इजरायली आन्तरिक सुरक्षा निकाय शिन बेटले पश्चिमी तटको हेब्रोन क्षेत्रमा हमाससँग सम्बन्धित एक ‘ठूलो सञ्जाल’ लाई पक्राउ गरिएको जानकारी दिएको छ । यस अभियानको क्रममा ६० जना हमास सदस्यहरूलाई पक्राउ गरिएको आइतबार एक विज्ञप्ति जारी गर्दै जनाइएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार पश्चिमी तटको हेब्रोन क्षेत्रमा क्रियाशील एक महत्वपूर्ण, जटिल र व्यापक हमास संरचना पत्ता लागेपछि कारबाही गरिएको हो ।
शिन बेटका अनुसार, सो सञ्जाल अन्तर्गत १० वटा छुट्टाछुट्टै समूह (सेल)हरु सक्रिय थिए, जसले नजिकको समयमा विभिन्न प्रकारका आक्रमणहरू गर्ने योजना बनाइरहेका थिए ।
विज्ञप्तिमा थप भनिएको छ, ‘हमासका नेताहरूले उक्त क्षेत्रबाट नयाँ सदस्यहरू भर्ती गर्ने, तिनीहरूलाई हतियार उपलब्ध गराउने र आक्रमणका लागि तालिम दिने कार्य गरिरहेका थिए ।’
इजरायली सुरक्षा निकायका अनुसार, सेना र प्रहरीको सहयोगमा गरिएको तीन महिनाको संयुक्त अनुसन्धान पछिल्लो दस वर्षको सबैभन्दा ठूलो अपरेशन हो ।
पक्राउ परेकाहरूमाथि आतङ्कवादसम्बन्धी अभियोगहरू दर्ता गरिने प्रक्रियामा रहेको जनाइएको छ । तथापि, हमास पक्षबाट भने यसबारेमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिइएको छैन ।
प्रतिक्रिया