एयर इन्डिया विमान दुर्घटना : ७८७ ड्रिमलाइनर दुर्घटनाग्रस्त भएको पहिलो घटना

एयर इन्डिया विमान दुर्घटना : ७८७ ड्रिमलाइनर दुर्घटनाग्रस्त भएको पहिलो घटना


भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट २४२ जना यात्रु लिएर बेलायतको ग्याटविक विमानस्थलतर्फ जाँदै गरेको बोइङ ७८७–८ ड्रिमलाइनर बिहीबार (२९ जेठ) दिउँसो उडेको केही समयपछि अहमदाबाद शहरस्थित एक बस्तीमा खसेर दुर्घटनाग्रस्त भएकोमा एक जना बाँचेको पुष्टि भएको छ ।

एयर इन्डियाको उडान नम्बर १७१ ले ‘मे डे’ कल जारी गर्दै सङ्कटको सङ्केत गरेको थियो भने विमान उडेको पाँच मिनेटभित्रै दुर्घटनामा परेको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएका केही भिडियोमा एउटा विमानले आफ्नो अगाडीको भाग माथि उठाएर उचाई लिँदै गर्दा एक्कासी उचाइ गुमाएको र त्यो भवनमा ठोक्किनुअघि आगोको गोलामा परिणत भएको देखिएको थियो । नागरिक उड्डयन महानिर्देशनालयले विमान स्थानीय समयअनुसार दिउँसो १ः४० बजे दुर्घटनाग्रस्त भएको जनाएको छ ।

विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली नागरिक रहेको एयर इन्डियाले जनाएको छ । विमानमा दुई जना पाइलटसहित १० जना चालक दलका सदस्य पनि थिए ।

करिब ८० लाख मानिसको बसोबास रहेको अहमदाबादको भीडभाड युक्त आवासीय क्षेत्रमा रहेको चिकित्सक र उनीहरूका परिवारको भवनमा विमान ठोक्किएको थियो ।

अस्पताल र ‘घोडा शिविर’को बीचमा दुर्घटना भएको स्थानमा शवहरू निकाल्दै गरेको र अग्निनियन्त्रकहरूले भग्नावशेष निभाउने प्रयास गरिरहेको देखिएको एएफपीले जनाएको छ । कृष्ण नाम गरेका एक चिकित्सकलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार जहाजको नाक र अगाडिको पाङ्ग्रा क्यान्टिन भवनमा खसेको थियो जहाँ विद्यार्थीहरूले खाजा खाइरहेका थिए।

गुजरात राज्यको स्वास्थ्य विभागका प्रमुख सचिव धनञ्जय द्विवेदीले एक जनालाई जीवितै उद्धार गरेको बताएका एएफपीले उल्लेख गरेको छ । सेनाको सहयोगमा उद्धार टोलीले बिहीबार रातिसम्ममा २०४ जनाको शव फेला पारेको छ, जसमा विमान र दुर्घटना आसपासका क्षेत्रका मानिस पनि हताहत भएका भेटिएका छन् ।आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले हताहत हुनेको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले घटनाबारे थप जानकारी सङ्कलनका लागि काम गरिरहेको र एयर इन्डियालाई सहयोग गर्न तयार रहेको बताएको छ । बेलायत र अमेरिकाले आफ्ना भारतीय समकक्षीलाई सहयोग गर्न हवाई दुर्घटना अनुसन्धान टोली पठाउने बताएका छन् ।

एक ईन्धन-कुशल, वाइड बडी, हल्का विमान बोइङ ७८७ ड्रिमलाइनरले ३३० व्यक्तिहरूलाई ओसारपसार गर्न सक्छ र यो लामो दूरीका विमानहरूको लागि अमेरिकी कम्पनीको एक गौरवपूर्ण उत्पादन हो । ७८७ ड्रिमलाइनर दुर्घटनाग्रस्त भएको यो पहिलो पटक भएको बताइएको छ ।

विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एयर इन्डियाको लगानीकर्ता टाटा समूहले प्रत्येक मृतकका परिवारलाई एक करोड भारु (एक लाख १७ हजार अमेरिकी डलर) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।