मिडियामा यस्ता कुरा बोल्न सुहाउला ?

मिडियामा यस्ता कुरा बोल्न सुहाउला ?


पश्चिमा महिलाहरूले सन् १९७० को दशकमा एउटा अनौठो प्रश्न उठाए । ‘पुरुषले पुरुषका लागि पुरुषको कथा लेखेको’ भन्दै मानव इतिहासमाथि नै प्रश्न उठाइयो । उनीहरूको माग थियो कि अब उप्रान्त महिलाका कथालाई केन्द्रमा राखी प्राथमिकताका साथ उनीहरूका कथा लेख्न, फिल्म बनाउन, उपन्यास लेख्न सुरु गरियोस् ! यसैअनुरुप त्यतिबेलादेखि नै महिलाले भोगेका विभेद र जीवनका अनेक लडाइँहरू, उनीहरूका सफलता र असफलताका कथाहरू लेखिन थालियो । यो शिलशिला आजसम्म जारी छ ।

आफूले टेकेको धरातल, आफूवरिपरिको परिवेश, समाजमा ब्याप्त कुसंस्कार, ब्यक्तिको आरोह-अवरोह, अव्यवहारिक सामाजिक प्रचलन, निरंकुश जातीय विभेद जस्ता कुराले लेख्न अभिप्रेरित गर्छ । समाजमा देखापर्ने यस्तै घटनाहरूलाई टपक्क टिपेर कलम चलाउँदा समाज परिवर्तनमा एउटा भए पनि इट्टा थपेको महसूस हुन्छ । यस्तै विविध घटनाले मन छोयो भने कलमबाट नै विचार पोख्छु ।

आज म सेलिब्रेटी पति-पत्नी बीचको आपसी सम्बन्धलाई मिडियाबाजी गरेर छताछुल्ल पार्दा यसले समाजमा कस्तो असर पार्छ, त्यसैमा केन्द्रित हुँदैछु ।

हिजोआज आवश्यकता भन्दा बढी ब्यक्तिगत स्वतन्त्रताको नाममा पश्चिमीकरणले शहरिया परिवारमा ल्याउने विखण्डनप्रति नियाल्दै छु । हाल बिदेशी कल्चरको कुप्रभाव, अनावश्यक आर्थिक प्रतिस्पर्धा, ब्यक्तिगत चाहनाले कैयौँ प्रेमिल जोडी विखण्डित भइरहेका छन् । आज म सम्बन्ध बिच्छेद हुँदैगर्दा पतिपत्नीबीचको नितान्त ब्यक्तिगत सम्बन्धलाई मिडियाबाजी गर्दै हिँड्ने केही सेलिब्रेटी भनाउँदाहरूको चर्चा गर्दैछु ।

नायिका अरुणिमा लम्साल

यिनी कुनैबेला राम्रै नाम चलेकी नायिका हुन् । यिनले पहिलो पतिसँग डिभोर्स गरी दोस्रो बिहे गरेकी थिइन् । यिनको दोस्रो बिहे पनि ८–९ महिना भन्दा अगाडि बढ्न सकेन, डिभोर्स भयो । डिभोर्स प्रक्रिया अगाडि बढिरहँदा अरुणिमाले मिडियामार्फत दोस्रो पतिको मानमर्दन गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको देखियो । पतिपत्नीबीच शारीरिक सम्बन्धमा प्रश्न गर्ने पत्रकार र एकपटक पनि हामीबीच शारीरिक सम्बन्ध भएको छैन भन्ने उत्तर दिने अरुणिमा दुवै घृणाका पात्र बनेका छन् भन्दा अत्युक्ति ठहरिँदैन ।

सँगै बस्न लेखेको थिएन, मन मिलेन, ब्यवहार मिलेन र सहमतिमै भिन्न भइयो । भिन्न भएपछि खेल सकियो । किन अण्टसण्ट बक्नुपऱ्यो । के इज्जत भन्ने कुरा महिलाको मात्र हुन्छ पुरुषको हुँदैन ? मन महिलाको मात्र दुख्छ, पुरुषको दुख्दैन ? डिभोर्स प्रक्रिया चलिरहेको समयमा मिडियामा पतिको बेइज्जती गर्ने अधिकार अरुणिमा लाई कसले दियो ? अझ रोचक कुरा त बिहे भएको ८-९ महिनासम्म पनि हामीबीच शारीरिक सम्बन्ध भएको छैन रे ! बोल्न पनि कति सर्म नलागेको ।

जीवनमा सोच सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तपाईंले अरुलाई गर्ने ब्यवहारले नै तपाईं कस्तो मानिस हो भन्ने जानकारी गराउँछ । मानिस आफू कस्तो बन्ने र बनाउने भन्ने कुरा उसकै हातमा हुन्छ ।

मिडियामा बोलेका अभिब्यक्तिको उत्तरदायित्व पनि अरुणिमाले लिनैपर्छ । मिडियामा उनले बोलेका कुरा, उनको बोलीबचन, चालचलन सबैमा प्रदूषण मिसिएको प्रतीत हुन्छ । आफ्नो ब्यक्तिगत स्वतन्त्रताको नाममा अरुप्रति घृणास्पद अभिव्यक्ति दिन पाइन्छ त अरुणिमाजी ?

अन्तर्वार्ता दिइरहँदा उनको हाउभाउले विश्व जगतमा ठुलै हलचल ल्याउने काम गरेझैँ देखिन्थ्यो भने बोलिमा पूरै दम्भ ! अरुणिमाले मिडियाबाजी गर्दै आफ्नो दाम्पत्य जीवनको धज्जी उडाउँदै गर्दा पनि उनको दोश्रो पतिले कुनै टीकाटिप्पणी गरेनन् । कुनै मिडियामा मुख खोलेनन् । अरुणिमा प्रति कुनै नकारात्मक प्रतिशोध नदेखाइ शालिनताका साथ डिभोर्स पेपरमा चुपचाप साइन गरे । हो.. यसलाई भन्दछन बुद्धिमानी या विवेक प्रदर्शन अरुणिमाजी ।

गायिका मधु क्षेत्री

मधु क्षेत्री पनि दोश्रो बिहे गरी अस्ट्रेलियातिर छन् । दोश्रो पतिले पनि मानसिक यातना दियो, अमर्यादित ब्यवहार गऱ्यो, ज्यान जोगाउनै गाह्रो भयो भन्दै त्यहाँ बस्ने नेपाली समुदायसँग उनले गुहार मागेकी थिइन् । सामाजिक सन्जालमा रुँदै लोग्नेले पिटेर बनेका घाउका डोब देखाउँदै याचना गरेको हामीले देखेकै हो । तिनै यातना दिने पतिबाट छोरा भएपछि फेरि सन्जालमा देखापरिन् । ‘पूर्वपतिलाई मेरो छोराको घरमा खाना खानेगरी बोलाउन मन छ’ भन्दै उसलाई अपमान गर्न पछि परिनन् । अहिले फेरि पूर्वपतिको मृत्युले मलाई औधी खुशी र शान्ति दिलायो भन्दै सामाजिक संजाल तताएकी छन् । ढिलोचाँडो सबै एकदिन मर्नैपर्छ । यो विधिको विधान हो । मधु पनि अमर पक्कै छैनन् होला । मिडियामा आएर पूर्वपतिलाई अपमानित हुनेगरी पारिवारिक कुरा बक्दै तमासा देखाउन उनलाई पक्कै लाज लाग्नुपर्ने हो । छोरी साथमा छ । उसकै बुबा मर्दा खुशी भएँ भन्ने ? मानवता भन्ने पनि त केही चिज हुन्छ नि !

के वैवााहिक सम्बन्धको तितो घटनालाई मिडियाबाजी गरेर दुनियाँ हँसाउन आवश्यक छ ? जे हुनु थियो भइहाल्यो । आउँदा दिनका बारेमा सकारात्मक सोच राखेर अगाडि बढ्दा हुँदैन र मधुजी ?

गायिका एलिना चौहान

एलिनाको पनि बडो तामझामका साथ बिहे भएको थियो । तर त्यसको राप सेलाउन नपाउँदै बिहे टुट्न पुग्यो । के-कति कारणले वैवाहिक सम्बन्धमा पुर्णबिराम लाग्यो ? कसको गल्ती थियो या दोषी को हो ? हामीलाई थाहा भएन । तर, दाम्पत्य जीवनमा दरार आएपछि मिडियाबाजी गर्दै पतिलाई गालिगलौज गरी सारा दोषजति पतिकै भागमा पारेको चाहिँ पटक्कै सुहाएन क्या ! इज्जत त महिला-पुरुष दुवैको हुन्छ नि ! बिहे हुँदाका केही समयसम्म त्यही पति भगवान् तुल्य हुने, महामानव हुने, प्रेमको प्रतीक हुने । तर वर्षदिन नपुग्दै त्यही ब्यक्ति नालायक-असभ्य-स्वार्थी-परपीडक कसरी बन्छ होला ? अचम्म !

के खराबीजति सबै पुरुषमा मात्र हुन्छ ? महिलाचाहिँ सर्वगुणसम्पन्न हुन्छन् ? पुरुषकै कारणले मात्र वैवाहिक सम्बन्धमा पुर्णबिराम लाग्छ त ? सोच्नुपर्ने कुरा । एलिनाले मिडियामा पतिलाई अनेकौँ दोषारोपण गर्दा पनि उनका पति चुइँक्कसम्म बोलेनन् । पत्नीलाई एक शब्द नराम्रो भनेको सुनिएन । बौद्धिकता भनेको के रहेछ एलिनालाई देखाइदिए । मिडियामा आएर ठुलो–ठुलो स्वरमा रोइलो गर्दैमा वास्तविकता छोपिँदैन एलिनाजी !

शिल्पा पोखरेल

फिल्म निर्माता/निर्देशक छवि ओझाकी कान्छी श्रीमती हुन् शिल्पा पोखरेल । उनलाई छविले नै फिल्मी दुनियाँमा प्रवेश गराएका हुन् । फिल्मीक्षेत्रमै रहँदा यी दुइको प्रेम विवाह भयो । छविकै बुइ चढेर यो क्षेत्रमा नाम र काम कमाइन् शिल्पाले । समय बित्दै जाँदा तिनै छविलाइ अनर्गल गालीको वर्षा गर्दै मिडियामा रोइलो गरेको देखियो । सारा दोषजति पतिमाथि थोपर्दै आफू सती–साबित्री बन्न खोजिन् मिडियाबाजी गरेर । भएको एक थान घर पनि अधिकारको बहानामा आफैले हत्याइन् र पतिलाई फुटपाथमा पुऱ्याइन् शिल्पाले । रेखा थापा र छविको पनि डिभोर्स भएकै हो । तर रेखाले कहिल्यै छविलाई दोष दिएर मिडियामा आक्रोश ब्यक्त गरिनन्, न त कुनै जायजेथामा हक दाबी गरिन् । यसरी शालिन र सभ्य तरिकाले पनि त डिभोर्स हुँदोरहेछ भन्ने एक ज्वलन्त उदाहरण बनिन् रेखा थापा । उनको र छविको अहिले पनि सुमधुर सम्बन्ध छ ।

शिष्ट तरिकाले वैवाहिक सम्बन्ध बिच्छेद गरी अनुशासित र सम्मानित जीवन बिताइरहेका पनि कैयौँ सेलिब्रेटीहरू छन्, जो आजका दिनमा पनि आदर्श बनिरहेका छन् समाजको लागि । तिनीहरूले आफ्ना वैवााहिक सम्बन्धको तितो बिगतलाई मिडियामा कहिल्यै पोखेनन् ।

यति भन्दै गर्दा वैवााहिक सम्बन्धलाई पुर्णबिराम लाउन कुनै पति-पत्नीको रहर हुँदैन । विभिन्न परिस्थितिले नै सम्बन्ध टुंग्याउने निर्णयमा पुऱ्याउँछ ब्यक्तिलाई । अरुले देख्ने भन्दा आ-आफ्नो भित्री भोगाइ र देखाइ भिन्न हुन्छन् । वर्तमानमा सम्बन्ध विच्छेदलाई केवल महिलाको अधिकारको रुपमा (शहरी क्षेत्रमा) मात्र हेरिएको छ । यो ब्यक्तिगत अधिकार हो, यसमा दुईमत छैन । तर, यसबाट सबैभन्दा बढी दुखी हुने उनीहरूका सन्तान नै हुन् । बाबु-आमाको गल्तीले यी कलिला सन्तान जीवनभर पिल्सिनुपर्ने हुन्छ ।

हामी सबैले महिला अधिकार हनन भएको मात्र देख्छौँ । तर, पुरुषहरू पनि कति शोषणमा परेका छन्, कति अपमान सहेर बसेका छन्, त्यो पाटो हेर्न र बुझ्न कोही चाहँदैनन् । हाम्रो कानुनले पुरुषलाई पनि सम्बन्ध विच्छेदमा जाने अधिकार त दिएको छ तर उदारचाहिँ छैन । महिलाले चाहना राख्दा तुरुन्तै प्रक्रिया अगाडि बढ्छ भने पुरुषले चाहँदा चाहिँ थुप्रै कानुनी उल्झनमा अल्झिनुपर्छ ।

आम मानिसलाई आफ्नो दुःख भयानक हो र अरुले भोगेको दुःखचाहिँ केही होइन भन्ने लाग्दछ । अरुलाई परेको दुःखकष्ट पनि मेरो जस्तै भयानक होला भन्ने बुझे मात्र समाज रुपान्तरण हुन्छ ।

अन्तिममा

मिडियामा आइरहनुपर्ने महिलाका कथाहरू भिन्न हुनुपर्ने हो । विभिन्न सिमान्तकृत ग्रामीण समुदायका महिला अधिकारका कुराहरू, उनीहरूले भोगेका सामाजिक लैंगिक अन्यायहरू, उनीहरू शोषणमा पर्नु र पीडित हुनुका कारणहरू, विभिन्न अधिकारबाट वञ्चित हुनुका कारण र यसका उपाय, उनीहरूका कथा सुन्न साहस गर्ने र महसूस गर्ने पत्रकार, पीडित महिलाका आँशुसँग भिज्ने अवसर आम जनतालाई प्रदान गर्न मिडिया माध्यम बन्नुपर्ने हो, तर यसो हुन सकेको छैन ।

१९७० दशकको त्यो महिलाका कथाको माग गर्ने महिलावादीहरू जीवितै हुन्थे भने हाम्रा यी सेलिब्रेटीहरूले मिडियाबाजीमार्फत लाजको पर्दा उतारेको देख्दा कस्तो महसुस गर्ने थिए होलान् !?