बीपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक

बीपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक


बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक-खण्डमा साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक (धुलिखेल)मा मंगलबार (३१ असार) सम्पन्न सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

कार्यालयले मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ ।

यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले विपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ः०० बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।

काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने जानकारी दिए ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौँ यातायातका साधान आउजाउ गर्छन् ।