झापाबाट कामको खोजीमा विदेश जाने महिलाको संख्या देशकै धेरै

झापाबाट कामको खोजीमा विदेश जाने महिलाको संख्या देशकै धेरै


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

झापा जिल्लाबाट वैदेशिक रोजगारीको खोजीमा निस्कने महिला कामदारको संख्या देशकै पहिलो नम्बरमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रम (सामी) भद्रपुरको तथ्याङ्खले झापाली महिलाहरू कामको खोजीमा विदेश जाने देशकै उच्च दर देखाएको हो ।

चालु आर्थिक वर्षको पछिल्लो विवरण अनुसार झापाबाट रोजगारीका लागि विदेश यात्रा गर्नेको संख्या ३४ हजार ३६२ जना झापाली वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा गएको देखिन्छ । जसमा १९. ५ प्रतिशत अर्थात ६ हजार ५४६ जना कामको खोजीमा विदेश गएका छन् । जुन देशकै सबैभन्दा बढी वैदेशिक रोजगारमा जाने महिलाको संख्या पनि हो ।

झापाबाट रोजगारीका लागि प्रमुख गन्तव्य खाडी मुलुक देखिएको छ भने युरोप अमेरिका तथा अष्ट्रेलिया जाने कामदारको संख्या पनि बढ्दै गइरहेको पाइए पनि ठगिने क्रम सोही रफ्तारमा रहेको देखिन्छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका भद्रपुर संयोजक शेखर बुढाथोकीका अनुसार कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, सीप तालिममा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवा मार्फत वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सवलीकरण गर्दै आइरहेको छ । उनका अनुसार चालु आर्थिक वर्षमा ५ जना व्यक्तिलाई पारिवारिक स्वास्थ्य उपचार, २ जनाको अंगभंग तथा विरामी उपचार, २ जनालाई मृत्युको आर्थिक सहायता र २७१ जनालाई पुनः श्रम स्वीकृति प्रदान गरिएको छ भने ठगीमा परेका ३०३ जना मध्ये १४१ जना कामदारलाई न्यायमा पहुँच पुऱ्याउदा ३ करोड ३५ लाख ८८ हजार ५३१ रूपैया क्षतिपूर्ति भराइएको छ ।

पछिल्लो तीन वर्षमा झापाबाट वैदेशिक रोजगारीमा गएका एक सय ६६ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७९/८० देखि चालू आवको पुस महिनासम्म एक सय ६६ जनाको मृत्यु भएको हो । जसमध्ये झापाका ४२ जना रहेका छन् । सोही अवधिमा १० जनाको अंगभंग भएको छ ।

चालू आवको पुस महिनासम्म कोशी प्रदेशबाट वैदेशिक रोजगारीमा गएका एक सय ५५ जनाको मृत्यु भएको संयोजक शेखर बुढाथोकीले बताए । कोशी प्रदेशबाट सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जानेमा झापा पर्छ भने मृत्युको दर पनि सबैभन्दा धेरै झापाको छ ।

वैदेशिक रोजगारीको सिलसियामा कोशी प्रदेशबाट विदेशमै ज्यान गुमाउनेमा सुनसरीका ३२, इलामको ११, उदयपुरको आठ, ओखलढुंगाको तीन, खोटाङको पाँच, ताप्लेजुङको एक, तेह्रथुमको छ, धनकुटा र पाँचथरेको पाँच÷पाँच, भोजपुरको दुई, मोरङको २८, संखुवासभाको तीन, सोलुखुम्बुको चार जना रहेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका भद्रपुरका दुई जना मृतकको परिवारलाई राहत उपलब्ध गराइएको छ ।

भद्रपुर नगरपालिकामा सञ्चालित सामी कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्रको सहकार्यमा जनही रू २४/२४ लाख राहत उपलब्ध गराइएको छ । त्यस्तै, परिवार स्वास्थ्य उपचार अन्तरगत पाँच वटा परिवारलाई जनही रू ५० हजार, विदेशमा बिरामी वा अंगभंग भएर फर्किएका दुई जनालाई जनही रू सात/सात लाख र दुई सय ७१ जनाको पुनः श्रम स्वीकृति गरिएको संयोजक बुढाथोकीले बताए ।

त्यस्तै, १६ जनालाई बोर्डबाट प्राप्त छात्रवृत्ति प्रदान, ४० जनालाई मनोपरामर्श, सरोकारवालासँग अन्तरक्रिया, वैदेशिक रोजगारीमा गएका परिवार र विद्यार्थीलाई वित्तीय साक्षरता, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गहन अभिमुखीकरण लगायतका कार्यक्रम गरिएको जनाइएको छ ।

नेपालबाट दैनिक दुई हजार ३० जना र बर्सेनि पाँच लाख युवा वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७०/७१ देखि २०८०/८१ सम्ममा वैदेशिक रोजगारीबाट १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । जसले मुलुकको कूल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान गर्दछ ।

सामी कार्यक्रम हाल झापाको चार पालिका भद्रपुर, दमक, मेचीनगर र गौरीगञ्जमा सञ्चालित छ भने आगामी आर्थिक वर्षदेखि हल्दिबारी, गौरादह, झापा, कमल, बाह्रदशी र बुद्धशान्तिमा शुरुवात हुने भएको छ ।

सामी कार्यक्रममार्फत् वैदेशिक रोजगारीमा जाने युवाको सीपमा पहुँच, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताको क्षेत्रमा काम गर्दै आएको छ ।

दक्षिण एसियाली मुलुकहरूबाट वैदेशिक रोजगारीमा जानेको संख्या अन्य देशहरूको तुलनामा बढी छ । यो प्रवृत्ति नेपाल पनि हरेक वर्ष बढ्दै गइरहेको छ । नेपाल सरकारले निषेध गरेको देशबाहेक जुनसुकै देशमा नेपालीहरू रोजगारीका लागि जानसक्ने व्यवस्था छ । हाल नेपाल सरकारले वैदेशिक रोजगारीको लागि एक सय ११ देशलाई स्वीकृत दिएको छ । यसबाट देश बाहिर रोजगारीमा जानेका लागि अवसरहरु बढ्दै गरेको देखिन्छ । वैदेशिक रोजगारीबाट नेपालको अर्थतन्त्रको महत्वपूर्ण स्रोतको रूपमा रहेको विप्रेषणको विगत १० वर्षको औसत अवस्था हेर्दा कूल गार्हस्थ्य उत्पादनमा औसत अंश २३ प्रतिशत रहेको देखिन्छ ।

अवैध बाटोबाट वैदेशिक रोजगारीका लागि लगिने अधिकाम्स मानिस बेचिने गरेका छन् । यसरी बेचिएका अधिकाम्स मानिसले सामाजिक प्रतिष्ठामा आँच आउने वा इज्जत घट्ने सोचेर आफू बेचिएको बारे कसैलाई जानकारी दिन चाहँदैनन् । जसको परिणाम तस्कर समूह वैदेशिक रोजगारका नाममा निर्वाध मानव व्यपार गर्न पाइरहेको हुन्छ । राज्यको उपल्लो निकायसम्म पहुँच बनाएर बसेको तस्कर समूह नियन्त्रमा राज्य उदासिन रहुञ्जेल रोजगारी दिलाइ दिने बाहनामा मानव तस्करी चलिरहने छ । भारतसित खुल्ला सिमाना रहेको झापा जिल्ला अबैध बाटोबाट मानव ओसारपसारको सहज मार्ग बनिरहेको छ । झापाको मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४.२ किलोमिटर सीमा क्षेत्र खुल्ला सिमानाका रूपमा रहेको छ । यस क्षेत्रमा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका सुरक्षा पोष्टहरू पनि रहेका छन् । तर, अबैध मानव तस्करी रोकिन सकेको छैन । यस्ता अवैध कार्य रोक्न सामी परियोजनाको पनि पहुँच नपुग्दा वैदेशिक रोजगार मानव बेच्ने अखडा बन्दै गएको पीडितको गुनासो आउने गरेको छ ।