अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न चेतावनी दिएको केही घण्टापछि बुधबार (१८ जुन) बिहान इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले दाबी गरेको छ । अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको बमबारी अभियानमा वासिङ्टनले कुनै भूमिका खेलेको छैन भनी जोड दिएका छन्, तर द्वन्द्व छैटौँ दिनमा प्रवेश गर्दा इरानलाई आफ्नो धैर्य सकिँदै गएको चेतावनी पनि दिएका छन् ।
सेनाले नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि एउटा जिल्ला छोड्न चेतावनी जारी गरेपछि इजरायली लडाकू विमानहरूले बुधबार बिहानै इरानी राजधानीलाई निशाना बनाएका हुन् ।
यसक्रममा इजरायली सेनाले तेहरानमा हतियार निर्माण स्थल र सेन्ट्रिफ्युज बनाउन प्रयोग हुने सुविधामा आक्रमण गरेको बताएको छ ।
इरानले तेल अभिवका बासिन्दाहरूलाई आक्रमणका लागि तयार रहन भनेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्पले आफ्नो हाइपरसोनिक फताह–१ मिसाइलहरूले व्यावसायिक केन्द्रमा ‘बारम्बार आश्रयहरू हल्लाइरहेको’ दाबी गरेको छ ।
‘फताह–१ मिसाइल प्रयोग गरेर गर्वका साथ अपरेसन अननेस्ट प्रोमिस ३ को ११औँ लहर’ गरिएको गार्डहरूले राज्य टेलिभिजनमा प्रसारण गरिएको विज्ञप्तिमा भनेका छन् । हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्छन् र उडानको बीचमा दिशा परिवर्तन गर्न सक्छन्, जसले गर्दा तिनीहरूलाई ट्र्याक गर्न र रोक्न गाह्रो हुन्छ ।
इरानले इजरायलतर्फ ‘ड्रोनहरूको समूह’ पनि पठाएको छ । त्यहाँ सेनाले मृत सागर क्षेत्रमा दुईवटा रोकेको बताएको छ । विश्व शक्तिहरूले द्वन्द्वलाई क्षेत्रव्यापी युद्धमा परिणत हुनबाट रोक्न आशा गर्दै निकास खोज्न हतार गरेका छन् ।
मङ्गलबार राति आफ्ना इरानी समकक्षी र अमेरिकी दूत स्टिभ विटकफसँग छुट्टै फोनमा इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले कूटनीतिक समाधानका लागि आग्रह गरेका छन् ।
मङ्गलबार वासिङ्टनमा राष्ट्रपति ट्रम्पले इरानको ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेका थिए । उनले इरानका सर्वोच्च नेताको अमेरिकाले सजिलै हत्या गर्न सक्ने चेतावनी पनि दिएका थिए ।
‘हामी तथाकथित ‘सर्वोच्च नेता’ कहाँ केका छन् भनेर ठ्याक्कै जान्दछौँ । उनी हाम्रालागि सजिलो लक्ष्य हुन्, तर त्यहाँ सुरक्षित छन् .. हामी उनलाई मार्ने छैनौँ, कम्तीमा अहिलेका लागि त त्यसो गर्दैनौँ’, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।
मध्यपूर्वको ‘चिरस्थायी युद्धहरू’ मा नफस्ने बारम्बार प्रतिज्ञा गरे पनि ट्रम्पले युएसएस निमित्ज विमान वाहकलाई धेरै अमेरिकी सैन्य विमानहरूसहित यस क्षेत्रमा जान आदेश दिएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार उनले अहिलेसम्म कुनै पनि हस्तक्षेपका बारेमा निर्णय गरेका छन् ।
अन्तर्राष्ट्रिय चेतावनीका बावजुद इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बमबारी अभियान सुरु गर्दा शुक्रबार सुरु भएको लामो दूरीको आक्रमणबाट कुनै पनि पक्ष पछि हटेका छैनन् ।
इजरायलले आफ्नो आक्रमणमा वरिष्ठ इरानी कमान्डर अली शादमानी र उनका पूर्ववर्ती गुलाम अली राशिद मारिएको दाबी गरेको छ । लडाइँ सुरु भएदेखि दुवै देशका आवासीय क्षेत्रहरूमा घातक आक्रमणहरू भएका छन् र विदेशी सरकारहरूले आफ्ना नागरिकहरू निकाल्न हतार गरेका छन् ।
सरकारी तथ्याङ्कअनुसार इजरायलले आफ्नो अभियान सुरु गरेदेखि इरानमा बसोबास गर्ने सात सयभन्दा बढी विदेशी छिमेकी अजरबैजान र आर्मेनियामा प्रवेश गरिसकेका छन् ।
उद्धार गरिएकामध्ये रुस, बेलारुस, कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका साथै जर्मनी, स्पेन, इटाली, सर्बिया, रोमानिया, पोर्चुगल, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, चीन र भियतनामका नागरिकहरू थिए ।
संयुक्त राज्य अमेरिकाले बढ्दो द्वन्द्वका बीच जेरुसेलममा आफ्नो दूतावास शुक्रबारसम्म बन्द गरिरहेको बताएको छ, तर अमेरिकीहरूलाई ‘सङ्कट क्षेत्र’ छोड्न मद्दत गर्ने बारेमा कुनै घोषणा गरिएको छैन । हिंसाको डरले तेहरानका धेरै बासिन्दा भागेका छन् । मङ्गलबार मानिसहरूले इन्धन र आधारभूत आपूर्तिहरू भण्डारण गर्न हतार गर्दा बेकरी र पेट्रोल स्टेसनहरू बाहिर लामो लाइनहरू लागेका थिए । मङ्गलबार भएको साइबर आक्रमणले इरानको मुख्य सरकारी स्वामित्वमा रहेको बैंकहरू मध्ये एक सेपाह बैंकलाई अपाङ्ग बनाएको फार्स समाचार एजेन्सीले जनाएको छ ।
तेल अभिवमा नियमित रूपमा हवाई आक्रमणको साइरन बजिरहँदा केही मानिस सपिङ मलमुनि रहेको भूमिगत पार्किङमा स्थानमा सरेका छन् ।
प्रतिक्रिया