नेतृत्व पङ्क्तिले भ्रष्ट बनाएको नेपाली समाज

नेतृत्व पङ्क्तिले भ्रष्ट बनाएको नेपाली समाज


गणतन्त्र नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । २०४६ सालमा प्रजातन्त्र स्थापनापश्चात् नेपालका कुनै पनि प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोपमा एउटा संवैधानिक निकायले छानवीनको घेरामा ल्याएको यो पहिलोपटक हो । यद्यपि। अख्तियार प्रमुख प्रेम राई स्वयम् अख्तियार दुरुपयोग गरेका व्यक्ति मात्र होइनन्, एमालेका एकखाले निख्खर कार्यकर्तासरह नै भन्दा पनि हुन्छ । यसकारण उनका निर्णयहरू एमाले अध्यक्ष केपी ओलीका निर्देशन बाहिर जान सक्दैनन् । यतिबेला त झन ओली नै प्रधानमन्त्री जो छन् । त्यसो हुँदा माधवविरुद्धको यो कारवाही ओलीको प्रतिशोध पनि नहुन सक्ने कुरा भएन ।

किञ्चित पनि भ्रम नरहोस्‌- यहाँ माधवलाई चोखो भन्न खोजिएको होइन, मात्र प्रतिशोधको कुरा भन्न खोजेको हो । चोखो त माधवको मात्रै के कुरा, यहाँका कुन चाहिँ नेता भनिनेहरू रहे र ? स्वयम् ओली पनि त ठुल्ठुला भ्रष्टाचार मामलाका कारण आलोचित छन् ।

जे होस्, अख्तियारले माधव नेपालमाथि मुद्दा चलाएपछि ठूला माछाहरूलाई पक्रने क्रमको विधिवत् प्रवेश भएको छ । मन्त्रिपरिषद्को ‘नीतिगत निर्णय’का नाममा छानवीन नै हुन नपाउने जुन परम्परा रहिआएको थियो, त्यो केही हदसम्म तोडिएको छ । यद्यपि मन्त्रिपरिषद्ले गरेका सबै निर्णयहरू नीतिगत निर्णय हुँदैनन् भनेर अझै माधवलाई फसाएर भविष्यमा नीतिगत निर्णयका नाममा निरन्तर ब्रह्मलूट गर्ने प्रयत्न भइरहेको छ । एउटा कुरा बडो गजब छ – नीतिगत निर्णयमा प्रश्न उठाउन नपाइने र मुद्दा लगाउन नमिल्ने अरे १ यो एकदमै गलत कुरा हो र भ्रष्टाचारका लागि कानूनी ढोका खोलिदिनु हो ।

नीतिगत निर्णय भन्दै प्रधानमन्त्री र मन्त्रिपरिषद्ले दनादन भ्रष्टाचारका कामहरू गरिरहँदा चूप लागिरहने हो भने वर्तमान राजनीतिक नेतृत्वले सबै कुकृतिहरू मन्त्रिपरिषद्कै निर्णय अनुसार गर्नेछन् । जस्तो कि, कुलमान घिसिङलाई हटाउने निर्णय र बिजुलीको महसूल नतिर्ने उद्योगी-व्यापारीसँग अनुचित लाभ लिएर बिजुलीको लाइन जोडिदिने काम भएको छ । त्यसैले नीतिगत निर्णयमा मुद्दा नलाग्ने प्रावधान मात्र होइन, सोच समेत नै पनि बदल्नुपर्छ । तब मात्र राजनीतिक नेतृत्वमा सानोतिनो डर पस्ने छ । नत्र भने भ्रष्टाचार र अनियमितताले नीतिगत निर्णयका नाममा कानूनी मान्यता नै पाउने छ ।

कुरा पूर्वप्रधानमन्त्री माधव नेपालको मात्र होइन, गणतन्त्रपछिको हाम्रो मुलुकको राजनीतिक नेतृत्व अत्यन्तै अनैतिक, बेइमान र भ्रष्ट भयो । ऊ आफूले अनियमितता र भ्रष्टाचार मात्र गरेन, सम्पूर्ण नेपाली समाजलाई, समाजको मानसिकतालाई भ्रष्टीकरण गरिदियो । आफू भ्रष्ट हुनु आफैंमा अपराध हुँदै हो । सिंगो समाजको मानसिकता भ्रष्टीकरण गरेर नेपालको राजनीतिक नेतृत्वले राष्ट्र र नेपाली समाजलाई नै धरापमा पारिसकेको छ । मानसिक भ्रष्टीकरणमा गएको देश र समाजले क्रमशः आफ्नो अस्तित्व समेत नै पनि गुमाउन सक्ने प्रबल सम्भावना रहन्छ ।

यतिबेला राष्ट्रका सबै अवयवहरूलाई राजनीतिज्ञ भनिनेहरूले यति कमजोर र निरीह बनाइसकेका छन् कि मुलुक थाम्ने जग मज्जाले मक्किसकेको छ । भ्रष्टाचार, अनियमितता र बेथिति जब मुलुकको नयाँ परिचय बन्छ – मुलुकको वास्तविक परिचय र पहिचान हराउँछ । सिङ्गो समाज नै भ्रष्ट मानसिकतामा गएपछि मूल्य-मान्यता र आदर्शको मृत्यु हुन्छ । हो, हाम्रो समाज यही मानसिक विचलनको चरम अवस्थामा छ । वर्तमानमा भ्रष्टाचार र अनियमितता केही मान्छेहरूले गरे भन्ने पीडा त पक्कै पनि हुँदै हो । त्योभन्दा बढी चाहिँ के हो भने, यो देशको राजनीतिक नेतृत्व आफू भ्रष्ट मात्र भएन; सिंगो समाजको मानसिकतालाई भ्रष्टीकरणमा पुर्‍याएको छ । राष्ट्र र समाजका लागि यो विषय अझै र थप खतरनाक भएको छ ।