अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उनका चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गरेका हुन् ।
‘सबैले तुरुन्त तेहरान छोड्नुपर्छ !’ ट्रम्पले क्यानाडामा भएको जी-७ को शिखर सम्मेलनका क्रममा आफ्नो ट्रुथ सोसल खातामा लेखेका छन् । ट्रम्पले विस्तृत विवरण भने दिएका छैनन् ।
इरानी राजधानीमा लगभग एक करोड मानिस बस्छन् ।
इजरायलले इरानमा आक्रमणहरू बढाएको बेला यो चेतावनी आएको छ । इजरायलले धर्मगुरुद्वारा सञ्चालित इरानको विवादित आणविक कार्यलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ ।
इजरायली सेनाले यसअघि तेहरानको एउटा जिल्लाका बासिन्दाहरूलाई खाली गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । यो गाजामा यसको रणनीतिको प्रतिध्वनि हो । इजरायलले गाजामा सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि अधिकांश प्यालेस्टिनी जनसङ्ख्यालाई विस्थापित गरेको छ ।
संयुक्त राज्य अमेरिकाले इजरायली सैन्य कारबाहीमा भाग लिने छ कि छैन भनेर भन्न ट्रम्पले बारम्बार अस्वीकार गरेका छन् । यद्यपि उनले अमेरिका प्रारम्भिक आक्रमणमा संलग्न नभएको बताएका छन् ।
यसअघि मङ्गलबार समाप्त हुने जी-७ शिखर सम्मेलनमा उनले पत्रकारहरूलाई भनेका थिए, ‘म यहाँबाट निस्किएपछि, हामी केही गर्न जाँदैछौँ । तर मैले यहाँबाट जानुपर्छ ।’
प्रतिक्रिया