- शिशिर सिंखडा, टोरण्टो (क्यानडा)
‘इन्टरनेशनल म्युजिक डे’ को अवसरमा आज शनिबार (२१ जुन) साँझ क्यानडाको ब्राम्पटन शहरमा ‘रामकृष्ण ढकाल साँझ’ (लाइभ म्युजिक) आयोजना हुँदैछ । नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालको एकल साँझ आज बेलुकी ७ देखि १० बजेसम्म हुनेछ ।
‘रामकृष्ण ढकाल साँझ’मा आधुनिक गीत-संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले जानकारी दिए । उनका अनुसार भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएको छ ।
पारिवारिक समूह ‘प्रगतिशील समुह’को आयोजनामा हुने कार्यक्रममा करिव सय जनाको सहभागिता रहने र कार्यक्रमको टिकट पनि बिक्री भैसकेको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिएका छन् ।
गायक ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिनेछन् ।
कार्यक्रममा गायक ढकालका चरीले त छाडेर गैगयो…, मनपराउने हजार भेटिन्छन्…, माया गर्नेको…, ओराली लागेको…, बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्… लगायत नारायण गोपालका केही गीत पनि सुनेर दर्शक–श्रोताले भरपुर मनोरञ्जन लिनेछन् ।
२०४५ सालमा १३ वर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन् । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौँ गीतहरू चर्चित छन् । उनले ५ हजार भन्दा बढी गीत गाएका छन् ।
प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहने भन्दै आयोजकले कार्यक्रममा सहभागी हुनका लागि आग्रह समेत गरेका छन् । सो कार्यक्रमको मुख्य प्रायोजक ‘पोख्रेल ल फर्म’ रहेको छ भने प्रायोजकमा एक्सपेरियर फाइनान्सिएल ग्रुप, एभरेष्ट रियालिटीका जगन सापकोटा र गणेश ज्ञवाली, एडमार्कका रुद्र कार्की र तावाघर रेस्टुरेन्टकी संचालक सीता राना रहेका छन् । मिडिया पार्टनरमा क्यानडा नेपाल न्युज डट्कम रहेको छ ।
प्रतिक्रिया