१६बुँदे निर्णय गर्दै प्रवासी नेपाली मञ्च युरोपको दोश्रो युरोपियन बैठक सम्पन्न

१६बुँदे निर्णय गर्दै प्रवासी नेपाली मञ्च युरोपको दोश्रो युरोपियन बैठक सम्पन्न


प्रवासी नेपाली मञ्च युरोपको दोस्रो बिस्तारित बैठक १६बुँदे निर्णय गर्दै बेल्जियमको एन्तवेरपेन शहरमा सम्पन्न भएको छ । दुई दिन (जुन ८ र ९) चलेको बैठकमा युरोप महादेशका २० देशहरुबाट १५० जना नेकपा एमालेसम्बद्ध प्रवासी नेपाली मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च युरोप-अमेरिका इञ्चार्ज घनश्याम पाण्डेको प्रमुख आतिथ्यता र ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा लगायत नेताहरु विशेष अतिथि रहेको सो बैठकले प्रवासको नेपाली समुदायको हित र देशहितमा गर्नु पर्ने कार्ययोजना तयार गरेको छ।

बैठकमा ओएनएफ अन्तराष्ट्रिय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, सचिवालय सदस्य तथा युरोप इञ्चार्ज भक्त वाग्लेसमेतको विषेश उपस्थिति रहेको थियो ।

युरोप महादेश संयोजक मुक्तबहादुर गरुङको अध्यक्षता र सचिव शालिकराम थपलियाले संचालन गर्नु भएको बैठकले बर्तमान अवस्थामा युरोपका नेपालीहरुका आवश्यकता, उनीहरुमार्फत पार्टी र देश हितमा गर्न सकिने कामका बारेमा छलफल गरी १६बुँदे निर्णय लिएको हो ।

बैठकले नेपालीहरुको जनघनत्व बढी रहेका देशहरु जस्तै पोल्याण्ड, साइप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा कुटनैतिक नियोग स्थापनाका लागि नेपाल सरकारसंग विशेष आग्रह गरेको छ ।

बंशजको नगारिकता बाहक नेपालीहरु जो हाल विविध कारणले प्रवासमा छन् उनुहरुको नेपाली नागरिकता निरन्तरताका लागि जोडदार माग गरेको छ । बैठकले संविधान प्रदत्त तथा सम्मानित सर्वोच्च अदालतबाट समेत निर्देशन भएअनुसार प्रवासबाट मतदान गर्ने अधिकारलाई व्यवस्थित गरी प्रवासीहरुलाई आफ्नो मतदानको अधिकार प्रदान गर्नको लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

१६बुँदे निर्णयमा लामो समयदेखि युरोपियन मुलुकहरूमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपाली वायु सेवा निगममाथि लगाएको प्रतिबन्धलाई फुकाउन आवश्यक कुटनैतिक पहलका लागि नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ।

बैठकमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, सचिवालय सदस्य तथा युरोप इञ्चार्ज भक्त वाग्ले विशेष अतिथिका रुपमा सहभागी हुनुभएको थियो । यसैगरी अन्तर्राष्ट्रिय कमिटीका सदस्यहरू गोविन्द पौडेल, सरस्वती केसी, सुरेन्द्र थपलिया, कल्पना त्रिपाठी, राजेन्द्र पुडासैनी, सन्तोष भट्टराई, अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का उपाध्यक्ष रामशरण सिम्खडा, सदस्यहरू भोजराज त्रिपाठी, नारायण अधिकारी अन्तर्राष्ट्रिय कमिटीका विभागीय पदाधिकारी तथा सदस्यहरू अनआरएनए तथा संघ-संस्था समन्वय विभागका उपप्रमुख डा. चिरञ्जीवी खड्का, कला, साहित्य तथा संस्कृति विभागका सचिव खड्ग न्यौपाने, उद्योग व्यवसाय विभागका सदस्य शिव लामिछाने, युरोप कमिटी सल्लाहकार परिषद्का अध्यक्षलगायतका नेताहरु अतिथी रहनुभएको थियो ।

यसैगरी बैठकले सन् २०२५ भित्र ‘जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च’ भन्ने नारालाई सार्थक बनाई युरोप महादेश अन्तर्गतका धेरैभन्दा धेरै राष्ट्रहरूमा राष्ट्रिय कमिटी गठन गर्नका लागि प्रतिवद्धता जनाएको छ। साथै २०२५ को अन्तसम्ममा संगठित सदस्यता त्यहाँ रहेका नेपालीहरुको कम्तिमा ३ प्रतिशत पुऱ्याउने अभियान चलाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले प्रवासी नेपाली मञ्चको नेतृत्वमा संयुक्त लगानीको अवस्थालाई प्रत्याभूत गर्नका लागि आगामी ६ महिनाभित्र कम्तिमा २ अर्बको संयुक्त पूँजीको संकलन गरी लगानी कम्पनीमार्फत कार्य गर्न आवश्यक कागजी र प्रकृयागत कार्यहरू सम्पन्न गरी आवश्यक योजनाको छनौटसहित कार्ययोजनालाई अगाडि बढाउने निर्णय गरेको छ । लगानी विभागको अवधारणालाई मूर्त रुप दिन अल्प र दीर्घकालीन योजनाको प्रस्ताव प्राप्त भएकाले रकम संकलन र प्राप्त योजनाहरूको छानविन गरी लगानीको प्रकृया अगाडि बढाइने बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

संगठनमा महिला सशक्तिकरण गर्नका लागि युरोपमा कम्तिमा वर्षको एक पटक महिलाहरूको विशेष कार्यक्रम आयोजना गर्ने युरोपका नेपाली महिलाहरुका समस्या समाधानका लागि पहल गर्ने नेपालमा महिला शशक्तिकरणमा सहयोगी भूमिका निभाउने गरि कार्ययोजना बनाउने बैठकले निर्णय गरेको छ।

युरोपका विभिन्न देशमा नेपाली समुदायका लागि नेकपा एमालेको तर्फबाट काम गरिरहेका प्रवासी नेपाली मंचका नेतृत्वकर्ताहरुको दुइ दिनको छलफल बहस, अनुभव आदानप्रदान, सशक्तिकरणका लागि सामुहिक प्रतिबद्धताले युरोप समितिलाई बलियो बनाएको र पार्टी कामका लागि हौशला प्रदान गरेको समितिका सचिव शालिकराम थपलियाले बताएका छन् ।