✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २५ गते तद्अनुसार सन् २०२५ जुलाई ९ तारिख बुधबार आषाढ शुक्ल पक्षको चतुर्दशी तिथि मूल नक्षत्र ब्रम्हा योग गर करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।
आजको राशिफल
मेष – शत्रु परास्त भइ आँटेको काम पूर्ण हुने समय छ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहला । विपरीतलिंगी मित्रको सहयोगले कठिन काम पनि बन्ने योग छ । कृषिजन्य व्यापारिक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । मनोरन्जनका क्रियाकलापमा मन जाला । नयाँ स्थानको यात्रा सम्भावना छ । अनुकूलता वृद्धि भइ रोकिएको कामले पूर्णता पाउने दिन छ ।
वृष – बौद्धिकता तथा रचनात्मकता बढ्ने समय छ । नियमित कामको सन्दर्भमा सुरुमा मनमा द्विविधा बढेपनि पछि सहज परिस्थिति निर्माण हुनेछ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्न रहला । दाजुभाइको साथ-सहयोग पनि प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा विशेष प्रगति हुने देखिन्छ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउने योग छ । प्रेमसम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । सामाजिक क्रियाकलाप एवम् परोपकारमा मन जाला । आजको दिन खर्च भने केही बढ्नेछ ।
मिथुन – व्यापार-व्यवसायमा संलग्नहरूका लागि आजको दिन लाभकारी सावित हुन सक्छ । कृषि व्यवसायमा विशेष उन्नति हुनुका साथै आर्थिक उपार्जनको अवसर जुट्नेछ । स्वास्थ्य कमजोर या शारीरिक दुर्बलता बढ्ने देखिन्छ, ख्याल राख्नुहोला । प्रेम सम्बन्धमा चिसोपन बढ्न सक्छ, तर बोलीको प्रभाव वृद्धि भइ अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । साझेदारीको काम बन्नेछ । यात्रागत कार्य आजको लागि थाती राख्नु हितकर हुनेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । सभा-सम्मेलनमा सहभागी हुने अवसर जुर्ला । स्वास्थ्यसम्बन्धी शीर्षकमा खर्च बढ्ने योग छ । सबल स्वास्थ्यका लागि आहारबिहारमा नियन्त्रण राख्नु हितकर हुनेछ । कतै वादविवादको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ भने अघि बढ्न सकिनेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – नियमित काममा कार्यगति बढ्नेछ । नयाँ नोकरीको खोजीमा हुनुहुन्छ भने सफलता प्राप्तिको योग छ । कर्मचारी वर्गका लागि कामले प्रशंसा दिलाउने र पदोन्नतिको समेत सम्भावना छ । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ, तर आत्मीयजनसँग बिछोडको योग छ । अध्ययन-अध्यापनमा प्रगति होला । सन्तानपक्षबाट सुख बढ्नेछ ।
कन्या – बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । मित्र एवम् आत्मिय आफन्तजनसँगको भेटले हर्ष बढ्ला । सन्तानपक्षबाट सहयोगर सुख मिल्नेछ । यात्रागत कार्य पनि सार्थक रहनेछ । सफलताले मन रमाउला । दाम्पत्यजीवन सुमधुर रहनेछ भने प्रेम सम्बन्धमा पनि प्रगाढता आउने योग छ । रियलस्टेट व्यवसायमा रहनेका लागि विशेष लाभदायी दिन छ । मित्रजनको साथ-सहयोगले काम बन्नेछ ।
तुला – आँटेका विशेष कार्य-योजनामा सहयोगीहरूले साथ दिनाले हौसला बढ्ने समय छ । पढाइलेखाइमा रुचि बढ्ला । गुरुजनको आशीर्वाद रहनेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट महत्वपूर्ण सहायता मिल्ने योग छ । आरोग्यबल वृद्धिले पराक्रम पनि बढ्नेछ भने जटिल कार्यमा पनि सफलता मिल्ने योग छ । रोकिएका काम बन्नेछन् । व्यापारी वर्गलाई आर्थिक उपार्जनको लागि महत्वपूर्ण उपलब्धि मिल्ने देखिन्छ । स्वास्थ्य सामान्य रहनेछ ।
वृश्चिक – कार्यविशेषमा मिलेको आकस्मिक सफलताले मानसिक चञ्चलता तथा उत्साह बढ्ने समय छ । प्रतिनिधिमूलक यात्रा गर्ने अवसर जुर्ने योग छ । आफन्त तथा परिवारजनको भरणपोषणका निम्ति खर्चवृद्धि हुनसक्छ । व्यक्तिगत खर्च पनि बढ्ने देखिन्छ, योजना र बजेट बनाइ आर्थिक कारोबार गर्नु उचित होला । शैक्षिक तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धीहरू परास्त हुनेछन् ।
धनु – दीर्घकालीन उद्देश्यका आधा-अधुरा कामले पूर्णता पाउने समय छ । काममा कठिनाई देखिए पनि अन्ततः खशी मिल्ला । घर-जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने योजनामा अनुकुलता वृद्धि हुने देखिन्छ । आजको दिन सामाजिक एवम् धार्मिक कार्यमा संलग्न रहने योग छ । अनुसन्धानात्मक कार्यमा पनि आकर्षण बढ्ला । बुद्धिको प्रयोगले आयआर्जनको मार्ग खुल्न सक्छ । पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला ।
मकर – रोकिएका काममा प्रयत्न गर्दा विशेष सफलता मिल्नुका साथै विशेषगरी बौद्धिक क्रियाकलापमा लागि अनुकुल समय छ । ब्यापार-व्यवसाय पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहला । अध्ययन-अध्यापनको क्षेत्रमा राम्रा प्रगति हुने देखिन्छ । मान, पद प्रतिष्ठा प्राप्तिको योग छ । विभिन्न भौतिक साधन जुट्नुका साथै सुख-सुविधा तथा विलासी कार्यमा खर्च पनि केही वृद्धि हुन सक्छ ।
कुम्भ – प्रियजनसँग भेटघाट र प्रशन्नताको समय छ । कामबाट विश्राम लिने मौका जुर्ला । दैनिक कार्यमा सहयोगीहरूको राम्रो साथ मिल्ने देखिन्छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापारको प्रगति सामान्य रहनेछ । मित्रजनको साथमा मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता प्राप्त होला । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।
मीन – सानो कामका लागि पनि निकै दौडधुप गर्नुपर्ला । समाजमा कुरा काट्नेहरू बढ्नेछन् । दैनिक कार्यमा केही समस्याहरू देखिनसक्छ, सावधान रहनुहोला । खर्चिलो यात्रा गर्नुपर्ने योग छ । मित्रजनको सहयोग सामान्य रहनेछ, तापनि लगानीको उचित प्रतिफल मिल्ने देखिन्छ । सुखसुविधा र विलासिताको अवसर मिल्ने योग पनि छ । आफन्त एवम् परिवारजनको साथले कर्मबल बढ्नेछ । सुख-सुविधाको वस्तु बढ्नेछन् ।
प्रतिक्रिया