जापानमा उच्चरुपले तापक्रम वृद्धि हुने चेतावनी

जापानमा उच्चरुपले तापक्रम वृद्धि हुने चेतावनी


  • विशेष प्रतिनिधि, (टोकियो) जापान

जापान मौसम विभागले एक विशेष चेतावनी जारी गर्दै देशका धेरै क्षेत्रहरूमा जुलाई २८ आसपासबाट अत्यन्तै उच्च तापक्रम हुने सम्भावना रहेको जनाएको छ । यो अवस्था ‘१० वर्षमा एकपटक मात्र देखिने’ खालको उल्लेखनीय गर्मी हुनसक्ने भएकाले स्थानीय प्रशासन र जनतालाई सतर्क रहन आग्रह गरिएको छ।

मौसम विभागले ‘उच्च तापक्रमसम्बन्धी प्रारम्भिक मौसम सूचना’ जारी गरेको छ, जसमा होक्काइदो, तोहोकु, कान्तो-कोशिन, होकुरिकु, तोकाई, किन्की तथा चुगोकु क्षेत्र समेटिएका छन् ।

क्षेत्रगत उच्च तापक्रमको पूर्वानुमान अनुसार होक्काइदोमा जुलाई २८ बाट अत्यधिक गर्मीको सम्भावना रहेको छ । औसत तापक्रम सामान्यभन्दा २.८ डिग्री सेल्सियस बढी हुने अनुमान गरिएको छ । त्यसैगरी तोहोकु क्षेत्रमा ५ दिनको औसत तापक्रम सामान्यभन्दा २.७ डिग्री बढी हुन सक्ने सम्भावना । हाल पनि उच्च तापक्रम जारी छ । कान्तो-कोशिन क्षेत्रमा जुलाई २८ आसपासबाट तापक्रम २.१ डिग्री बढी हुने सम्भावना रहेको छ भने गर्मीका दिनहरू निरन्तर हुने संकेत गरेको छ।

त्यसैगरी, होकुरिकु क्षेत्रमा तापक्रम सामान्यभन्दा २.२ डिग्री बढी हुने सम्भावना छ । यो क्षेत्रमा पनि हाल उच्च तापक्रम जारी छ । तोकाई क्षेत्रमा औसतभन्दा १.९ डिग्री बढी तापक्रम हुने सम्भावना रहेको छ भने मौसम तातो हावाले ढाकिएको हुन सक्नेछ।

किन्की (निहोनकाई) क्षेत्रमा तापक्रम १.८ डिग्री बढी हुने सम्भावना रहेको छ । विशेषगरी जापान सागरतर्फको भागमा गर्मी बढी हुने संकेत गरेको छ । यसका साथै चुगोकु क्षेत्रमा पनि औसत तापक्रम १.८ डिग्री बढी हुन सक्ने सम्भावना रहेको छ।

मौसम विभागले भनेको छ कि यस्तो अत्यधिक गर्मीले तातोपनबाट हुने बिरामी (हिटस्ट्रोक) को जोखिम बढाउँछ । त्यसैले, बाहिर निस्कँदा पर्याप्त पानी पिउनुहोस् । छायाँ भएको शितल स्थान रोज्नुहोस् । शरीरलाई चिसो राख्ने उपाय अपनाउनुहोस् । र यो समयमा बुढाबुढी र बालबालिकाको विशेष हेरचाह गर्नुहोस् ।

जापानका धेरै क्षेत्रहरूमा जुलाई अन्त्यदेखि भयानक गर्मी हुने भएकाले सतर्कता, रोकथाम उपायहरू तथा सुरक्षित जीवनशैली अत्यावश्यक बन्ने देखिएको छ ।