बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक कुम्भमेलाको तयारी

बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक कुम्भमेलाको तयारी


  • विशेष प्रतिनिधि, बेल्जियम

नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संजाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आफ्नो छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन बेल्जियममा गर्ने तयारी पूरा गरेको छ । पोर्तुगल, अमेरिका तथा सिक्किमबाट केही प्रतिनिधि तथा पाउनाहरु बेल्जियम आइपुगेका छन् भने अन्य देशहरुबाट पनि पाउनाहरु आउने क्रम जारी छ।

कार्यक्रम यही जून २३ देखि २५ सम्म बेल्जियमको दोस्रो ठुलो शहर आन्त्वेर्पेनमा हुने आयोजक समितिका संयोजक सौरभ कारंजितले बताएका छन् । उनले दिएको जानकारी अनुशार पहिलो दिन अनुष्ठान-उद्घाटन, शुभकामना आदानप्रदान र गजल लगायतका कार्यक्रम हुनेछन् भने दोश्रो र तेश्रो दिन संगठनका आन्तरिक जीवनसँग सम्बन्धित कार्यक्रमहरु हुनेछन् । त्यस्तै, जून २६ र २७ तारिकका दिन निदरल्याण्ड, आम्स्टर्डाम, ब्रुसेल्स तथा इपर लगायतका स्थानमा साहित्यिक भ्रमण हुने कार्यक्रम तय गरिएको छ।

अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन सम्पन्न गर्न आयोजक शाखा अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारञ्जितको संयोजकत्त्वमा गठन गरिएको मूल तयारी समितिका सदस्य तथा अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले भनेका छन्, ‘संसारभरि छरिएर रहेका नेपाली साहित्यकार तथा संस्कृतिविदहरुको अन्तर्राष्ट्रिय अनुष्ठान हो, त्यसैले यो अनुष्ठानमा नेपालीहरुको ब्यापक सहभागिता रहनेछ । सबैले सहयोग र सुभेच्छा प्रकट गर्नुभएको छ । हामीलाई सबै क्षेत्रबाट हौसला प्रदान भैरहेको छ। सबै नेपालीको पहिचानको समष्टि आवाज त्यो अनुष्ठानमा प्रकट हुनेछ । यो अवसर बेल्जियमका नेपालीलाई प्रदान गरिनु गौरवको विषय हो । हामी अनेसास केन्द्र र संसारभरिका हाम्रा साखाहरुप्रति आभारी छौँ।’

संसारभर छरिएर रहेका च्याप्टरका प्रतिनिधि र केन्द्रीय पदाधिकारीहरुबीच नजिकको सम्बन्ध बनाउने, नेपाली साहित्यको सिर्जनाको गुणस्तर अभिवृद्धि र विश्व साहित्यमा नेपाली साहित्यको प्रवर्द्धन गर्ने हेतुले यो सम्मेलन गरिन लागेको आयोजक कोर कमिटी सदस्य तथा युरोपका सह संयोजक पंचम अधिकारीले जानकारी दिए ।

उनका अनुशार सम्मेलनको दोश्रो र तेश्रो दिन संगठनात्मक तथा साहित्यसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गर्ने, संस्थाको आन्तरिक जीवनबारे छलफल गर्ने, विभिन्न साहित्यिक विषयमा सामुहिक बहस गर्ने, सर्वोत्कृष्ट शाखा पुरस्कार वितरण, कविता एवं गजल वाचन र बेल्जियम घोषणापत्र जारी गर्ने तयारी रहेको छ। त्यसैगरी तीनदिवसीय औपचारिक सम्मेलनपछि अनुष्ठानको समापन हुनेछ र आगन्तुक पाहुनाहरूका लागि दुईदिवसीय साहित्यिक भ्रमणको समेत आयोजना गरिनेछ।

अनेसास केन्द्रीय कार्यसमिति र बेल्जियम शाखाको समन्वयमा सम्मेलन आयोजना हुनेछ । यसका निम्ति केन्द्रीय कार्यसमिति, बिओटी, युरोप क्षेत्रीय समिति र आयोजक शाखाका पदाधिकारीहरूको अप्रिल २७ मा भएको विशेष तयारी समितिको बैठकमा कार्यक्रमको तयारीबारे समीक्षा गरिएको थियो ।

प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मेलन सन् २०१६ बाट सुरु गरिएको हो । यसअघि पाँचौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन अमेरिकाको बोस्टनमा भएको थियो भने गतवर्ष विश्व अनुष्ठान पोर्तुगलको राजधानी लिस्बोनमा भएको थियो ।