सशस्त्र प्रहरीद्वारा १ करोड ५८ लाखको अवैध समान बरामद

सशस्त्र प्रहरीद्वारा १ करोड ५८ लाखको अवैध समान बरामद


सशस्त्र प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका-२ स्थित एक पशुपालन फर्ममा छापा मारेर ठूलो परिमाणको अवैध कपडा र चुरोट बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले गएराति तुलसी पशुपालन फर्ममा गरेको छापामारीबाट ३१ पोका अवैध कपडा र प्लाटिनियम ब्रान्डका ७० कार्टुन चुरोट बरामद गरेको हो ।

बरामद कपडा र चुरोटको अनुमानित बजार मूल्य १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

छापामारी गर्ने संयुक्त टोलीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका प्रमुख एसपी देवबहादुर चन्दको नेतृत्वमा ५१ जना सुरक्षाकर्मी र भन्सार अधिकृत कमल बहादुर खड्काको टोलीका ५ जना कर्मचारी सहभागी थिए । लगातार रुपमा भइरहेको तस्करी नियन्त्रणको अभियानअन्तर्गत यो अहिलेसम्मकै ठूलो सफलता रहेको सम्बद्ध पक्षको भनाइ छ ।

बरामद सामान आवश्यक अनुसन्धानपछि भन्सार कार्यालय मलंगवामा बुझाइएको र तस्करीमा संलग्नको खोजी तथा अनुसन्धान कार्य अघि बढाइएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासले जनाएको छ।