पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभइ सङ्कल्प बन्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार (८ साउन) आयोजित आर्थिक सम्मेलन ‘राइजिङ नेपाल समिट’लाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले समृद्धि केही सीमित व्यक्तिले नाफा कमाउने कुरा मात्र नभइ सामाजिक न्याय समानता र विश्वासको स्रोत भएको धारणा राख्नुभयो।
समृद्धिका लागि राष्ट्रिय पुँजीको निर्माण तथा रुग्ण उद्योगको पुनःव्यवस्थापन र पुनःउत्थान गरिनुपर्ने र प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई श्रृङ्गार गरेर पर्यटनको विकासलाई अघि बढाउनुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो । ‘नेपाल खबर डटकम’को १०औँ वार्षिक दिवसका अवसरमा आयोजित सो कार्यक्रममा उहाँले पाल्पाली करुवा, भोजपुरे खुकुरी र पाटनका ढलौटका उत्पादनलाई ब्राण्डिङ गरी उपहार सामग्रीका रुपमा अन्तरराष्ट्रिय बजारमा लैजान सकिने उल्लेख गर्नुभयो । उहाँले युवा उद्यम बढाउन आवश्यक नीति बनाउने तथा श्रम पलायनलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्रीका आर्थिक सलाहकार एवं पूर्वअर्थमन्त्री युवराज खतिवडाले अहिले निरपेक्ष गरिबी निकै घटेको, ४ प्रतिशतभन्दा कम राष्ट्रिय गरिबी रहेको र ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धिको तथाङ्कले आर्थिक अवस्था सुदृढ हुँदै गएको देखिने बताउनुभयो । पछिल्लो तीन वर्षमा निजी क्षेत्रबाट लगानी घटेको तथा विदेशबाट लगानी नआएकाले केही समस्या देखिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया