आजको पञ्चाङ्ग एवम् राशिफल (१२ श्रावण २०८२ सोमबार, २८ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ श्रावण २०८२ सोमबार, २८ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन १२ गते तद्अनुसार सन् २०२५ जुलाई २८ तारिख सोमबार श्रावण शुक्ल पक्षको चतुर्थी तिथि पूर्वाफाल्गुणी नक्षत्र परिघ योग वणि करण आनन्दादिमा ध्वज योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः५४ बजे हुनेछ ।

आजको राशिफल

मेष – नियमित काममा जाँगर बढ्नुका साथै महत्वपूर्ण काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । सुखद यात्राको योग रहेको छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । खर्चमा केही वृद्धि भएपनि मन सन्तुष्ट रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने देखिन्छ ।

वृष – स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता पनि गराउन सक्ने योग छ, सावधान रहनुहोला । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछ ।

मिथुन – बौद्धिक, रचनात्मक तथा कलात्मक काम सार्थक बन्ने दिन छ । रोकिएका अधुरा कामहरु पुरा हुनुका साथै व्यवहारिक समस्याको हल हुने देखिन्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम रहला । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आरोग्यबल वृद्धिका साथै रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग पनि छ ।

कर्कट – आजको दिन घर-परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने सम्भावना छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । आफन्तजनबाट खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । आर्थिक कारोबारले ब्यस्तता बढाउने सम्भावना छ । खेलकुद, भ्रमण, रसराग जस्ता क्रियाकलापमा आकर्षण बढ्ने समय छ ।

सिंह – आजको दिन कामहरु अधुरा रहनसक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । मिहेनतअनुसार उपलब्धि प्राप्त नहुने देखिन्छ । अकारण डरत्रासको भाव जागृत हुनसक्छ । वादविवाद तथा झैझगडाको योग रहेकोले बोली र व्यवहारमा सतर्क रहनुहोला । आत्मीयजनबाटै असहयोग र आश गरेका व्यक्तिबाट धोका मिल्नसक्ने सम्भावना छ । यात्रागत कार्य भने आंशिकरूपले सफल रहने देखिन्छ ।

कन्या – ठूलो सहयोगको आशा देखाउनेहरूले आजको दिन धोका दिन सक्छन्, सचेत रहनुहोस् । मन दुविधाग्रस्त रहनसक्छ, संयमता अपनाउने कोशिस गर्नुहोला । रोकिएको कुनै विशेष काम भने बन्ने योग छ । स्वास्थ्य केही कमजोर रहनसक्ने समयका बारण आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

तुला – नियमित कार्यमा सामान्य बाधा आउनुका साथै आर्थिक हानी हुनसक्ने समय छ । गरेका कार्यहरू हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्नसक्ने देखिन्छ । आज स्वास्थ्य पनि कमजोर रहेको अनुभूति होला । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण रहनेछ । मित्रजनको सहयोगले यात्रापरक काममा सफलता मिल्नेछ ।

वृश्चिक – अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । धन मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा विशेष सफलता प्राप्त हुनेछ । खेलकूद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । देखापरेका समस्याहरूको हल हुनेछ ।

धनु – इष्टमित्रबीच आत्मीयता बढ्नुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिएर जाला । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ । गल्तीबिनै आरोप लाग्नसक्ने देखिन्छ, व्यवहारमा सजगता अपनाउनुहोला । सन्तान पक्षबाट सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर – रोकिएका कामहरु बन्नथाल्नाले उत्साह वृद्धि हुने समय छ । कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपरे पनि अन्ततः लाभ नै मिल्ने योग छ । यात्रागत कार्यको लागि उचित समय छ । अनौठो र लाभदायक यात्रा हुनसक्छ । कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

कुम्भ – सामाजिक काममा नाम रहने भएपनि मनमा दुबिधा रहनसक्ने दिन छ । केही चुनौतीयुक्त समय छ । सोचेअनुरुप काम नहुने र सापटी रकम फिर्ता नहुने योग रहेकोले आर्थिक कारोबार नगर्नु उचित हुनेछ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । खर्च वृद्धिले मन अशान्त तुल्याउन सक्छ ।

मीन – दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त होला । तर, अरूलाई वचन दिने बानीले भने अप्ठेरोमा पार्न सक्छ, सजग रहनुहोला । साझेदारीको काम बन्नेछ, सुख विलास पनि बढ्नेछ । प्रेमसम्बन्धमा देखापरेको खटपटमा केही सुधार आएपनि मानसिक तनावकै अवस्था रहला ।