विश्व-अनुभवलाई विश्लेषण गर्दा पपुलिज्म क्षणिक, हानिकारक र भ्रमपूर्ण मान्यता रह्यो । यसले नागरिक, समाज र मतदातालाई भ्रममा राख्दै ‘पोलिटिकल स्टन्ट’ र ‘फ्रड’ मात्र गऱ्यो । ग्रेट आइडियाको फाउन्डेशनमा आएको इनलाइन्टमेन्ट हुँदै राजनीतिमा उदाएका पपुलिस्टहरू समाजको लागि हानिकारक हुनेरहेछन् भन्ने कुरा अमेरिकी राष्ट्रपतिका आदेश, गतिविधि र निर्णयहरूबाट समेत देखिँदैछन् ।
✍ डा. प्रेमराज सिलवाल, अधिवक्ता
राजनीतिक, वैचारिक र कानुनी इनलाइटमेन्ट (जागरण) को इतिहासबाट विकसित चेतनाले मुलुक र विश्व समाजलाई समृद्ध बनाउँदै ल्यायो । जसले पूरातन, परम्परागत र निरंकुश सोच तथा शासनशैली बदल्न सहयोग गऱ्यो । यता पछिल्लो समयमा विकास भएको पपुलिज्म (लोकप्रियतावाद)ले चर्का र असम्भव नारा दिएर क्षणिक जनआक्रोशको मात्र सम्बोधन गऱ्यो । जसले दीर्घकालमा चौतर्फी हानी, नोक्सानी र क्षति गरिरहेको छ ।
भूराजनीतिमा राजनीतिक र सामाजिक जागरण ल्याउने धेरै विचार, क्रान्ति तथा घटनाहरू रहे । सन् १२१५ मा बेलायतमा राजाको दमन, अन्याय र अत्याचारको विरूद्ध जनप्रतिरोध भएपश्चात् म्याग्नाकार्टा नामको कानुन ल्याउन राजा जोन (११६६-१२१६) बाध्य भए, जसमा राजाले नागरिकको वैयक्तिक जीवनमा हस्तक्षेप गर्न नपाउने कुरा लेखियो । त्यसले युरोपमा राजनीतिक र कानुनी इनलाइटमेन्टको बिउ रोप्यो । तथापि, युरोपका विभिन्न देशमा रहेका अनेकौँ राजा, शासक, धर्मगुरु र निरंकुश सत्ताहरूले दमनपूर्ण तरिकाबाट शासनहरू सञ्चालन गरिरहे, जहाँ नागरिक अधिकारलाई पूर्णतः नियन्त्रित तथा सीमित गर्ने गरियो । राजा र शासकको आदेशविरूद्ध बोल्न हुन्न भन्ने धारणाको विकास गराइयो । नागरिक अधिकार नभएको र प्रश्न गर्ने सोच एवम् दार्शनिक ज्ञानको समेत कमी भएकाले बाह्रौँदेखि सोह्रौँ शताब्दीको त्यो समयलाई ‘पोलिटिकल्ली डार्क एज’ भनियो । राजा, धर्मगुरु, पादरी र शासन/सत्तामा रहेकाहरूका गैरकानुनी र अन्याययपूर्ण आदेशका विरूद्ध आवाज उठाउने, प्रश्न गर्ने र आफ्नो निजी अधिकार, हित तथा सम्मान खोज्ने सोचको विकास सत्रौँ शताब्दिमा आएर मात्र बढी देखियो । युरोपमा आएको इनलाइन्टमेन्टबाट नागरिकमा क्रान्ति, परिवर्तन र नागरिक अधिकारप्राप्तिको भावनामा वृद्धि भयो । जसले विश्वको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा समग्र चेतनामा परिवर्तन गरिदियो ।
इनलाइटमेन्ट हुनुमा युरोपमा सत्रौँ र अठारौँ शताब्दीमा बढी चर्चामा आएका दार्शनिक, विचारक तथा विधिशास्त्रीहरूका विचार एवम् दर्शनहरूको अग्रणी भूमिका रह्यो । तिनका विचार, धारणा, दर्शन र मान्यताहरूको प्रभाव युरोप हुँदै विश्वव्यापी रूपमा पऱ्यो । इनलाइनमेन्ट आफैंमा अन्तहीन मानवीय, सामाजिक, राजनीतिक, कानुनी, आर्थिक तथा सांस्कृतिक परिवर्तनको प्रक्रिया पनि हो, जुन हिजो थियो, आज छ, भोलि पनि रहनेछ । यद्यपि, हिजो जुन रूप, विधि र प्रक्रियामा थियो आज रहेन । भोलि अझ समृद्ध, परिस्कृत र परिमार्जित हुँदै जानेछ ।
मूलतः राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार र कानुनी तथा संवैधानिक परिवर्तन गर्न जागरण सहयोगी बन्यो । दार्शनिकहरूले राजनीतिक र कानुनी अधिकारप्राप्तिका लागि नागरिकले स्वतन्त्रताको लडाइँ लड्न आवश्यक ठाने । बेलायती विधिशास्त्री थोमस हब्स (१५८८-१६७९) ले राज्यको धारणा दिँदै अलौकिक शक्ति, चर्च, धर्मगुरु, पादरी र अनिर्वाचित व्यक्तिको शासनको विरोध गरे । उनले राज्यमा अनेकौँ बहुशासक हुने होइन भन्दै नागरिकको प्रतिनिधित्व हुने शासनको पक्षमा बोले । नागरिकका प्रतिनिधिद्वारा कानुनको निर्माण गर्नुपर्ने उनको धारणा थियो । त्यतिबेला त्यस प्रकारको धारणाले वैचारिक र दार्शनिक स्तरमा हलचल ल्याइदियो । उनले नागरिक र राज्यकाबिचमा सामाजिक करार हुने भने ।
प्राकृतिक अधिकारको रक्षा, उदारवाद तथा सामाजिक करारको धारणा सार्वजनिक गर्ने बेलायती दार्शनिक जोन लक (१६३२-७०४) जो नागरिक अधिकारको सुरक्षाको सन्दर्भमा अग्रिणी रहे । ‘टु ट्रिट्रिज अफ गोभरमेन्ट’ (१६८९) नामक पुस्तकमा लकले मानिसको लाइफ, लिबर्टी र प्रोपर्टी (जीवन, स्वतन्त्रता र सम्पत्ति) को सुरक्षाको अनिवार्यता देखे । मानवअधिकारको सुरक्षा, नागरिक अधिकार तथा प्रत्येकले सम्मानपूर्वक बाँच्नको लागि उल्लिखित लाइफ, लिबर्टी र प्रोपर्टीको सुरक्षा राज्यले गर्नुपर्ने उनको धारणा रह्यो । फ्रान्सेली दार्शनिक भोल्तियर (१६९४-१७७८) ले राज्य र शासकका विरूद्ध नागरिक अधिकारका लागि तर्क र कारण खोज्नुपर्ने भने, जसले युरोपमा राजनीतिक र सामाजिक जागरण ल्याउन ठूलो सहयोग गऱ्यो । मन्टेस्क्यु (१६८९–१७५५) ले सन् १७४८ मा ‘स्पिरिट अफ ल’ नामक पुस्तक लेखेर राज्यमा सरकार, संसद र न्यायालयकाबिच शक्तिको पृथकीकरण गर्नु अनिवार्य भएको भने ।
यस्तै, बेलायतका विधिशास्त्री जेरेमी बेन्थम (१७४७-१८३२) ले कानुनले बहुसंख्यक मानिसको हितको सुरक्षा गर्नुपर्ने बोले । फ्रान्सेली दार्शनिक ज्यान ज्याक रुसो (१७१२-१७७८) ले मानिस स्वतन्त्र जन्मेको हुन्छ भन्दै सामाजिक करारको मान्यतालाई समर्थन गरे । प्रत्येक मानिस अधिकार र सम्मानको दृष्टिमा समान प्रकारले जन्मन्छन् भन्ने दृष्टिकोण उनको रह्यो । रुसी दार्शनिक इम्युनियल कान्ट (१७२४-१८०४) ले सबै प्रकारका धार्मिक अन्धवाद र रुढीवादी प्रथाको विरोध गरे । उनले ‘ह्वाट इज इनलाइन्टमेन्ट’ (१७७४) नामक पुस्तक लेखे । मानवीयता र नैतिकतामा जोड दिँदै कान्टले राज्यले सबैलाई समान व्यवहार गर्नु पर्ने भने । राज्यले न्याय र स्वच्छ व्यवहार गर्नुपर्ने भन्दै नागरिक स्वतन्त्रताको पक्षमा भोल्तेयर बोले । अमेरिकी विचारक थोमस पाइने (१७३७-१८०९) जो स्वतन्त्रताको पक्षपाती रहे, उनले राजाको शासनको सट्टा नागरिक शासन आवश्यक हुने भन्दै अमेरिकी स्वतन्त्रता सङ्ग्रामसम्बन्धी दस्ताबेज निर्माणमा ठूलो विचारधारात्मक समर्थन गरे ।
यसैगरी, जर्मनका हेगेल (१७७०-१८३१) चाहिँ धर्म र नैतिकतामा जोड दिन्थ्ये । बेलायतका जोन इस्टुअट मिल (१८०६-१८७३) ले ‘अन लिबर्टी’ नामक पुस्तकमा राजनीतिक स्वतन्त्रताको आवाज उठाए । जर्मनका दार्शनिक कार्ल मार्क्स (१८१८-१८८३) ले हेगेलको डाइलेटिक आइडालिज्म (आदर्शवाद) लाई उल्टो पार्दै डाइलेक्टिक मेटरालिज्म (भौतिकवाद) को सिर्जना गरे । समाजमा पुँजीपतिले गरीब र मजदुरको शोषण गर्ने भन्दै क्रान्तिबाट मजदुरको सत्ता ल्याउनुपर्नेमा उनको जोड थियो । जर्मन दार्शनिक फ्रेडरिच निच्छे (१८४४-१९००) ले ‘गड इज डेड’ भने । उनले क्रिश्चियानिटीको भ्रमबाट बाहिर आउन नागरिकलाई अपील गरे ।
बेलायती ए.भी. डायसी (१८३५-१९२२) ले विधिको शासन (रुल अफ ल) मा जोड दिए । प्रत्येक व्यक्तिलाई कानुनले समान व्यवहार गर्नुपर्ने कुरामा उनको जोड रह्यो । त्यसैगरी आधुनिक भूराजनीतिमा प्रभाव भएका अमेरिकी अभियन्ता डा. मार्टिन लुथर किङ जुनियर (१९२९-१९६८) ले सबै नागरिकको समानता, स्वतन्त्रता तथा अधिकारको रक्षा हुनुपर्ने आवाज उठाए । इनलाइनमेन्टको यात्रामा उल्लिखित दार्शनिक ग्रेट आइडिया (विचार)हरू र अनेकौँ विधिशास्त्रीहरूका धारणाले भूराजनीतिमा तरङ्ग ल्यायो ।
स्वतन्त्रता र सामाजिक करार सिद्धान्तको अमेरिकी स्वतन्त्रता सङ्ग्राम (१७७६) मा बढी प्रभाव देखियो । स्वतन्त्रताका पिता थोमस जेफर्सनले जोन लक र रुसोको धारणालाई अमेरिकी स्वतन्त्रता संग्रामको दस्तावेजमा लेखे- ‘लाइफ, लिबर्टी, प्रपर्टी एण्ड परस्युट अफ ह्याप्पीनेस ।’ रुसोको दर्शनले फ्रान्सेली क्रान्ति (१७८९) मा सहयोग गऱ्यो । सन् १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गऱ्यो । चीनमा सन् १९४९ मा जनवादी गणतन्त्र प्राप्त भयो । यस्ता विश्वलाई प्रभावित पार्ने घटना, ‘ग्रेट आइडिया’ र इन्लाइटमेन्टको कारण युरोप तथा विश्वमा विभिन्न राजनीतिक, सामाजिक तथा कानुनी अधिकार प्राप्तिका लागि क्रान्तिहरू भए । नेपालका राजनीतिक र संवैधानिक परिवर्तनहरूमा समेत उल्लिखित ग्रेट आइडिया तथा इन्लाइटमेन्टको सकारात्मक प्रभाव अनुभव गर्न सकिन्छ ।
ग्रेट फिलोसोफिकल आइडिया (महान् दार्शनिक विचार) तथा इन्लाइटमेन्टद्वारा प्राप्त अधिकार र अवसरको दूरुपयोग पपुलिज्जम (लोकप्रियवाद) गऱ्यो । पपुलिस्टसम्बन्धी सोचले आफूलाई राजनीतिको चमत्कारिक ‘सुपरम्यान’ र हिरो मान्दछ । जनता, नागरिक र समाजलाई ठूलो भ्रममा पार्न ‘फन्टुस’ र ‘फ्रड’ सोचका अभिव्यक्ति दिएर चर्चाको शिखरमा पुग्ने एवम् राजनीतिक वा अन्य निजी अभिष्ट पूर्ति गर्ने शैलीको विकास पपुलिस्टले गर्दछ । बिसौँ शताब्दीको मध्यमा जर्मनमा एडोल्फ हिटलर (१८८९-१९४५) अतिवादी सोचबाट अगाडि आए । नागरिक, समाज र मुलुकहरूमा त्रास र भ्रम पैदा गरेर विश्व विजेता बन्न चाहन्थे । उनको त्यो भ्रमले दोस्रो विश्व युद्ध (१९३९-१९४५) निम्त्यायो । जहाँ लाखौँलाख मानिसको हत्या गरियो । असंख्य भौतिक संरचना र साधन ध्वस्त पारियो ।
भूराजनीतिमा आएको पछिल्लो संस्करणको पपुलिज्मले भनेजुयलामा ह्युगो चावेजलाई सन् १९९९ देखि सन् २०१३ सम्म राष्ट्रपति पदमा पुऱ्यायो । मुलुक कङ्गाल र सर्वाधिक भ्रष्ट बन्यो । अमेरिकामा डोनाल्ड ट्रम्पलाई सन् २०१७ मा राष्ट्रपतिमा निर्वाचित गरायो । सन् २०२४ मा पनि ‘मेक अमेरिका ग्रेट एगेन’को पपुलिस्ट नाराबाट ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भए । उनको ‘अमेरिका फस्ट’को नीति र डिसिजनले भूराजनीतिमा आशंका तथा अविश्वास बढाएको छ । रुस-युक्रेन युद्ध रोकिनेमा आशङ्का पैदा भएको छ । भारतमा पपुलिज्मको सिर्जनात्मक प्रयोग गर्दै धार्मिक नारामा सन् २०१४ देखि भाजपाका नरेन्द्र मोदी सत्तामा छन् । सुशासनको पपुलर नारा दिएर सन् २०१३ देखि सन् २०२४ सम्म ‘आप’का अरविन्द केजरीवाल दिल्लीको मुख्यमन्त्री बने । भ्रष्टाचारको आरोपबाटै उनी सत्ताबाट बाहिर पुगे । राष्ट्रियता र विकासको पपुलर नारामा सन् २००० देखि हालसम्म रुसमा भ्लादिमिर पुटिन सत्तामा छन् । उनले सन् २०२२ फेब्रवरी २४ देखि युक्रेनमाथि सैन्य हमला जारी राखेका छन् । युक्रेनी राष्ट्रपति भ्लादिमिर झिलिनोस्कीको अतिवादी, उग्र र पपुलिष्ट सोचले मुलुक ध्वतः पाऱ्यो ।
परम्परागत राजनीतिक दलहरूलाई ‘चोर र भ्रष्ट’ भन्दै पपुलिस्ट नारा दिएर सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री रहेका इमरान खान अहिले स्वयम् भ्रष्टाचारको मुद्धामा जेलमा छन् । नेपालमा पनि पपुलिज्मको दुश्चक्रबाट राजनीतिमा आउने क्रम बढेको छ । विश्व-अनुभवलाई विश्लेषण गर्दा पपुलिज्म क्षणिक, हानिकारक र भ्रमपूर्ण मान्यता रह्यो । यसले नागरिक, समाज र मतदातालाई भ्रममा राख्दै ‘पोलिटिकल स्टन्ट’ र ‘फ्रड’ मात्र गऱ्यो । ग्रेट आइडियाको फाउन्डेशनमा आएको इनलाइन्टमेन्ट हुँदै राजनीतिमा उदाएका पपुलिस्टहरू समाजको लागि हानिकारक तथा घातक हुनेरहेछन् भन्ने कुरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आदेश, क्रिया, गतिविधि र निर्णयहरूबाट समेत देखिँदैछन् ।
प्रतिक्रिया