अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लर्डस’मा आयोजित एक समारोहमा सम्मानित भएकी छन् । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित भएकी हुन् ।
सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डसका सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तीकरण र महिला स्वास्थ्य, पुनर्जीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताए ।
सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको धारणा राखिन् । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा धन्यवाद दिँदै मनिषाले भनिन्, ‘यो क्षण म जीवनभर सम्झिरहने छु, यो साँच्चिकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लर्डसमा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तीकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।’
बङ्गलादेश, भारत, पाकिस्तान र नेपाललगायतका ग्रामीण भेगमा अनेक कष्ट सहेर बाँचिरहेका महिलाहरु पीडित नभइ योद्धा भएको उनको भनाइ छ । दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरिन् । शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरैका लागि वास्तविकता भएको स्मरण गरिन् ।
आयोजक पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबिईले हाउस अफ लर्डसमा सम्मानित हुने कोइराला सम्भवतः प्रथम नेपाली महिला भएको जानकारी दिए । दक्षिण एसियालगायत विश्वभरका महिलाको सशक्तीकरणमा उनले पुऱ्याएको योगदानलाई सम्मानित गर्ने यो कार्यक्रममा आयोजकको भूमिका निर्वाह गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।
कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरु तथा दक्षिण एसियामा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए ।
प्रतिक्रिया