्षक बलले बुधबार राति एक विज्ञप्तिमा भनेको छ ।
तटरक्षक बलले कार्गोको सामग्रीको बारेमा थप विवरण दिएको छैन, तर भनेको छ, ‘अवस्था गम्भीर रहेको छ ।’
भारतीय तटरक्षक बल र नौसेनाले अठार चालक दलका सदस्यलाई उद्धार गरेको छ । एक इन्डोनेसियाली, दुई ताइवानी र एक म्यान्मारीसहित चालक दलका चार सदस्य बेपत्ता भएको सूचीमा छन् ।
तटरक्षक बलले जलिरहेको जहाजमा ‘उद्धार टोलीका पाँच सदस्य’ र एक गोताखोरलाई राखेको बताएको छ ।
‘आगो पूर्णरूपमा निभ्न बाँकी रहेको अवस्थामा सम्भावित पारिस्थितिक विपत्ति रोक्न जहाजलाई तटबाट टाढा तान्नका लागि डोरी बाँध्ने प्रयासहरू जारी छ । तथापि, भित्री डेकहरू र इन्धन ट्याङ्कहरू नजिक आगो अझै सक्रिय छ ।’
आगो निभाउने प्रयासमा पाँचवटा तटरक्षक जहाजका साथै हवाईजहाज र एउटा हेलिकप्टरसहित सातवटा जहाज संलग्न छन् ।
एमभी वान हाई ५०३ कन्टेनर जहाज भारतको दक्षिणी तटमा केही हप्ताभित्रै सङ्कटमा परेको दोस्रो जहाज हो ।
खतरनाक सामान बोकेको लाइबेरियाको झण्डा बोकेको कन्टेनर जहाज गत महिनाको अन्त्यतिर केरलाको तटमा डुबेको थियो । भारतीय नौसेनाले सबै २४ जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो ।
प्रतिक्रिया