भिजिट भिसा : ६बुँदे मापदण्ड बिचौलिया र कर्मचारीका लागि ‘सेटिङ’मा सहयोगी !

भिजिट भिसा : ६बुँदे मापदण्ड बिचौलिया र कर्मचारीका लागि ‘सेटिङ’मा सहयोगी !


भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातबारे गृहमन्त्रीस्तरीय निर्णयबाट २०८० माघ १० देखि लागु हुने गरी ‘मापदण्ड’ लागु गरिएको छ । मापदण्डअनुसार पर्यटक भिसा तथा भिजिट भिसामा जाँदा दुईतर्फी हवाई टिकट, ५ सय अमेरिकी डलरबराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभरका लागि होटल बुकिङ गरेको प्रमाण देखाउनुपर्छ । भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा ६ प्रकारका कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । त्यस्ता कागजातहरू जुटाउन पर्यटक भिसामा आफन्त भेट्न अथवा घुम्नकै लागि जानेहरूका लागि धौ-धौ पर्छ । तर, बिचौलियाहरूले त्यस्ता कागजात सहज रूपमा तयार गर्न सक्छन् ।

सर्वसाधारणले सहज रूपमा त्यस्ता कागजात तयार गर्न सक्दैनन् । यही अवस्थाको फाइदा उठाएर बिचौलिया र अध्यागमनका कर्मचारीले पर्यटक भिसाको नाममा उक्त मापदण्डमा टेकेर ‘सेटिङ’मा विदेश पठाउने र असुल्ने धन्दा चलाएका छन् । काठमाडौं उपत्यकाका केही ट्राभल एजेन्सी र मेनपावर एजेन्टहरूले ५ सय अमेरिकी डलर साटेको छाप लगाएर यात्रुलाई पासपोर्ट दिन्छन् । एउटै रकम घुमाएर उनीहरूले बैंकमार्फत छाप लगाउने गरेको अध्यागमन विभागका एक उच्च अधिकृतले बताए । उनी भन्छन्, ‘डलर साटेको छाप देखाएपछि रकम देखाउनु पर्दैन । बिचौलियाहरूले एउटै रकम धेरै जनाका लागि घुमाइरहन्छन् ।’

कतिपयले फर्जी छाप लगाएर पठाउने गरेको पनि आरोप छ । यात्रा अनुमति पाउनुअघि दुईतर्फी हवाई टिकट र होटल बुकिङ भएको कागजात पेस गर्नुपर्छ । बिचौलियाहरूले एयरलाइन्सका कर्मचारीहरूसँग मिलेर फर्किने टिकट बुकिङ गर्ने र काठमाडौंबाट यात्रु उड्नासाथ रद्द गर्ने गरेकाको एक गृहमन्त्रालयका अधिकृतले बताए । ती अधिकृतको भनाइअनुसार त्रिभुवन विमानस्थलबाट भिजिट भिसाको यात्रु उड्नासाथ टिकट क्यान्सिल गर्न मिल्छ, त्यसमा एयरलाइन्सका कर्मचारीको पनि मिलेमतो हुन्छ । होटल बुकिङ पनि क्यान्सिल गर्न मिल्छ । बिचौलियाहरू गन्तव्य मुलुकको होटलबारे जानकार हुन्छन् र त्यस्तो कागजात तयार गरेर क्यान्सिल गरिदिन्छन् ।

नक्कली कागजपत्रलाई आधार बनाएर एजेन्टमार्फत मोटो रकम बुझाएर विदेशिने क्रम नरोकिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालको स्वीकारोक्ति छ । मापदण्ड यात्रुअनुकूल नभएको गुनासो आएको उनी बताउँछन् । रिजाल भन्छन्, ‘मापदण्ड नै नबनाएको भए बरु वास्तविक यात्रुले सास्ती नपाउने थिए भनेर कुरा उठेको छ ।’

बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले मापदण्डमा टेकेरै यात्रा अनुमति दिने गरेका छन् । अख्तियारले छानबिन थालेपछि पनि मापदण्ड पुगेको भन्दै खाडीमा घरेलु काम गर्न जाने महिलाहरूसँग ६० हजारसम्म असुल्न थालेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अधिकृतहरू बताउँछन् । एक अधिकृतले भने, ‘पहिलेजस्तो खुला रूपमा चाहिँ छैन तर, कतिपय महिलालाई ६० हजारसम्म लिएर पठाउने गरेको पाइन्छ ।’

विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थ भट्टराईमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । भट्टराईमाथि छानविन सुरु भएपछि विमानस्थल अध्यागमन कार्यालयमा विष्णु कोइरालालाई प्रमुखका रूपमा पठाइएको थियो । दुई महिना पूरा नहुँदै असार ३१ मा कोइरालाईलाई गृह मन्त्रालयले हटाएर त्यहाँ सहसचिव नरहरि घिमिरेलाई पठाएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाललाई पनि सरुवा गरिएको छ । महानिर्देशकमा रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी गृह मन्त्रालयस्थित शान्ति सुरक्षा महाशाखाको प्रमुखबाट अध्यागमनमा विभागमा सरुवा भएका हुन् । कोइराला त्रिभुवन विमान स्थलमा हुँदा पनि सो सेटिङको क्रम नरोकिएपछि उनलाई फिर्ता बोलाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराई र तीन जना बिचौलियामाथि विस्तृत अनुसन्धान गरिरहेको भएपनि दैनिकजसो सेटिङमा महिलाहरू भिजिट भिषामा विदेशिने गरेका छन् ।

स्रोतका अनुसार अध्यागमन कार्यालयका तत्कालिन प्रमुख तीर्थराज भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल, खगेन्द्र सुवेदी र अर्की एक महिला अनुसन्धानको दायरामा छन् । छानबिन समितिले काम गरिरहँदा एजेन्टको सेटिङमा लीला परियार, सुनमाया तामाङ र निकिता तामाङ यही साउन २ मा विमानस्थलबाट भिजिट भिसामै उडेका थिए । जुलाई १९ अर्थात् साउन ३ मा उनीहरू कतारको दोहाबाट कुवेत उडेका छन् । उनीहरू अहिले कहाँ छन्- यस विषयमा जानकारी छैन ।

यसरी सेटिङमा महिलालाई घरेलु काममा पठाउने क्रम अझै रोकिएको छैन । बरु दिन-प्रतिदिन वढ्दो मात्रामा रहेको छ । विमानस्थल स्रोतका अनुसार उनीहरूलाई अध्यागमनका कर्मचारीले ६बुँदे मापदण्डमा टेकेर यात्रा अनुमति दिएका हुन् । मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्, ‘समितिले ६बुँदे मापदण्डबारे पनि छानबिन गर्न जरुरी छ ।’

यसअघि मानव बेचबिखन ब्युरोबाट भिजिट भिसामा हुने बदमासी नियन्त्रण गर्न प्रहरी खटाउने गरिएको थियो, तर विमानस्थल अध्यागमन कार्यालयका प्रमुखको सक्रियतामा अहिले ब्युरोका प्रहरी फिर्ता भएका छन् । पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको समितिले मापदण्डबारे पनि छानबिन र अध्ययन गर्नुपर्ने गृह मन्त्रालयका समय-समयमा यस विषयमा कुरा उठ्ने गरेको छ ।