‘जसस डेनमार्क’को ब्यथा : एकता, मिलन र प्रेमको विकल्प के हुन सक्ला र !

‘जसस डेनमार्क’को ब्यथा : एकता, मिलन र प्रेमको विकल्प के हुन सक्ला र !


‘आखिर मानव सभ्यतालाई नष्ट गर्ने युद्ध त सहमति र सम्झौताबाट रोकिन्छन् भने हाम्रा साङ्गठनिक विवाद के ठुलो कुरा भयो र दाइ ! भइसकेको सहमतिलाई पालना गरियो भने विवाद सकिन्छ, अर्थात् एक मिनेट पनि लाग्दैन कृत्रिम विवाद मिल्न । तपाईं–हामीलाई आफ्नै जीवनको त ग्यारेन्टी हुँदैन भने पद के नै ठुलो कुरा भयो र ? सबैको बीचमा गरिएको सहमति र त्यसको पालनाले नै पदबाट प्राप्त प्रतिष्ठालाई उचाइमा लैजाने हो । बाचुन्जेल एउटै घरमा बसेकाहरू किन पो झगडा गर्नु पर्थ्यो र । सानो भएर पनि सबैको हुन सक्नु नै वास्तवमा महान् हुनु हो । यी कुरालाई सबै मित्रहरूले मनन गर्ने हो भने हामीले डेनमार्कको नेपाली समुदायमा जनसम्पर्क समितिको प्रतिष्ठा र बर्चस्वलाई सदैव कायम राख्न सक्ने छौँ । अरुको कठपुतली नबनी स्वनिर्णयमा अगाडि बढ्न सक्नेछौँ’- जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति नवीनराज पौडेलले मलिन मुख लगाउँदै आफ्नो दुखेसो यसरी पोखे ।

नेपाली कांग्रेसको गण्डकी प्रदेशका आमन्त्रित सदस्यसमेत रहेका पौडेल लामो समयदेखि डेनमार्कमा बस्दारहेछन् । यो पंक्तिकार डेनमार्कमा बिदा मनाउन पुगेको खबर उनले कतै सुनेछन् । म्यासेन्जरबाट हामी दुईको गत जुलाई ३१ तारिख दिउँसो ४ बजेतिर केहीबेर कुरा भयो र हामीले अर्को दिन स्टेन एण्ड कूल पिजेरियामा भेट्ने समय मिलायौँ । निर्धारित समयमै पिजेरियामा पुगियो । कुराको सिलसिला जनसम्पर्क समिति डेनमार्कको विभाजनबाटै शुरु भयो ।

‘तपाईंहरू जस्ता पाका नेतृत्वको उपस्थिति हुँदाहुँदै आफैले जन्माएको आस्थाको संगठन विभाजन हुनु वा गरिनुपर्ने के कारण आइपऱ्यो संस्थापकज्यु ?’ – मेरो आकस्मिक प्रश्नले उहाँसँगै मलाई भेट्न आउनुभएका अर्का मित्रको अनुहारमा पुलुक्क हेर्दै उहाँ केहि बेर अन्कनिनुभयो । उहाँको चेहराको रंग उडेर फिक्का जस्तो देखियो, जसले जसस विभाजनप्रतिको चिन्ता र संगठनप्रतिको अथाह निष्ठालाई झल्काउँथ्यो । नवीनराजजी भक्कानिएको अवस्थाले म चुपचाप उहाँको अनुहार हेर्न विवश भएँ ।

‘आखिर विवादको जरोसम्म नपुगी मेलमिलाप हुन मुस्किल हुन्छ, भन्नुस् न तपाईंहरूबीचको विवादको जरो के हो; कसरी शुरु भयो; हामीले पनि जानौँ’, भनेपछि नवीनजीको मुखमा फिक्का मुस्कान देखियो । उहाँले लोभलाग्दा दहीचामले (दुई तिहाइ फुलेका) दाह्री हातले मुसार्दै कुराको पोयो यसरी खोल्नुभयो- ‘डिल्लीजी, आफ्नो घर बिग्रेको कसलाई सुनाएर के हुन्छ र खै ! मिल्ने मिलाउने कुरा हामी आफैले तय गर्ने हो । हामीबीच त्यस्तो कुनै सैद्धान्तिक विवाद त छैन, प्राविधिक कुरामा अलिक मतभेद भयो । मतभेद पनि खासै हैन भन्दा हुन्छ । नेतृत्वमा को जाने भन्ने कुरा मात्र थियो । यो कार्यकालको शुरुमा बुद्धि (सापकोटा)जी र यादव (बस्नेत)जीको बीच नेतृत्वको लागि प्रतिष्पर्धा हुने देखियो । प्रतिष्पर्धामै जान दिएको भए हुने रहेछ तर हामीले सहमतिमा अलिक बढी जोड दिएछौँ कि भन्ने लाग्छ अहिले । दुवैलाई मिलाउन हामीले दुई–दुई वर्ष नेतृत्व गर्ने भनेर लिखित सहमति गराइयो । दुवै जना यसमा सहमत हुनुभयो । पछि विवाद होला कि भनेर लिखित सहमति नै गरियो । एउटै परिवारमा लिखित सहमति गर्नु पर्दा हामीहरू खिन्न त भयौँ नै । हामीबीचमा विश्वासको संकट आउनु हुँदैनथ्यो ।

केको डरले प्रक्रियामा जान सक्नु भएन त भन्ने सवालमा उहाँको उत्तर थियो– ‘आजभोलि चर र तर खोजेर हिँड्नेहरू वा भनौँ बाहिरियाहरू असहमतिमा रमाउछन्; बिग्रे/भत्केका कुरामा खेल्न सक्छन्, खेलिरहेका पनि होलान् । एउटा मिलेको परिवारभित्र अरुहरू खेल्ने वातावरण बन्दा अग्रज भएको नाताले दुःख लाग्छ नै । तर पनि आम सहमतिमा नेतृत्व चयन गर्दा राम्रै होला भनेर सोचियो त्यो बेला । हुन त विश्वास तोड्नेहरूका लागि जाबो लिखित सहमतिको पनि के अर्थ हुन्छ र !’

‘सहमति पत्रमा के लेखिएको थियो त नवीन सर !’ भन्ने पंक्तिकारको जिज्ञासामा उहाँले थप्नुभयो- ‘अघिल्लो दुई वर्ष यादवजीले नेतृत्व गर्ने र अन्तिम दुई वर्ष बुद्धिजिले सभापतित्व गरि अधिवेशन गराउने सहमति भएको थियो । त्यसमा हामी क्रमशः म, त्रिलोचन सापकोटा, यमलाल सुवेदी, रामचन्द्र पाठक, वीरेन्द्र कार्की र नवीन आचार्य साक्षीको रूपमा थियौँ । हामी पुर्वसभापति भएको नाताले पनि सहमतिमा बस्नु पर्थ्यो, बसियो । तत्कालको लागि सहमतिले जनसम्पर्क समितिलाई एक ढिक्का बनाएको सन्देश गयो । रास्वपाको माहोलबाट प्रभावित माहोलमा सहमति महत्वपुर्ण कुराले महत्व राख्थ्यो । जनसम्पर्क समिति डेनमार्कको आन्तरिक जीवनमा पनि त्यो सहमतिले उत्साह नै थपेको थियो । जसस डेनमार्कको लाइफमा त्यो प्रकारको सहमति पहिलो प्रयोग थियो ।’

‘के कारणले सहमति कार्यान्वयन हुन रोके जस्तो लाग्छ तपाइलाई ! भन्ने सवालमा उहाँले असजिलो मान्दै मुख खोल्नुभयो– ‘खै डिल्लीजी, त्यो त बुझ्न सकिएन । केही साथीहरूलाई चित्त बुझाउन धेरै गाह्रो हुने । आफ्नै घरभित्र आगो ठोकेर राप–राप, न्यानो–न्यानो भन्ने मान्छेहरू पनि हुँदारहेछन् । कसैको पेटमा कोही पस्न नसकिने । लिखित सहमतिको पालनामा भाँजो हालेर संगठनलाई धुजा–धुजा नपारी नयाँ पार्टी खोल्न पनि नसकिने देखे होलान् वा एनआरएनएको चुनावमा पनि आफ्नो बर्चस्व देखे होलान् विरोधि भातृ–संगठनमा मित्रहरूले । त्यसैले केही साथीहरूलाई सम्झौता पालना नगर्नको उकासेजस्तो लाग्छ । यस्तै–यस्तै कारणले हो त्यति शक्तिशाली घर जलाएको । अझै पनि सहमतिको पालना गराउन पुर्वअध्यक्षहरू लगायत अग्रजहरू सबै लागिएकै छ । नेतृत्वमा जाने भनेको आफ्नो समुदायलाई समेट्न र पार्टी तथा त्यसले बोकेको आस्थालाई मर्न नदिनकै लागि हो भन्ने कुरा मित्रहरूले बेलैमा बुझ्नु पऱ्यो । संगठनमा जो गएपनि त्याग गर्न जाने हो, त्यहाँ गएर लिनु नै खै के पो छ र ! हामीले जनसम्पर्क समितिको निर्माण गर्दाको उद्देश्य पनि आस्था मर्न नदिनकै लागि थियो । केन्द्रले पनि सहमति कायम गरि अधिवेशन गराउन परिपत्र गरेको हो । कतिपय सवालमा केन्द्रलाई पनि गलत सूचना पुगेको हुन सक्छ । त्यसले केही भ्रम भएको पनि हुन सक्ला । भोग्नेलाई जस्तो पीडा सुन्नेलाई हुँदैन नि डिल्ली दाइ । अन्त्यमा मिल्ने हामी र मिलाउने हामीले हो । कमजोरी जहाँबाट भयो, मिल्ने–मिलाउने त्यहीँबाट वा त्यही सहमतिमा टेकेर हो । सहमतिअनुसार यो कार्यकाल अर्थात पछिल्लो दुईवर्षे कार्यकाल बुद्धिप्रसाद सापकोटाको हो । उहाँको नेतृत्व र यादवजीको सह–संयोजनमा अधिवेशन गर्दा यो सामाजमा जनसम्पर्क समितिको छवि उज्यालिने हाम्रो निष्कर्ष हो ।’

मिल्ने–मिलाउने प्रयासको सन्दर्भमा पंक्तिकारले अहिले नेतृत्व गरिरहेका बुद्धिप्रसाद सापकोटासँग पनि प्रत्यक्ष कुराकानी गऱ्यो । त्यसमा बुद्धिलाई नेतृत्व हस्तान्तरण प्रक्रियामा यादव बस्नेतजीबाट असहयोग भएपछि धेरै पटक छलफल भएको कुरा पंक्तिकारसँग राख्नुभयो । उहाँका अनुसार सहमतिको पालनामा आलटाल भएकोले नेतृत्व हस्तान्तरण हुँदा असहमत पक्षको उपस्थित नरहे पनि केही अग्रजहरू बसेर नेतृत्व हस्तान्तरण गराएको कुरा उहाँले राख्नुभयो । पछिल्लो समयमा बुद्धिप्रसाद सापकोटाको नेतृत्वमा अधिवेशनको समय तोक्नसमेत सहमति नजुटेपछि विवादले असहज रुप लिएको देखिन आयो ।

जसस डेनमार्कका पछिल्ला सभापति सापकोटाले भन्नुभयो- ‘दाइ, अझै पनि बिग्रेको केही छैन । साथीहरू निरास भएकोले पर्ख र हेरको अवस्थामा छन् । केहि साथीहरू त रास्वपातिर हिँडीसके तर पनि उनीहरूलाई फर्काउन सकिने अवस्था अझै छ । यो घाटा आफ्नै कारणले भएकोले सांगठनिक तथा आर्थिक पारदर्शिताको लागि मैले निवर्तमान अध्यक्ष यादवजीलाई अनुरोध गरेको छु । हामी बेलैमा सच्चिएनौँ भने अझै ठुलो क्षति हुन्छ । त्यो एनआरएनएको सवालमा पनि र अन्य कुरामा पनि हुन सक्छ ।’

बुद्धिलेले भाबुक हुँदै अलिक चर्को स्वरमा थप्नुभयो- ‘मेरो यादवजी लगायत सबै हाम्रा सुभचिन्तकहरूलाई अनुरोध छ, मरेर लानु के छ र, बाचुन्जेल सँगै हिडौँ । आखिर हाम्रो फुटमा खेल्न अरुलाई स्थान किन दिने ? डेनमार्कमा जससको जति विशाल परिवार अरु कसैको छैन । यो नै डेनमार्कमा रहेका नेपालीहरूको पावरहाउस हो । जसस परिवारको विश्वास र आस्थालाई बचाउन बाहिरबाट कोहि आउँदैन, आउनेवाला पनि छैन । म यही आग्रह बारम्बार दोहोऱ्याउन चाहन्छु ।’

अन्तिम भनाइबारे सापकोटाको भनाइ थियो– ‘विभिन्न देशबाट आएका जससका मित्रहरूलाई सदस्यता दिँदा अधिवेशनको संघारमा समेत साथीहरूले अंकगणितको हिसाबकिताब गर्नतिर लाग्नुभयो । समग्र जससको संगठनले समुदायमा पार्ने अन्य प्रभाव बिर्सनु हुन्नथ्यो । त्यसको लागि उहाँहरूले पक्कै आत्मालोचना गर्नुपर्छ । हामीले पनि कहिँ–कतै संगठनमा आँच आउनेगरी कुनै कर्म जान-अन्जानमा गरेका रहेछौँ भने त्यसको जिम्मा लिनै पर्छ,लिन्छौँ र आत्मालोचित हुन्छौँ । आखिर संगठनको हित भन्दा ठुलो हाम्रो ब्याक्तिगत इगो, पद, प्रतिष्ठा हुन सक्दैन । भद्र सहमतिको पालना गरी हामी एक भएमा सानातिना इगो र अन्तर्विरोधका झिल्काहरू आफै साम्य भएर जानेछन् । विश्व नै संयुक्त राष्ट्रसंघको सम्झौतामा बाँधिएको छ भने हामीले किन भद्र सम्झौतालाई भंग गरेर संगठनिक अराजकतालाई निम्तो दिने ? समयले दिएको सम्मानलाई बेलैमा सम्हाल्न सकिएन भने हामी कहिल्यै, कहीँका र कसैका पनि हुन सक्दैनौँ । सहमति तथा विमति संगठनको जीवनमा आइरहन्छन् । साथीहरू जसस डेनमार्कको गौरवशाली इतिहास बचाउनतिर लागौँ । आउँ समातौँ एकताको डोरी, अझै कसौँ एकताको गाँठो । बरु जससको विगतलाई दस्तावेजीकरण गर्न सबै मिलेर ऐतिहासिक स्मारिका लेखौँ । मेरो शुरु र अन्तिम कुरा पनि यत्ति हो पत्रकारज्यु !’

अघिल्लो दिन अनेसास डेनमार्कका वरिष्ठ उपाध्यक्ष रमेश घिमिरे र अनेसास केन्द्रकी आदरणीय बहिनी सीता बरालसँग पनि धेरै अनेसासका र अलिकति यस्तैउस्तै घरायसी गफहरू भए । उहाँहरूले घरमै बोलाएर हामीलाई अमुल्य समय दिनुभयो । सोही समयमा अनेसास डेनमार्कका वरिष्ठ उपाध्यक्ष तथा प्रिय भाइ रमेश घिमिरेसंग पनि गफिने मौका मिल्यो । उहाँहरूप्रति अति आभारी छु । त्यस्तै, एनआरएनए डेनमार्कका आदरणीय अध्यक्ष कमलराज शर्माले आफ्नो समय मिलाएर झन्डै २–३ घण्टा समय मलाई दिनुभयो । उहाँप्रति अत्यन्त आभारी छु । सबैको एउटै आवाज थियो– ‘आफ्नो घर आफै मिलाउने हो, हामीलाई मिलाउन कोही, कहीँ वा कतैबाट आउँदैन ।’ पंक्तिकारको कुरा पनि त्यहि हो, मिल्नु–मिलाउनुमै हाम्रो मात्र नभएर समुदायको भलो हुन्छ, आफुले जन्माएको हुर्काएको संगठनको इतिहासमाथि कसैले खेलबाड गर्नु हुँदैन । संगठन बाँच्यो भने अग्रज र आस्थावान सबैको इतिहासले जीवन्त हुने अवसर पाउँछ ।’

छोटो समयमा धेरैसंग यसबारे बिचार विमर्श भए । सबैका कुरा लगभग यस्तै थिए । केही नेपालीहरूले रास्वपा नै समयको माग भएको कुरा पनि राखे । कसै कसैले यस्ता कुरालाई महत्व दिन नहुने तर्क पनि राखे । कसै–कसैले त ‘आफ्नो घर जलाएर आगो ताप्ने मित्रहरूको के कुरा गर्नु’ समेत भनेर आफ्नो औडाहा पोखे ।

जे होस् धेरै जनासँग कुरा हुन नपाएपनि समाज बुझेका अग्रजहरूसँग भेट भयो । समग्रमा भेट सुन्दर र मनोरम भयो । समयले जुराइदिएको उक्त भेटमा लगभग डेनमार्कको नेपाली समाज बुझ्न पाइयो । भ्रमणको समयमा म मेरो भाइ सुरेन्द्र अम्माई र छोरा श्याम अम्माईको घरमा सहयोग गर्ने प्रिय सुरेन्द्र भाइ, बुहारी रमा बास्तोला अम्माई, छोरा श्याम र सालिक, बुहारीहरू लगायत सबै मित्र र गफगाफको लागि स्थान उपलब्ध गराइदिने स्टेन एण्ड कूल पिजेरिया, कोपन्हेगेन डेनमार्कका मालिकलगायतलाई हार्दिक धन्यवाद ! जदौ !!