एउटा रोचक मिडिया सङ्ग्रहालय !

एउटा रोचक मिडिया सङ्ग्रहालय !


  • घटना र विचार सम्वाददाता

सञ्चार पत्रकारिताको एउटा बेग्लै अभ्यास गरिरहेको चीनले सञ्चारको ऐतिहासिक विकाशक्रम झल्काउने एउटा रोचक र जीवित मिडिया सङ्ग्रहालय स्थापना गरि मिडिया क्षेत्रको अध्येताहरूका लागि अति उत्तम कार्य गरेको छ । बेइजिङस्थित कम्युनिकेशन युनिभर्सिटीले स्थापना गरेको मिडिया सङ्ग्रहालय पत्रकारिता र सञ्चारका विद्यार्थीका निम्ति त उपयोगी छँदैछ, मानव सभ्यता र प्रविधिको विकाश बारे जिज्ञासु हरेकका निम्ति यो ज्ञानबर्धक हुनेछ ।

ज्ञातब्य छ, चीन आफ्नो मौलिक सभ्यता, इतिहास र संस्कृतिमा गौरव गर्दछ । आफ्नै जगमा खडा भएको चीन स्वतन्त्र आत्मनिर्भरतामा विश्वास गर्दछ र हरेक क्षेत्रमा चिनियाँ मौलिकता सहितको विकाशलाई उसले प्राथमिकतामा राखेको छ । यस अर्थमा सञ्चार र पत्रकारिताको विकाश र अभ्यासलाई पनि चीनले आफ्नै ढाँचामा अगाडि बढाएको देखिन्छ ।

चीनले कन्स्ट्रक्टिभ जर्नलिज्मको अभ्यासलाई उत्तम पत्रकारिता ठानेको छ र राजनीतिक प्रणालीको ढाचा अनुरुप नै पत्रकारिताको अभ्यास हुने उसको विश्वास छ । चीनले पश्चिमा मूल्य मान्यताअनुरुपको पत्रकारितालाई मुकुटबिनाको राजा, चौथो अङ्ग, वाचडग र मकक्रेकर (गलत कार्यहरूको भण्डाफोर गरेर सकारात्मक परिणाम खोज्ने अभ्यास) का रूपमा बुझेको छ भने आफूले अभ्यास गरिरहेको पत्रकारितालाई कन्स्ट्रक्टिभ अर्थात रचनात्मक अभ्यासका रूपमा बुझाउने गरेको छ । चीन पत्रकारितालाई निराशा, आक्रोश र अराजकता बढाउने साधन नबनोस भन्नेतर्फ ज्यादै नै सचेत देखिन्छ । र, उ आफूले गरिरहेको मिडिया अभ्यासप्रति सन्तुष्ट र गौरवान्वित रहेको बुझ्न सकिन्छ।

सञ्चार विश्वविद्यालयको स्थापना गरेर चीनले नयाँ मूल्य मान्यता सहितको पत्रकारितालाई विश्वब्यापी बनाउने चेष्टा गरेको छ भनियो भने त्यो सम्भवतः गलत हुनेछैन।

यहाँ कम्युनिकेशन युनिभर्सिटीभित्र स्थापना गरिएको मिडिया म्युजियममा राखिएका पुराना रेडियोहरूको तस्बिर प्रस्तुत गरिएको छ। यद्यपि उक्त सङ्ग्रहालयमा सञ्चार र पत्रकारितासङ्ग सम्बन्धित हरेक बस्तु, सम्बन्धित पात्रका तस्बिर र प्रविधि सङ्ग्रहित छन् ।

(पुरानो जमानाको विभिन्न कालखण्डमा प्रचलनमा रहेका अनेक आकारप्रकारका रेडियोहरू)