- युरोप प्रतिनिधि
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा यही १३ जुलाई २०२५ को दिन अनेसास युरोपले भानुभक्तका बंसज डा. प्रोफेसर ब्रतराज आचार्यको प्रमुख अतिथ्यतामा जुममार्फत् भब्य रुपले सम्पन्न भयो । अनेसास युरोपका संयोजक तथा केन्द्रिय उपाध्यक्षको डिल्ली अम्माईको सभापतित्वमा सम्पन्न भानुजयन्तीमा केन्द्रबाट वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी,निवर्तमान अध्यक्ष गोबर्धन पुजा, नेपालबाट केही श्रष्टालगायत युरोपका सहसंयोजक पंचम अधिकारीसहित अधिकतम च्याप्टर अध्यक्ष र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्राज्ञ तथा भानु प्रतिष्ठानका संरक्षक आचार्यले राष्ट्रिय विभुति भानुभक्तको जीवनी र सृजनाको समालोचनात्मक प्रवचन दिएका थिए । उक्त कार्यक्रमको संचालन अनेसास युरोपका सदस्य सचिव एनबी अन्जानले गरे भने समापन युरोपका सह संयोजक पंचम अधिकारीले गरेका थिए ।

बेल्जियम :
त्यस्तै सोही दिन बेल्जियमको ओस्टेण्डेमा अनेसास बेल्जियम र नेपाली समुदाय ओस्टेण्डेको संयुक्त आयोजनामा भानु जयन्तीको आयोजना गरिएको थियो । उक्त जयन्तीको पहिलो चरण ओस्टेण्डे समुदायका महासचिव सुदर्शन घिमिरे र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमका महासचिव गोपाल दाहालले संचालन गरेका थिए । अनेसासका अध्यक्ष सौरभ कारंजित र नेपाली समुदाय ओस्टण्डेका अध्यक्ष धर्म पाठकको सह-नेतृत्वमा सम्पन्न कार्यक्रममा भानुभक्तको काव्य साधना, योगदान र कृतित्वबारे चर्चा, विश्लेषण गर्दै तथा कविता वाचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालले भानुभक्त नेपाली जातिको भाषिक पहिचानका एक आधारस्तम्भ भएको बताउँदै उहाँको योगदान सदैव स्मरणीय रहने उल्लेख गरे । अनेसास केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईले भानुबाट सुरु भएको साहित्यिक यात्रा आज विश्वभरका नेपाली डायस्पोरामा फैलिएको बताए । यस्तै, अनेसास युरोप सह–संयोजक पंचम अधिकारीले भानुभक्तको योगदानलाई सम्पूर्ण नेपाली भाषी समाजको गौरवको विषय भएको बताए ।
कार्यक्रममा अनेसास युरोप सल्लाहकार ब्रम्हदत्त वाग्ले, गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, नेपाली समुदाय ओस्टण्डका अध्यक्ष धर्म पाठक, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजित, उपाध्यक्ष समीरराज शर्मा, लोकनाथ शर्मा तथा पूर्व आइसीसी सदस्य कमल पन्थीले भानुभक्तका योगदानबारे विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा हालै सम्पन्न छैठौं अनेसास च्याप्टर्स सम्मेलनका सहयोगदातालाई राजदूत लम्सालले प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथै, भानु जयन्ती अवसरमा डिल्ली अम्माई, राधाकृष्ण अधिकारी, दिनेश पोखरेल, गोपाल दाहाल, इन्दु नेवा, रुक्मिणी अमात्य, ब्रम्हदत्त वाग्ले, पंचम अधिकारीलगायतका थुप्रै कविहरूले आफ्ना रचना वाचन गरेका थिए ।
जयन्ती समारोहका संयोजक धर्म पाठकले आभार मन्तब्य तथा सभापति सौरभ कारंजितले समापन गरेपछि नेपाली समुदाय ओस्टण्डको आयोजनामा बारबिक्युको साथै कलाकार रमेशराज भट्टराईको प्रस्तुति रहेको सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो, जसले भानु जयन्तीलाई सांस्कृतिक र भावनात्मक उत्सवमा परिणत गर्यो ।
प्रतिक्रिया