हेगमा नेपाली भाषा तथा साहित्यको छैठौँ विश्व अनुष्ठान सम्पन्न

हेगमा नेपाली भाषा तथा साहित्यको छैठौँ विश्व अनुष्ठान सम्पन्न


  • युरोप प्रतिनिधि

नेपाली भाषा, साहित्य र संस्कृतिको विश्व अभियानको लागि विश्व भूटानी साहित्यिक संगठन (वि.भू.सा.सं.)को छैटौँ बृहत् अन्तराष्ट्रिय सृजनात्मक अनुष्ठान यही जुन १३, १४ र १५ मा निदरल्याण्डको हेगमा सम्पन्न भएको छ।

विश्व भुटानी साहित्यिक संगठनले बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यतामा छैठौँ अनुष्ठानको पहिलो दिन डेल्फ्ट विश्वविद्यालयको डूडकामर (अत्यन्त शान्त च्याम्बर)बाट कार्यक्रमको उद्घाटन गऱ्यो । विश्वबाट आएका आगन्तुक साहित्यकारहरुलाई स्वागत् गर्दै शुभकामना आदानप्रदानसहित रचना बाचन समेत भयो।

छैठौँ अनुष्ठानको दोस्रो दिन संसारभरका भुटानी नेपाली साहित्यकारहरु हॆगस्थित सांस्कृतिक सभामा जम्मा भए। विशिष्ट पाहुना देञ्जोमे साम्पाङ्ग र प्रमुख अतिथि राजदुत लम्सालले दोश्रो दिनको कार्यक्रमको पानसमा बत्ति बालेर उद्घाटन गरे । प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यतामा नेपाली सांस्कृतिक तथा साहित्यिक कार्यक्रमसहित कार्यक्रम सुरु भएको थियो । कलाकारहरुले प्रमुख अतिथिको सम्मानमा नेपाली राष्ट्रिय धुन बजाए । संगठनका सचिव साहित्यकार पातलो अन्तरेले कार्यक्रमको संचालन गरे । त्यसलाई यस अभियानका निर्देशक तथा प्रोफेसर डिपी शर्मा मैनालीले साथ दिए।

एनएसइएकी प्रमुख सविना श्रेष्ठले दोश्रो दिनको अनुष्ठानमा आएका सबैलाई हलमा स्वागत गरिन् । एनआरएनए निदरल्याण्डका संस्थापक अध्यक्ष शशि पौडेलले नेपाली तथा स्थानीय डच भाषामा आफ्नो शुभकामना मन्तब्य राखे । नेपाली भाषा विद्यालयको तर्फबाट शरद जोशीले संगीतबाट सबैलाई स्वागत गरेर पहिलो सत्रको अन्त्य भयो।

अनुष्ठानको दोश्रो सत्रको प्रमुख समीक्षकको रुपमा अनेसास पोल्याण्डका संरक्षक तथा इनास पोल्याण्डका उपाध्यक्ष मित्रलाल पार्दे, संगीत प्रशिक्षक वीरमान श्रेष्ठ, ध्वनी बल थेरापिष्ट स्लोवेनिया सरिता हुमागाईंलाई चयन गरियो । उक्त सत्रमा एनआरएनए निदरल्याण्डका अध्यक्ष थानेश्वर कँडेलले संसारभरिका नेपाली स्रष्टाहरुलाई स्वागत गर्दै अनुष्ठान सफलताको शुभकामना मन्तब्य दिए । केनिसा सापकोटा, सुदर्शन पोखरेल, श्रेया मैनाली, आभाष रिखाम, चन्दना खड्का कार्की, अनुष्का टन्डन, सरगम थपलिया, संजिता पोख्रेल लगायत कलाकार र साहित्यिक व्यक्तित्वहरूले आफ्नो सृजनात्मक प्रस्तुति प्रस्तुत गरे भने अनेसासका केन्द्रिय उपाध्यक्ष र अनेसास पोल्याण्डका संरक्षक मित्रलाल पार्देले छैठौं साहित्यिक अनुष्ठान सफलताको शुभकामना दिए ।

तेश्रो चरणको कार्यक्रमको चियर पर्सनको रुपमा लेखक तथा साहित्यकारको तर्फबाट क्रमशः डिल्लीराम अम्माई, विश्वदिप तिगेला, प्रकाश आङ्देम्बे र हरि पौडेललाई चयन गरियो । त्यो सत्रमा पनि अनुस्का मैनाली, देव वारोस, सूर्यराज गिरि, यदु युगान्तर राई, वीरमान श्रेष्ठ, सबु पौडेल, रस्मिता पराजुली, सरिता, पुजा, रोसनिका लगायतका सर्जकहरुले आफ्नो सृजना प्रस्तुत गरे भने मानवअधिकार प्रतिनिधि राम कार्कीले शुभकामना मन्तब्य दिए । शान्तिको लागि साबि पौडेल, वीरमान श्रेष्ठ, रस्मिता पराजुलीले संयुक्त रुपमा ध्वनी बल योगाको महशुस गराए।

चौथो चरणको लेखाई तथा मन्तब्य सत्रमा चियर पर्सनको रुपमा सलिना थपलिया लगायत चारजना बाल निबन्धकार छानिए । उक्त सत्रको राजेन्द्र शर्माले बाँसुरीको धुनबाट उद्घाटन गरे । उक्त नारद र देञ्जोमले आफ्नो साहित्यिक मन्तब्य दिए भने विश्वदिप तिगेला लगायत वक्ताहरुले आफ्नो सृजना सहित मन्तब्य दिए।

पाँचौं सत्रको पुस्तक विमोचन तथा समीक्षा सत्रमा नेरु ६ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार साहित्यकार बैरागी काइँलालाई प्रदान गर्ने घोषणा गरियो । उक्त पुरस्कार २०२२ मा आसामका प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो।

सोही सत्रमा गोपाल पौडेल लट्टे लगायतका साहित्यकारहरुले लेखेका पुस्तकहरु राजदुत सेवा लम्साल, साहित्यकार पंचम अधिकारी, विश्व भुटानी साहित्यिक समाजका अध्यक्ष कर्ण गुरुङ लगायतका विशिष्ट ब्याक्तिहरुले लोकार्पण गरेका थिए । त्यो सत्रलाई मुख्य अतिथि राजदुत लम्सालले सम्बोधन गरेपछि कार्यक्रमका सभापति कर्ण गुरुङले सबै सत्रहरुको समीक्षासहित अन्त्य गरे।

अनुष्ठानको तेश्रो दिन साइकल धावकको देश निदरल्याण्डको हेगमा पर्यावरण अभियान र विश्वशान्तिको लागि साइकल यात्राको कार्यक्रम राखिएको थियो । अनुष्ठानमा उपस्थित आयोजकहरुले नेपाली भाषाको संरक्षण, साहित्यिक उत्तराधिकारीको चयन, पूर्वीय दर्शनको विकास र सांस्कृतिक चेतनाको पुनर्स्थापना अनुष्ठानको मूल लक्ष्य रहेको बताएका थिए ।

अनुष्ठानबाट भुटानी नेपाली साहित्यकारहरुले साहित्यकार पातलो अंतरेको नेतृत्वमा चौध सदस्यीय समिति चयन भएको छ। जसमा वरिष्ठ उपाध्यक्ष गोपाल पौडेल, महासचिव सिसन माझी, सचिव लक्की राशी, कोषाध्यक्ष शेखर कोइराला, सह कोषाध्यक्ष अबि न्यौपाने, कार्यक्रम प्रबन्धक र निर्देशक ईश्वर ढकाल, सांस्कृतिक संयोजक सरगम थपलिया, प्रचार प्रमुख भीम गुरुङ रहेका छन् भने सदस्यहरुमा क्रमशः खड्का गजमेर, देवी राई, यदु अधिकारी र छत्र दंगाल रहेका छन् ।

उक्त अनुष्ठानले बोर्ड अफ ट्रष्टीको रुपमा डेञ्जोम साम्पाङ्ग, जय बान्तवा, कर्ण गुरुङ, प्रदिप गुरुङ, आभाष रिखाम र ममता मुक्तानलाई चयन गरेको छ। सो बोर्डले पुरस्कार र आर्थिक तथा प्राविधिक रुपमा मुख्य समितिलाई सहयोग गर्ने लक्ष्य राखेको छ।