काठमाडौं उपत्यकामा २४सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने मन्त्री यादवको दाबी

काठमाडौं उपत्यकामा २४सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने मन्त्री यादवको दाबी


खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकावासीका घरघरमा अब २४सै घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने दाबी गरेका छन् ।

शनिबार (७ असार) बुढानीलकण्ठ नगरपालिका-४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई औपचारिक तवरले हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौंवासीले अब वर्षा र हिउँदका कुनै पनि मौसममा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको अभाव भोग्नुनपर्ने तथा मेलम्चीको पानी दैनिक रुपमा वितरण गरिने बताए।

उनले भने, ‘काठमाडौंवासीलाई स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति सुनिश्चित गर्न रिबर्मा खोलामा खानेपानी ट्याङ्की निर्माण गरी परीक्षण कार्यपनि सफल भएको छ । अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंमा वितरण हुनेछ ।’

विगतका वर्षमा माघ महिनामा मात्रै काठमाडौंमा मेलम्चीको पानी आउने गरेको उदाहरण भएपनि आफुले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि असोज महिनामै यहाँ पानी ल्याएर खुवाउन सफल भएको उनको जिकीर थियो ।

मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिसत नागरिकलाई स्वच्छ र दिगो खानेपानी सेवाको पहुँच पुर्‍याउन आवश्यक रणनीति बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । उनले भने, ‘खानेपानीलाई मानवअधिकारको रूपमा सुनिश्चित गर्दै, पहुँचविहीन बस्तीमा समेत समान पहुँच र गुणस्तर सुनिश्चित गर्ने हाम्रो मुख्य प्राथमिकता हो । सोहीअनुसार हामीले आफ्नो काम अगाडि बढाएका छौँ ।’

मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिका लागि मेलम्चीको विकल्प मेलम्ची नै भएको तर्क गर्दै भने, ‘काठमाडौंमा पानी आपूर्तिका लागि मेलम्चीको विकल्प मेलम्ची नै हो, तर वर्षाको कारण मेलम्चीको ढोका बन्द गर्नु परेमा यहाँ शिवपुरी लगायतका क्षेत्रबाट पनि थप पानी ल्याइ वितरण गरिनेछ ।’

काठमाडौं उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास भइरहेको भएपनि वन मन्त्रालय र निकुञ्जले विभिन्न कानुनी अड्चन तेर्स्याउँदा समस्या उत्पन्न भइरहेको गुनासो उनले गरे ।

उक्त खानेपानी आयोजनाको निर्माण बागमती प्रदेश सरकार अन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नं. ५, बुढानीलकण्ठ नगरपालिका र केयुकेएलको संयुक्त समन्वयमा सम्पन्न भएको जनाइएको छ ।