अनेसास विश्व सम्मेलन : दोश्रो दिन नेपाली साहित्यको आधुनिक धारमाथि ब्यापक विमर्श

अनेसास विश्व सम्मेलन : दोश्रो दिन नेपाली साहित्यको आधुनिक धारमाथि ब्यापक विमर्श


  • विशेष प्रतिनिधि, बेल्जियम

बेल्जियमको आन्त्वेर्पेन शहरमा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) को छैटौं सम्मेलनको दोश्रो दिनको कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ।

दोश्रो दिन, अनेसास अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी (बिओटी)का सभापति पदम विश्वकर्माले शुभकामना मन्तब्य दिएर पहिलो चरणको कार्यक्रमको शुरुवात गरेका थिए ।

दोश्रो चरणमा अनेसास क्यानडाका संस्थापक अध्यक्ष तथा अनेसास बाल समितिका संयोजक सुरेन उप्रेतीलाई ‘अनेसास हिरो’को घोषणा गरियो । त्यसपछि उनलाई अनेसासका अध्यक्षले दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कार समेत प्रदान गरेका थिए ।

कार्यक्रमको तेश्रो चरणमा अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीद्वारा लिखित ‘युरोपका नेपाली स्रष्टा’ नामक पुस्तक, उपाध्यक्ष डिल्ली अम्माई (अनाथ अङ्कल)को ‘निरपेक्ष अस्तित्वको खोज’नामक कविता संग्रह लगायत दर्जन जति साहित्यकारहरुका पुस्तकहरु अनेसासका अध्यक्ष सर्वज्ञ वाग्ले, बिओटी सभापति पदम विश्वकर्मा, अनेसासका सल्लाहकार तथा साहित्यकार गोबर्धन पुजा, वरिष्ठ नेपाली भाषाविद प्रो. राम पाण्डे, डा. प्राध्यापक कविता लामा, प्राध्यापक पुष्पा शर्माले विमोचन गरेका हुन् ।

कार्यक्रमको चौथो चरणमा अनेसासका शाखा अध्यक्ष तथा प्रतिनिधिहरुले आ-आफ्नो शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्ने च्याप्टरहरुमा अनेसास बेलायत, बोस्टन, बेल्जियम, क्यानाडा, बोर्ड अफ ट्रष्टी, फ्रान्स, नोर्थ करोलाना, नर्वे, सिक्किम, जर्मन, पोर्चुगल, स्पेन, पोल्याण्ड, जोर्जिया, नेब्रास्का, कोरिया, जापान, युरोपलगायत रहेका छन् ।

च्याप्टर सम्मेलन दोश्रो दिनको पाँचौ चरणमा अनेसास ‘भारतमा नेपाली साहित्य,आधुनिक वैश्विक लेखकीय धार तथा लिला लेखन’ भन्ने विषयमा चर्चापरिचर्चा तथा बहस कार्यक्रम गरिएको छ। उक्त विषयमा सिक्किमबाट सम्मेलनमा आउनु भएका प्राज्ञ डा. प्राध्यापकद्वय कविता लामा, प्राध्यापक पुष्पा शर्मा र अमेरिकाबाट आउनुभएका लीलालेखन विज्ञ साहित्यकार नारायण अधिकारीले उक्त विषयको चिरफार गरेका छन। उक्त विषयको सहजीकरण प्राध्यापक उषा शर्माले गरेकी थिइन् ।

कार्यक्रमको छैटौँ चरणमा अनेसासका निवर्तमान अध्यक्ष गोबर्धन पूजाद्वारा ‘अनेसास च्याप्टर हिजो, आज र भोलि’ शीर्षकको कार्यपत्र प्रस्तुत गरियो भने साहित्यकार तथा अनेसास युरोपका सहसंयोजक पंचम अधिकारीले ‘नेपाली साहित्यमा युरोपेली भाष्य र भविष्य’नामक कार्यपत्र प्रस्तुत गरेका थिए । ती दुवै कार्यपत्रलाई सम्मेलनले अनेसासको सम्पतिको रुपमा स्वीकार गरेको थियो।

कार्यक्रमको सुन्य समयमा कवि लक्ष्मी सापकोटा पाण्डेले आफ्नो कवितात्मक मन्तब्यसहित सम्मेलनलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै सबै पाहुनाहरुलाई विश्व सम्पदा सूचीमा रहेको नर्थ युरोपको भेनिस भन्ने उपनाम पाएको विश्वप्रसिद्ध ऐतिहासिक ब्रुज सम्पदा शहर घुम्ने निम्ता दिइन् ।

उक्त दिनको कार्यक्रमको अन्त्यमा अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेले यस कार्यक्रम सफलतापुर्वक सम्पन्न गराइदिनुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिएका थिए ।

अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले अध्यक्षता गरेको दोश्रो दिनका सबै चरणहरुको कार्यक्रमलाई अनेसासका उपाध्यक्षद्वय सुदिप भद्र खनाल र डिल्ली अम्माईले संचालन गरेका थिए ।

अन्त्यमा, अनौपचारिक मनोरन्जनात्मक सत्रमा आन्त्वेर्पेन शहरमा खानपिन समारोहमा उपस्थित साहित्यकारहरुले आ-आफ्नो कविता, गजल, मुक्तकलगायत बिभिन्न विधाका साहित्यिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत दिएका थिए भने उक्त साहित्यिक/सांगीतिक कार्यक्रम अनेसास पोल्याण्ड च्याप्टरका अध्यक्ष सुसन परियारले संचालन गरेका थिए ।

तेश्रो दिनको कार्यक्रममा बोर्ड अफ ट्रष्टी र अनेसासको अन्तरसम्बन्ध,अनुसासन,काम गर्ने तौर तरिकाबारे बहस तथा प्रशिक्षण कार्यक्रम हुनेछ । त्यसको लगत्तै बेल्जियम घोषणापत्र जारी गर्दै पुरस्कार वितरण, सम्मान तथा कदर पत्र प्रदान गरि साहित्यिक अनुष्ठानको समापन गरिने जनाइएको छ।