आजको पञ्चाङ्ग एवम् राशिफल (२२ असार २०८२ आइतबार, ६ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ असार २०८२ आइतबार, ६ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थी नाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २२ गते तद्अनुसार सन् २०२५ जुलाई ६ तारिख आइतबार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि विशाखा नक्षत्र साध्य योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा तुला राशिमा १६ः२२ बजेसम्म त्यसपछि भ्रमरणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, पूर्वमा गुरु उदय ।

आजको राशिफल

मेष – नयाँ काम सुरु गर्न सकिने र श्रमको उचित मूल्य प्राप्त हुने समय छ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइने योग छ । कृषि तथा पशुपालनमा भने खर्च केही बढ्ने देखिन्छ । तथापि नियमित व्यवसायबाट धनलाभ हुनेछ । सन्तानसुख बढ्नेछ । मित्रजन सहयोगी बन्नेछन् । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – सामान्य प्रयासबाटै काममा सफलता मिल्ने र मिहेनतबाट अरूलाई आकर्षित गर्न सकिने समय छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कार्य पनि सजिलै पुरा हुनेछन् । व्यापारमा फाइदा हुनेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । मित्रजनले काममा सहयोग जुटाउनेछन् । पारिवारिक समस्याको समाधान मिल्नाले सुख वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – मिश्रित फलदायी समय छ । सामाजिक प्रतिष्ठा मिल्ने तथा गरेका कामको प्रशंसा हुनेछ, तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । कुनै महत्वपूर्ण निर्णय गलत ठाउँमा पर्न सक्छ । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुऱ्याइ बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित ब्यापार–व्यवसायबाट सोचेअनुसार लाभ हुनेछ । पहिलेका कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको मन फर्किने देखिन्छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । आफन्तहरू टाढिन सक्छन् । बौद्धिक कार्यमा हैरानी बढ्न सक्छ । ब्यस्तता बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ ।

सिंह – राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नुका साथै मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । आम्दानी वृद्धि हुनुका साथै मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र पनि अनुकुल एवम् शुभदायी रहेको छ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्ने योग छ । मित्रजनका साथ रमाइलो यात्राको सम्भावना छ ।

कन्या – रोकिएका काम बन्नुका साथै दीगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् भने यात्रा मनोरञ्जनपूर्ण र फलदायी रहला । कामको जिम्मेवारी थपिन सक्छ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्नसक्ने योग रहेकोले विशेष सजगता अपनाउनुहोला । रचनात्मक कार्यमा मन जानेछ । कार्यगति बढ्नेछ ।

तुला – अरूका काममा ज्यादा समय खर्चनुपर्ने दिन छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । शारीरिक कमजोरीका बाबजुद जिम्मेवारी भने बढ्ने देखिन्छ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । मिहेनतले यश–वर्चश्व वृद्धि गर्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – कामको सन्दर्भमा अलि प्रतिस्पर्धा गर्नुपरे पनि उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । । केही चुनौती देखापरे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । कोसिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिविवेकले राम्रो काम गर्नेछ । रोकिएको काम मिहिनेत बन्नेछ । आरोग्यबल बढ्नेछ, मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ ।

धनु – व्यावसायिक काममा राम्रै फाइदा हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने आँटे–गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । खर्च भने केही बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल र सफलता वृद्धिको समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ भने अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – नयाँ काम सुरु गर्ने समय छ, तर आकस्मिक खर्च वृद्धिले अप्ठ्यारोमा पार्न सक्छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग पनि छ । नियमित कामको चाप पनि बढ्न सक्छ । खर्चको मात्रा बढ्न सक्छ । सबल स्वास्थ्यको लागि खानपानमा विशेष सावधानी अपनाउनुपर्ला ।

मीन – चुनौतीयुक्त समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने सम्भावना रहेको विशेष सावधानी अपनाउनुहोला । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । नियमित काममा समेत केही चुनौती देखापर्नेछन् । स्वास्थ्य केही कमजोर रहन सक्छ । दौडधुप बढ्नेछ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला ।