आजको पञ्चाङ्ग एवम् राशिफल (२३ श्रावण २०८२ शुक्रबार, ८ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ श्रावण २०८२ शुक्रबार, ८ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन २३ गते तद्अनुसार सन् २०२५ अगस्त ८ तारिख श्रावण शुक्ल पक्षको चतुर्दशी तिथि १३ः४४ पर पूर्णिमा तिथि उत्तराषाढा नक्षत्र प्रीति योग भद्रा करण आनन्दादिमा आनन्द योग चन्द्रमा मकर राशिमा भ्रमण शील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३१ मा भयो र सूर्यास्त साँझ १८ः४६ बजे हुनेछ । पूर्णिमा व्रत, हयग्ररीवोत्पत्ति, शिवजीमा पवित्रारोपण ।

आजको राशिफल

मेष – बौद्धिकताका साथ पराक्रम बढ्ने समय छ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने देखिन्छ । आयबल वृद्धिका लागि मन लगाएर काम गर्नुहोला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ । दाम्पत्यसम्बन्धमा केही चिसोपन आउन सक्छ, व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ ।

वृष – आजको दिन अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ, हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यसाथ सावधानी अपनाएर काम लिने प्रयत्न गर्नुहोला । यात्राको व्यवस्थापनमा खर्च बढ्ने देखिन्छ । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, तथापि आत्मविश्वासमा कमी आउनेछैन । इष्टमित्रको सहयोग मिल्नेछ । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।

मिथुन – प्रतिष्पर्धी परास्त गर्ने क्षमतामा वृद्धि हुने दिन छ । सामर्थ्य वृद्धि हुनुका साथै कठोर मिहिनेतले रोकिएको काम बन्नेछ । व्यावसायिक काममा लाभ उठाउन सकिएला । स्वअधिकारको सुरक्षा गर्न केही कसरतमा जुट्नुपर्ने भएपनि आजको दिन समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । प्रतिष्पर्धी पछि पर्नेछन् । आरोग्यबल बढ्नेछ । मुद्दा-मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने योग छ ।

कर्कट – दिन सामान्य तथा सहज नै रहला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ भने धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा हासिल हुने देखिन्छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । तर, शोख पूरा गर्नमा आज केही खर्च बढ्ने सम्भावना छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

सिंह – रोकिएका काम सम्पादन हुनेछन् भने परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । जोखिम बढेपनि भूमि तथा मातृधनबाट लाभ उठाउन चाहे सफलता मिल्नेछ । ब्यस्तता बढ्ला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, ध्यान राख्नुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – केही चुनौतीहरू देखिनेछन्, तर चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । प्रतिकुल परिस्थितिका बाबजुद मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला । नियमित व्यवसायमा फाइदा नै हुनेछ । यात्रामा धनमाल हराउने योग रहेकोले सावधानी अपनाउनुहोला । आफन्तको साथ र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

तुला – मिश्रित फलदायी समय छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । पढाइलेखाइमा मध्यम अवस्था छ । मित्रहरूका साथ रमाइलो भ्रमणमा सरिक होइएला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

वृश्चिक – शुभदायी समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्ने देखिन्छ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । अप्ठ्यारो परिस्थितिमा आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ । विपरीतलिंगी मित्रको साथ रहनेछ ।

धनु – नियमित कार्यमा जाँगर बढ्नुका साथै दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने सम्भावना प्रबल छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने देखिन्छ । सुखद समाचार सुन्न पाइएला । सुख वृद्धिका साथै मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मकर – महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिन सके महत्वपूर्ण काम सम्पन्न हुने योग छ । व्यस्तता बढेपनि रसरागात्मक क्रियाकलाापमा आकर्षण बढ्नेछ ।

कुम्भ – मान-प्रतिष्ठा कमाउने समय छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । प्रेमभाव र आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

मीन – आजको दिन केही बाध्यतापूर्ण कामको बोझ पर्नसक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सामान्य विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । तथापि, पराक्रममा कमी आउनेछैन । आरोग्यबल बढ्नेछ भने प्रतिष्पर्धीले हार खानेछन् ।