न्यायाधीशमाथि कालो झोल छ्याप्ने तीन ब्यक्ति पक्राउ

न्यायाधीशमाथि कालो झोल छ्याप्ने तीन ब्यक्ति पक्राउ


न्यायाधीशलाई कार्यकक्षमै कालो झोल छ्यापेर दूर्व्यवहार गरेको अभियोगमा तीन व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इँटा भट्टीमा ज्युँदै मानिस होमेर ज्यान लिएको मामलामा जेल सजाय काटिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताद्वारा बिहीबार (२९ जेठ) कालो झोल छ्यापिएको थियो । उनीहरुलाई बिहीबार नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका-६ का किशोर कुँवर (अविनास), केन्द्रीय सदस्य एवं महोत्तरीका इन्चार्ज र सिरहा जिल्ला सदस्य गर्भु महतो रहेका बताइएको छ ।

अदालतको इजलासमा अचानक प्रवेश गरेका उल्लिखित ब्यक्तिहरुले ‘जनताका विरुद्धमा फैसला गर्ने’ भन्दै न्यायाधीश थारूमाथि कालो झोल छ्यापेका थिए ।

गत जेठ १४ गते न्यायाधीशद्वय थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिने निर्णय गरेको थियो ।